बन्दी रिहा गर्न हमास तयार हुनुको भित्री कथा

2.2k
Shares

एजेन्सी । हमासका नेता खलिल अल–हयाले पहिलोपटक अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले प्रस्ताव गरेको गाजा शान्ति योजना हेरेपछि तत्कालै अस्वीकार गरेका थिए । योजनामा उनको समूहलाई हतियार बिसाउन आग्रह गरिएको थियो । तर, युद्ध अन्त्य गर्नका लागि इजरायलले के त्याग्ने भन्ने स्पष्ट योजना थिएन । त्यसैले हयाको तत्काल नकारात्मक प्रतिक्रिया आयो ।

इजरायलले धेरैपटक संशोधन गरेपछि तयार भएको उक्त योजना कतारका प्रधानमन्त्री र इजिप्टका गुप्तचर प्रमुखले हमासलाई बुझाएका थिए । वार्ताको बारेमा जानकार अधिकारीहरूका अनुसार, यो योजना हयाले अपेक्षा गरेको जस्तो थिएन । करिब एक महिनाअघि मात्रै कतारमा हमासमाथि इजरायलले गरेको साहसी आक्रमणको तारो बनेका हयाले कतारीहरूलाई युद्ध अन्त्य हुने प्रत्याभूति नभएसम्म इजरायली बन्दीहरू मुक्त नगरिने बताएका थिए ।

तर, त्यसको दुई दिनपछि हमासले अरबी मध्यस्थकर्ताहरूलाई योजनामा सकारात्मक रहेको सन्देश दियो । त्यतिखेर सम्झौतामा खासै परिवर्तन आएको थिएन तर हमासमाथिको दबाब बढेको थियो ।

अधिकारीहरूका अनुसार, इजिप्ट र कतारले हयालाई युद्ध रोक्ने यो नै अन्तिम मौका भएको बताएका थिए । बन्दीहरूलाई नियन्त्रणमा राख्ने काम रणनीतिक बोझ बन्दै गएको र यसले इजरायललाई युद्ध जारी राख्न वैधता दिइरहेको भनी उनीहरूले हमासलाई सम्झाएका थिए ।

त्यसको भोलिपल्ट टर्की पनि उनीहरूसँग जोडियो । अधिकारीहरूका अनुसार, हमासले ट्रम्पको योजनालाई अनुमोदन नगरेमा सबै राजनीतिक र कूटनीतिक समर्थन गुमाउने भनी उनीहरूले हयालाई चेतावनी दिए । कतार र टर्कीले हमासको राजनीतिक नेतृत्वलाई अब आतिथ्य नदिने र इजिप्टले पनि गाजा युद्धपछि शासन चलाउन हमासलाई भूमिका दिलाउनका दबाब नदिने बताए ।

त्यस चेतावनीले हमासलाई गाजामा रहेका सबै बन्दीहरू मुक्त गर्न र ट्रम्पको शान्ति योजनाको पहिलो भागमा हस्ताक्षर गर्न बाध्य बनायो । यससँगै, सबैभन्दा ठूलो शर्त त्यागेर उसले वार्ताको टेबलमा आफ्नो सिट सुरक्षित राख्यो । ट्रम्पको योजनाबारे आफ्ना सरोकारहरूलाई जोड्दै केही शर्तसहित स्वीकार गरेर हमासले ट्रम्पलाई जीतको घोषणा गर्ने र यसै साता बन्दी मुक्तिको बाटो खुलाउने मौका दियो ।

“हमासमाथि क्षेत्रीय मध्यस्थकर्ताहरूबाट निकै दबाब परेको छ,” युरोपियन काउन्सिल अन फरेन रिलेसन्सकी भिजिटिङ फेलो तहानी मुस्तफाले बताइन् । “अहिलेकै बाटो हिँडिरहेमा उनीहरूलाई राजनीतिक रूपमा बाँच्न गाह्रो हुने कुरा हमासलाई थाहा छ किनभने उनीहरूप्रतिको जनसमर्थन घट्दै गएको छ ।”

दबाबमा सम्झौता गर्नुपरेको प्रश्नमा तेहरानस्थित हमासका प्रतिनिधि खालिद अल–कद्दूमीले प्यालेस्टाइनीहरूलाई गाजाबाट विस्थापित हुन नदिने र मानवीय सहायता तथा पुनर्निर्माणको बाटो खोल्ने ग्यारेन्टी दिएकाले आफ्नो समूहले ट्रम्पको प्रस्तावमा समर्थन जनाएको बताए । इजरायललाई पुनः युद्धमा फर्कनबाट ट्रम्पले रोक्ने विश्वास आफूले गरेको भनी विश्वास गरेको उनी बताउँछन् ।

हमासलाई मन नपरेको सम्झौतामा सहमत गराउन गरिएको अभियान लामो समयदेखिको प्रयासको परिणाम थियो । त्यसमा ट्रम्पको टोलीले इजिप्ट, कतार र टर्कीलाई एकताबद्ध गरेर हमासलाई हस्ताक्षर गर्न दबाब दिएका थियो ।

लामो समयदेखि अरब मध्यस्थकर्ताहरूलाई युद्ध अन्त्य गर्न हमासमाथि थप दबाब दिनका लागि आलोचकहरूले माग गर्दै आएका थिए । तर, यसपटक अवस्था फरक थियो ।

“सबै जना अब यो युद्ध रोकियोस् भन्ने चाहन्थे,” साउदी अरबका लागि पूर्व अमेरिकी राजदूत माइकल र्याट्नीले भने ।

टर्की र खाडी मुलुकहरूसँगको राम्रो सम्बन्धले ट्रम्पलाई हमाससँग सम्बन्ध भएका देशहरूमाथि प्रभाव बढायो । इजरायलले कतारमा हमासमाथि गरेको हवाई आक्रमणपछि खाडी मुलुकहरू पनि आफ्नो सुरक्षाका बारेमा चिन्तित बनेका थिए ।

हमास पनि आन्तरिक रूपमा कमजोर बन्दै गइरहेको थियो । पैसाको अभाव, इजरायली सेनासँगको लडाइँ धान्न कठिन परिरहेको स्थिति र युद्धका कारण भोकमरी तथा विनाश झेलेका प्यालेस्टाइनी जनताले शान्ति चाहिरहेको अवस्थाका कारण हमास लचिलो बन्न बाध्य भयो ।

ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सार्वजनिक रूपमा युद्ध अन्त्य गर्न सहमत गराएपछि हमास मात्र एक्लो विरोधीको रूपमा बाँकी रह्यो ।

ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार, दबाब भन्दा पनि विश्वास निर्माणको प्रक्रियाका लागि युद्धविरामको सहमति बनेको हो ।

ट्रम्पले आफ्नो योजना सार्वजनिक गर्नुअघि नै हमास कतिपय शर्तहरूमा लचिलो देखिएको थियो । अगस्ट महिनामा हमासले इजिप्टसँगको सीमावर्ती क्षेत्रमा रहेका केही सुरक्षा क्षेत्रमा इजरायल पूरै हट्नुपर्ने माग त्यागेको थियो ।

अरब मध्यस्थकर्ताहरूका अनुसार, हमासले रकेट प्रक्षेपक लगायत आफ्ना केही भारी हतियारहरू अरब पर्यवेक्षकहरूलाई बुझाउन र आफ्ना केही नेताहरूलाई गाजाबाट बाहिर पठाउन पनि तयारी देखाएको थियो ।

इजरायलले भने अन्तर्राष्ट्रिय दबाबलाई बेवास्ता गर्दै अझ कडा नीति अपनायो । गाजा शहरमा नयाँ आक्रमण सुरु गर्दै हमासले आत्मसमर्पण नगरेसम्म युद्ध नरोकिने माग ग‍रिरह्यो ।

हालको सम्झौताको धेरै अंश विगत एक वर्षदेखि वार्तामा रहे पनि मध्यपूर्वको शक्ति सन्तुलनमा आएको ठूलो परिवर्तनले अब प्रगति सम्भव बनायो ।

वास्तवमा हया र हमासको समय सकिँदै गइरहेको थियो । क्षेत्रीय शक्तिहरू एउटै धारमा उभिन थालेका थिए । पहिलो दिनकै बैठकमा मध्यस्थकर्ताहरूले ट्रम्पको योजनामा भरोसा नगरेमा युद्ध अनन्तकालसम्म चल्ने भनी हमासलाई चेतावनी दिए । उनीहरूले निर्णय गर्न पाँच दिन मात्र रहेको बताएका थिए

लेबनान र इरानमाथिका सैन्य तथा गुप्तचर आक्रमणहरूले अरब मुलुकहरूलाई इजरायलको बढ्दो शक्ति र त्यसको प्रयोगप्रति सतर्क बनायो । अमेरिकी सैन्य अड्डा रहेको कतारमाथिको आक्रमणका कारण युद्धले खाडीको सुरक्षामा जोखिम निम्त्याएको सन्देश दिएको थियो । यसले अरब देशहरूलाई युद्धविरुद्ध झनै एकताबद्ध बनायो ।

ट्रम्पले टर्कीलाई पनि आफ्नो पक्षमा ल्याउने प्रयास गरे । राष्ट्रपति रेचेप तैयप एर्दोआनलाई राष्ट्रपति जो बाइडनले लामो समयदेखि बेवास्ता गरेका थिए । तर, ट्रम्पसँग एर्दोआनको न्यानो सम्बन्ध छ । सेप्टेम्बर महिनामा ट्रम्पले उनलाई पाँच वर्षपछि पहिलोपटक ह्वाइट हाउसमा आमन्त्रण गरे । त्यही महिना एर्दोआनले संयुक्त राष्ट्रसंघमा मुस्लिमबहुल देशका नेताहरूको बैठकमा पनि अध्यक्षता गरे । त्यहाँ गाजाको युद्ध रोक्ने विषयबारे छलफल भयो ।

“यस घटनापछि हमासमाथि दबाब दिन एर्दोआन नै प्रमुख व्यक्ति भएको ट्रम्पलाई विश्वस्त गरायो,” मिल ईस्ट इन्स्टिच्युटका वरिष्ठ फेलो गोनुल टोलले भने ।

एर्दोगानले आफ्नो गुप्तचर प्रमुख इब्राहिम कालिनलाई इजिप्टको शर्म एल–शेखमा भएको गत हप्ताको बन्दी साटासाट सम्झौता सम्बन्धी वार्तामा पठाए । टर्कीको सहभागिताले त्यस क्षेत्रका देशहरूले एउटै आवाजमा सम्झौताका पक्षमा बोलिरहेका छन् भन्ने सन्देश दियो ।

हया इजरायलले गरेको हत्या प्रयासपछि वार्तामा भाग लिन शर्म एल–शेख पुगे । सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणपछि सुरु भएको युद्धका बीच पनि हमास अझै बाँचेको यसले देखायो ।

तर, वास्तवमा हया र हमासको समय सकिँदै गइरहेको थियो । क्षेत्रीय शक्तिहरू एउटै धारमा उभिन थालेका थिए । पहिलो दिनकै बैठकमा मध्यस्थकर्ताहरूले ट्रम्पको योजनामा भरोसा नगरेमा युद्ध अनन्तकालसम्म चल्ने भनी हमासलाई चेतावनी दिए । उनीहरूले निर्णय गर्न पाँच दिन मात्र रहेको बताएका थिए ।

त्यो समयसीमा सकिनुअघि गाजाबाट इजरायली सेनाको फिर्ती र प्यालेस्टाइनी कैदीहरूको सूचीबारे छलफल जारी रहँदा पनि हमासले आधिकारिक रूपमा बन्दी रिहा गर्ने योजना स्वीकार ग‍रेको थियो ।

द वालस्ट्रीट जर्नलमा प्रकाशित सामग्रीको अनुवाद