भारतले घटायो रुसबाट तेल आयात, पश्चिम एसिया र अमेरिकाबाट ल्याउने

490
Shares

एजेन्सी । अमेरिकाको दबाबमा भारतले रुसबाट गरिरहेको कच्चा तेलको आयात घटाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको अप्रिलदेखि सेप्टेम्बर महिनासम्मको तथ्यांक हेर्दा आयात ८.४ प्रतिशतले घटेको देखिएको छ । भारतका पेट्रोलियम पदार्थ प्रशोधकहरूले पश्चिम एसिया र अमेरिकाबाट तेल ल्याउन खोजिरहेका छन् ।

अमेरिकाले भारतलाई रुसी तेल आयात गर्नबाट रोक्नका लागि चर्को भन्सार शुल्क लगाएको छ । ह्वाइट हाउसका व्यापार सल्लाहकार पिटर नभारोले युक्रेनमा रुसले गरिरहेको युद्धलाई भारतले तेल किनेर फन्डिङ गरिरहेको आरोप लगाएका छन् ।

भारतका निजी प्रशोधक कम्पनीहरू रिलायन्स इन्डस्ट्रिज लिमिटेड र नायारा इनर्जीले सेप्टेम्बरमा आयात बढाएका छन् भने सरकारी प्रशोधकहरूले आयात घटाएका छन् ।

भारतले भन्सार शुल्क घटाउने हो भने रुसी तेल किन्न छोड्नुपर्ने अमेरिकीहरूको भनाइ छ ।

अमेरिकी तेलको आयात चाहिँ भारतले बढाएको छ । अप्रिल र सेप्टेम्बरको बीचमा अमेरिकाबाट तेल आयात ६.८ प्रतिशतले बढेको छ ।

भन्सार शुल्क घटाउने विषयमा भारत र अमेरिकाबीच वार्ता चलिरहेको छ । त्यसैको पृष्ठभूमिमा भारतले अमेरिकी कच्चा तेलको आयात बढाएको हो ।

त्यस्तै मध्यपूर्वबाट भारतले सेप्टेम्बर महिनासम्म विगत ६ महिनामा गरेको आयात बढेर ४५ प्रतिशत पुगेको छ ।