
एजेन्सी । भेनेजुएलाले नर्वेमा रहेको आफ्नो दूतावास बन्द गर्ने घोषणा गरेको छ ।
विपक्षी नेत्री मारिया कोरिना माचाडोलाई नर्वेस्थित नोबेल पुरस्कार समितिले शान्ति पुरस्कार दिएपछि भेनेजुएलाले यो निर्णय लिएको हो ।
माचाडोले पुरस्कार पाएको विषयमा टिप्पणी नगरिकनै भेनेजुएला सरकारले परराष्ट्र सेवामा गरिएको परिवर्तन अन्तर्गत दूतावास बन्दको निर्णय लिएको जनायो ।
नर्वेको विदेश मन्त्रालयले ओस्लोमा रहेको भेनेजुएलाको दूतावास बन्द भएको पुष्टि गरेका छन् ।
नोबेल समितिले भेनेजुएलाका मानिसको लोकतान्त्रिक अधिकारका लागि अथक रूपमा खटिएकी भन्दै माचाडोलाई शान्ति पुरस्कार दिने घोषणा गरेको थिया । तर, भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले माचाडोलाई ‘राक्षसी बोक्सी’ भनी अपमानित गरेका छन् ।
भेनेजुएलाले दूतावास गर्ने निर्णय दुःखदायी भएको नर्वेको विदेश मन्त्रालयले जनाएको छ ।
‘कैयौं विषयमा हाम्रो मतभिन्नता भए पनि नर्वेले भेनेजुएलासँग खुला संवाद गर्न खोजेको छ र यस दिशामा काम गरिरहनेछ,’ नर्वेको विदेश मन्त्रालयकी प्रवक्ताले जनाइन् ।
नोबेल पुरस्कार सरकारबाट स्वतन्त्र रहेको उनको भनाइ छ ।
माचाडोले वर्षौंदेखि मदुरोका विरुद्ध अभियान चलाउँदै आएकी छन् । उनी विगत एक वर्षदेखि लुकीलुकी हिँडिरहेकी छन् ।
भेनेजुएलाले अस्ट्रेलियामा रहेको दूतावास पनि बन्द गरेको छ । उसले जिम्बाब्वे र बुर्किना फासोमा दूतावास खोलेको छ । प्रभुत्ववादी दबाबविरुद्धको लडाइँमा ती दुई देश रणनीतिक सहयोगी भएको भेनेजुएलाको भनाइ छ ।
अमेरिका र भेनेजुएलाबीच तनाव बढिरहेको बेलामा अमेरिकाका दुई निकट साझेदार नर्वे र अस्ट्रेलियामा रहेका दूतावास बन्द गरिएको हो ।








प्रतिक्रिया