
एजेन्सी । बीस वर्षअघि हेनली पासपोर्ट इन्डेक्स स्थापना भएदेखि पहिलोपटक अमेरिकाको पासपोर्ट विश्वका शीर्ष १० शक्तिशाली पासपोर्टमा नपरेको हेनली एन्ड पार्टनर्सले जनाएको छ ।
सन् २०१४ पहिलो नम्बरमा रहेको अमेरिकी पासपोर्ट अहिले १२औं स्थानमा झरेको छ । त्यो मलेसियासँगको दर्जा हो । अमेरिकी पासपोर्टधारीले अब २२७ मध्ये केवल १८० देशमा विना भिसा यात्रा गर्न सक्छ ।
यसको विपरीत, एसियाका सिंगापुर (१९३ देश), दक्षिण कोरिया (१९० देश) र जापान (१८९ देश) शीर्ष तीन स्थानमा छन् ।
यो सूची अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) को तथ्यांकमा आधारित छ र विश्वका सबै पासपोर्टहरूलाई विना भिसा प्रवेश गर्न सकिने गन्तव्यको संख्याका आधारमा मूल्यांकन गर्छ ।
अमेरिकी पासपोर्टको स्थान १०औंबाट १२औंमा झर्नुको मुख्य कारण पछिल्ला महिनाहरूमा भिसामुक्त पहुँच घट्नु हो ।
अप्रिलमा ब्राजिलले पारस्परिक सम्झौता नहुँदा अमेरिकालाई भिसामुक्त सूचीबाट हटायो । त्यसपछि चीनले पनि आफ्नो विस्तार भइरहेको भिसामुक्त सूचीमा अमेरिकालाई समावेश गरेन ।
त्यसपछि पपुआ न्यू गिनी र म्यानमारले नियम परिवर्तन गर्दा अमेरिकाको स्कोर अझ घट्यो । हालै सोमालियाले नयाँ ई–भिसा प्रणाली सुरु गरेको छ र भियतनामले अमेरिकालाई भिसामुक्त सूचीमा नराख्दा अन्ततः अमेरिकाको पासपोर्ट शीर्ष १० बाट बाहिरियो ।
हेनली एन्ड पार्टनर्सका अध्यक्ष तथा हेनली पासपोर्ट इन्डेक्सका निर्माता डा. क्रिस्टियन एच. केलेन भन्छन्, “यी साना परिवर्तनले ठूलो असर पारेका छन् । अहिलेको विश्व गतिशीलता कति संवेदनशील बनेको छ भनी यसले देखाउँछ ।”
उनका अनुसार, “गत दशकमा अमेरिकी पासपोर्ट कमजोर हुँदै जानु केवल दर्जाको कुरा होइन, यो विश्व गतिशीलता र सफ्ट पावरमा भएको ठूला परिवर्तनको संकेत हो । खुलापन र सहकार्य अपनाउने देशहरू अघि बढिरहेका छन् । तर, पुरानो शक्ति र विशेषाधिकारमा अड्किएका देशहरू पछाडि परेका छन् ।”
त्यस्तै, बेलायती पासपोर्ट पनि अहिलेसम्मकै तल्लो स्थानमा पुगेको छ । जुलाईमा छैटौं स्थानमा रहेको बेलायती पासपोर्ट अहिले आठौं स्थानमा झरेको छ यद्यपि सन् २०१५ मा यो एक नम्बरमा थियो ।
यसको ठ्याक्कै विपरीत चीन पछिल्लो दशकमा हेनली पासपोर्ट इन्डेक्समा तीव्र उकालो लागेको देशहरूमध्ये एक हो । सन् २०१५ मा ९४औं स्थानमा रहेको चीन सन् २०२५ मा ६४औं स्थानमा पुगेको छ । उसले भिसामुक्त गन्तव्य ३७ देशले बढाएको छ ।
हेनली ओपननेस इन्डेक्समा पनि चीनले ठूलो फड्को मारेको छ । गत वर्ष मात्र उसले थप ३० देशका लागि भिसामुक्त पहुँच खुला गरेको छ । अहिले चीन ६५औं स्थानमा छ र ७६ देशका नागरिकलाई भिसा विना नै प्रवेश दिन्छ जुन अमेरिकाभन्दा ३० बढी हो ।
हालै रुसलाई भिसामुक्त प्रवेश दिनुजस्ता कदमहरूले चीनको खुलापन नीतिलाई अझ प्रस्ट बनाएका छन् । खाडी राष्ट्र, दक्षिण अमेरिका र केही युरोपेली देशहरूसँगका नयाँ सम्झौताले चीनलाई विश्व गतिशीलताको केन्द्रमा पुर्याउँदै एसिया–प्रशान्त क्षेत्रको प्रभुत्व मजबुत बनाइरहेको छ ।
ग्रान्ट थोर्नटन चीनका साझेदार डा. टिम क्लाटे भन्छन्, “ट्रम्प सत्तामा फर्किएपछि अमेरिकाको व्यापार र कूटनीतिक सम्बन्धमा पुनः तनाव बढेको छ जसले अमेरिकी गतिशीलता कमजोर बनाएको छ । तर, चीनको रणनीतिक खुलापनले उसलाई विश्वभर प्रभावशाली बनाइरहेको छ । यी फरक बाटाहरूले भविष्यमा विश्वको आर्थिक र यात्रा संरचना नै परिवर्तन गर्नेछन् ।”
अमेरिकी पासपोर्टको घट्दो शक्तिले वैकल्पिक आवास र नागरिकता खोज्ने अमेरिकीहरूको संख्या इतिहासकै उच्च बनाएको छ । हेनली एन्ड पार्टनर्सको तथ्यांक अनुसार, सन् २०२५ मा अमेरिकी नागरिकहरू लगानीका माध्यमबाट विदेशको नागरिकता लिने कार्यक्रमका सबैभन्दा ठूलो समूह बनेका छन् ।
फिलाडेल्फियास्थित टेम्पल विश्वविद्यालयका कानूनविद् प्रोफेसर पिटर जे. स्पाइरो भन्छन्, “अमेरिकी नागरिकता अझै मूल्यवान छ, तर अब त्यो मात्र पर्याप्त छैन । आगामी वर्षहरूमा अझ धेरै अमेरिकीहरू जसरी पनि दोहोरो नागरिकता लिन खोज्नेछन् । अमेरिकी समाजमा एकभन्दा बढी नागरिकता सामान्य बन्दै गएको छ । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले हालै लेखे— ‘अब दोहोरो नागरिकता नै नयाँ अमेरिकी सपना हो ।’
हेनली पासपोर्ट इन्डेक्समा नेपाल १०१औं स्थानमा छ । नेपालको पासपोर्टले ३६ वटा देशमा मात्र भिसामुक्त प्रवेश आउँछ । यस सूचीको तल्लो स्थानमा रहेका देशहरूमध्ये नेपाल सातौं स्थानमा छ ।








प्रतिक्रिया