फुत्किसकेको खेलमा उत्कृष्ट पुनरागमनसँगै नेपाल विश्वकप नजिक

539
Shares

काठमाडौं । लेगस्पिनर सन्दीप लामिछाने र मध्यम गतिका बलर नन्दन यादवको उत्कृष्ट प्रदर्शन तथा कसिलो फिल्डिङसँगै नेपाल टीट्वान्टी विश्वकप नजिक पुगेको छ । मंगलबार उत्कृष्ट कमब्याक गरेर नेपालले कतारलाई हराएको हो ।

कुनै समय ९७ रनमा १ विकेटमात्र गुमाएको कतारको पारी ध्वस्त गर्ने क्रममा लामिछानेले ५ विकेट लिए । यसैगरी यादवले २ विकेट झारे । दिपेन्द्रसिंह ऐरी र आदिल आलमको उत्कृष्ट फिल्डिङका कारण कतारी टोली धर्मरायो । १४८ रन पछ्याउने क्रममा १४२ रनमा अलआउट भयो ।

कतारका लागि ओपनरद्वय इमाल लियानागे र जुबेर अलिले क्रमशः ५६ र ५२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

त्यसअघि कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले १४७ रन बनाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनायो । कप्तान रोहितले ४१ बलमा ५८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन बनाए । गुल्शन झाले ८ बलमा १६ रनको पारी खेले ।

कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । डानियल लुइसले पनि ३ विकेट लिए । मुहम्मद असिमले १ विकेट लिए ।

नेपालले सुपर सिक्समा यूएईलाई हराएको थियो । मंगलबारको जितसँगै नेपालको ६ अंक भएको छ । सुपर सिक्समा ओमनको पनि ६ अंक भएको छ । दुवै टोली भारत र श्रीलंकमा हुने विश्वकपमा छनोट हुने उच्च सम्भावना बनेको छ ।