
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन विश्वमै सर्वाधिक छोटो समयमा सत्ता पलट र अत्यधिक धनजनको क्षति भएको घटनाको रुपमा देखियोे । सम्भवतः सशस्त्र युद्धमा पनि यो स्तरको असर परेको छैन । आन्दोलनको तयारी खुला छलफलबाटै भएको थियो । तर मूलधारे सञ्चार माध्यमले भूमिगत आन्दोलन जस्तो आन्दोलनपूर्व के भएको थियो भनेर सहभागीहरुसँग आजभोलि अन्तरवार्ता लिइरहेका छन् ।
जीत विशाल, प्राप्ती न्यून
यस अघिसम्म आन्दोलनहरु सम्झौतामा टुंगिन्थे । पहिलो पटक सरकार प्रमुखसहित मन्त्री र सत्तारुढ दलका नेताहरु सरकारी र निजी निवास छोडेर लुक्न बाध्य भए । यस हिसाबले आन्दोलनले पूर्ण जीत हासिल गर्यो । तर आन्दोलनको प्राप्ती न्यून भएको देखिन्छ ।
संविधान निलम्वन वा खारेजी गरेर अन्तरिम विधान जारी गर्न सक्ने वा जुनसुकै नयाँ सुरुवात गर्न सक्ने अवस्था देखिन्थ्यो । तथापि राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थनका लागि लोकतान्त्रिक पद्धति र नागरिक स्वतन्त्रतालाई कायम राख्नुपर्ने थियो ।
अब आन्दोलनको म्याण्डेडअनुसार परिवर्तन गर्छुभन्दा कानुनी बाधा देखिन्छन् । पुरानै प्रणाली स्वीकार गरेको हुँदा त्यस प्रतिकूल निर्णय र कार्यान्वयन गर्न चुनौतीपूर्ण छ । नेपाली उखान, “फलाम तातेकै बेला आकार दिनुपर्छ”मा आन्दोलन चुकेको छ।
विभिन्न शक्तिको भूमिका
सरकार भागेको र प्रहरीले आत्मसमर्पण गरेको अवस्थामा सेनाले स्वतः भूमिका गर्नुपर्ने जस्तो देखिन्छ । तर राष्ट्रपति कायम रहेको अवस्थामा सेनाले के र कसरी गर्ने भन्ने अन्योल रह्यो ।
पूरै शून्य नभएको र कानुनी संयन्त्रले काम पनि नगर्ने अवस्था आयो । प्रधान सेनापतिसहित सुरक्षा अंग र मुख्य सचिवले संयुक्त विज्ञप्ति जारी गरेर निकासको लागि आह्वान गरे । तर फिल्डमा तोडफोड र आगजनि भने जारी रह्यो ।
बालेनले जनताको जीत भएको हुँदा अब सम्पत्ति सुरक्षा गर्ने जिम्मा पनि आन्दोलनकारीकै हो भन्दै सांकेतिक रुपले फिल्डमा उत्रेको भए क्षति रोकिन सक्थ्यो
आन्दोलनकारी, राष्ट्रपति र सेनाको समझदारीमा नयाँ परिस्थिति सम्हाल्न प्रयत्न गरेको भए हुन्थ्यो । आन्दोलन नेतृत्वविहिन भएको हुनाले त्यो पनि सहज भएन । आन्दोलनकारीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई मुलुकको नेताको रुपमा स्वीकार गरेको देखिन्थ्यो । तर बालेन शाह आन्दोलनको उपलब्धीलाई संस्थागत गर्न अग्रसर भएनन् । यो उनको रणनीतिअनुसार नै भएको हो वा उनले चाहेअनुसार गर्न नपाएको हो ? यो विषय अस्पष्ट छ ।
तरल स्थितिमा वैदेशिक शक्तिको भूमिका हुन सक्छ । हारेका राजनीतिक दलहरुले फोनबाट राष्ट्रपतिसँग परामर्श गरिरहेका थिए । यसबाट राष्ट्रपतिको धारणामा केही प्रभाव अवश्य पर्यो ।
आन्दोलनको जीतलाई आफूले स्वीकार गरेको आसयसहित सार्वजनिक र निजी सम्पत्ति सुरक्षाका लागि सेनाले आह्वान र प्रतीकात्मक पहल गरेको भए सायद थप क्षति रोकिन्थ्यो । त्यस्तै बालेनले जनताको जीत भएको हुँदा अब सम्पत्ति सुरक्षा गर्ने जिम्मा पनि आन्दोलनकारीकै हो भन्दै सांकेतिक रुपले फिल्डमा उत्रेको भए क्षति रोकिन सक्थ्यो ।
सेनाले ढिला गरी राती १० बजेबाट परिचालन हुने घोषणा गर्यो । बालेनले पनि ३ घन्टापछि क्षति नगर्न आह्वान गरी स्टाटस लेखे । यी प्रयत्न देख्दा गरेको जस्तो देखिने तर नतिजामा खासै प्रभाव नपर्ने खालका थिए ।
आन्दोलनको पृष्ठभूमि
जेनजी आन्दोलन अपरझट भए जस्तो देखिए पनि भ्रष्टचारविरुद्ध आन्दोलनको पृष्ठभूमि लामो छ । दलहरुको राजनीतिबाट प्रताडित भएर गैरराजनीतिक व्यक्ति राजनीतिमा प्रवेशको सुरुवात २०७० सालको चुनावबाट भएको हो । उज्जल थापाको विवेकशील नेपाली दल आयो । त्यसपछि पत्रकार रविन्द्र मिश्रले स्थापना गरेको साझा पार्टी नेपालको अभियान नै भ्रष्टाचारीलाई कीरा परोस् भन्ने थियो ।
टिभी प्रस्तोता रवि लामिछानेले २०७९ को चुनावअघि खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा पनि भ्रष्टाचार अन्त्य नै थियो । यस पाटीले २१ सांसद जित्यो । २०७९ को स्थानीय चुनावमा वालेन काठमाडौं महानगरपालिका र हर्क साम्पाङ धरान उपमहानगरपालिकामा स्वतन्त्र मेयर बने । यी दुवैको एजेण्डा भ्रष्टाचार र संघ सरकारको कार्यशैलीको विरोध हो ।
पछिल्लो समय भ्रष्टाचारको विरोधमा जेनजी उमेर समूहहरु असंगठित रुपले उजागर भए । कुनै व्यक्ति वा समूहले पहल कदमी लिएको स्पष्ट नभई सामाजिक सञ्जालको माध्यमबाट जेनजी मुभमेन्ट सुरु भयो र बढ्दै गयो ।
नेताका छोराछोरीहरुले सामाजिक सञ्जालमा राखेका भड्किला र विलासी उपभोगलाई विरोध गर्ने अभियान टिकटकमा भाइरल भयो । यसैबीच सरकारले सामाजिक सञ्जाल नेपालमा सम्पर्क व्यक्ति तोकेर सूचीकरण नभए बन्द गर्ने घोषणा गर्यो । टिकटक र भाइबर मात्र सूचीकृत भए । अरु प्लेटफर्मले भ्रष्ट प्रशासनमा सूचीकरण नहुने भनेर प्रतिक्रिया दिएपछि सरकारले बन्द गरिदियो।
सामाजिक सञ्जाल बन्द भएको केही दिनमै माइतीघरमा जेनजीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने आह्वान इस्टाग्राम र टिकटकमा फैलियो । एक दुई दिन अघि आह्वान सुनेको आधारमा जेनजीहरु भदौ २३ गते माइतघरमा पुगे ।
सूचना र प्रविधिको ग्याप
अहिले जेनजीले प्रयोग गरेको प्रविधि र माध्यम मूलधारे न्युज मिडिया, विश्लेषक, सुरक्षा निकायको पहुँचमा थिएन । जेनजीले सामाजिक छलफलको प्लेटफर्म डिस्कर्ड प्रयोग गर्दथे । तर पुरानो पुस्ता फेसबुक, ट्वीटर, क्लब हाउस, जुम आदिसँग मात्र बढी परिचित थियो ।
डिस्कर्डमा व्यापक छलफल भए पनि मूलधारको संयन्त्रले त्यसबारे थोरै मात्र थाहा पायो र त्यही थोरैलाई नै सम्पूर्ण ठान्यो । जेनजीले सुरुमा रेडइटमा नेपो बेबी अभियान चलाएका थिए । रेडइटबारे पुरानो पुस्ता बेखबर छ । पछि टिकटक र इन्स्टाग्राममा विरोध प्रदर्शन तीब्र पारेका थिए । यी प्लेटफर्मका कन्टेन्टलाई जेनजी र अन्य पुस्ताले दिने महत्त्व फरक छ ।
स्वस्फूर्त बनेका जेनजीका सयौं हजारौं अनौपचारिक समूहमा छुट्टाछुट्टै छलफल हुन्थ्यो । त्यसैले २३ गतेको आन्दोलनमा कति जेनजी माइतीघरमा उपस्थित हुनेछन् भन्ने कसैलाई सही अनुमान थिएन ।
हिंसाको पूर्वअनुमान
आन्दोलनमा कति मानिस आउलान् भन्ने सरकारी संयन्त्र र न्युज मिडियाहरुले अनुमान गर्न सकेनन् । सुरक्षा प्रबन्ध गरिएभन्दा ठूलो संख्या प्रदर्शनमा आयो । जेनजी भनेका सन् १९९५ देखि २०१२ भित्र जन्म भएका (अहिले १३ देखि २८ वर्ष) युवा हुन् । प्रदर्शनमा १३ वर्षका विद्यार्थी पनि स्कुल पोशाकमै सहभागी थिए । त्यो अनुमान अरुले गरेका थिएनन् ।
बिजुली बजार र बानेश्वर बीचको प्रहरी ब्यारिकेडमा सुरक्षाकर्मीको संख्या अपर्याप्त देखिन्थ्यो । तर थप गरेर निशेधित क्षेत्र प्रवेशमा रोक्ने प्रयत्न गरिएन । प्रहरीले सामान्य बल प्रयोग गरे जस्तो गरेर छोडिदियो ।
जेनजी समूहहरुले सार्वजनिक गरेको आह्वानमा माइतीघर मात्र उल्लेख गरेका थिए । यो असंगठित आन्दोलन थियो । त्यसैले माइतीघरमा नअटाएपछि सिंहदरबार वा संसद भवनतिर जाने सम्भावना अनुमानयोग्य नै भए पनि जिम्मेवार निकायले अनुमान गरेको देखिएन ।
पुरानो पुस्ता र नयाँ पुस्ताले प्रयोग गर्ने प्रविधि, रुचि र सोचमा उल्लेख्य ग्याप रहेको र उक्त ग्याप कम गर्न पुरानो पुस्ताले महत्व नदिएका कारण यो सबै घटना भएको निष्कर्ष निकाल्न सकिन्छ
भीड संसद भवनतिर जान सक्छ, ढुंगामुढा हुन सक्छ र सरकारी पक्षबाट त्यसरी गोली बर्साएर आन्दोलनकारी मारिन्छ भन्ने अनुमान जेनजी समूहहरुले गरेकै थिएनन् । तर संगठित आन्दोलनमा त घुसपैठ हुन्छ भने असंगठितमा हुनु अस्वाभाविक थिएन।
धेरै कलेज ग्रुपहरुले युनिफर्ममै सहभागी हुने आह्वान गरेका थिए । जसको कारण घुसपैठ नियन्त्रणलाई अप्रत्यक्ष रुपले सहयोग पुग्दथ्यो । तथापि जेनजीको माग जेनरल भएको र आम समर्थन रहेको कारण जोसुकैले संलग्न हुने सम्भावना थियो ।
प्रहरीको अव्यावसायिक भूमिका
नेपालमा प्रहरीले गैरआन्दोलनकारीलाई समेत पिट्ने, पिछा गरेर पिट्ने र एक्लै परेकालाई पिट्ने गरेको देखिन्छ । लुकेर गोली हान्ने प्रचलन देखिन्छ । प्रहरीले आफू सुरक्षित भएर जोखिम नलिई बल प्रयोग गर्न चाहन्छ । जुन शान्तिपूर्ण आन्दोलनमा प्रहरी बल प्रयोगको सर्वमान्य मान्यताविपरीत हो । प्रहरीले भीडभित्र प्रवेश गरेर बल प्रयोग गर्नुपर्ने हो । तर युद्धमा अपनाउनुपर्ने रणनीति शान्तिपूर्ण प्रदर्शनमा अपनाएको देखिंदै आएको छ ।
निष्कर्ष
यसरी पुरानो पुस्ता र नयाँ पुस्ताले प्रयोग गर्ने प्रविधि, रुचि र सोचमा उल्लेख्य ग्याप रहेको र उक्त ग्याप कम गर्न पुरानो पुस्ताले महत्व नदिएका कारण यो सबै घटना भएको निष्कर्ष निकाल्न सकिन्छ । अझै पनि जेनजीको भावना पूरा गर्ने भन्दै बेबी बुमर्स उमेर पुस्ताले सरकार चलाएको देखिन्छ ।
अहिले अस्तित्वमा रहेका मानिसलाई उमेर समूहका आधारमा ६ भागमा बाँडिएको छ । तर यो फगत उमेर मात्र होइन, उनीहरुले प्रयोग गर्ने प्रविधि, प्राप्त गर्ने सूचना र अन्तरक्रियाले गर्दा उनीहरुको क्षमता, सोच र विशेषतामा रहेको भिन्नता हो ।
प्रविधिको रुपान्तरणकारी परिवर्तन भएको अहिलेको युगमा राजनीति र विकासको परिभाषा पुराना सिद्धान्तले पूर्ण हुँदैन । जेनजीले जे बुझेका र जानेका छन्, ती अहिलेका सापेक्ष आवश्यकता हुन् । त्यसैले जेनजीको भावना अरुले बुझेर बुझिदैन । शासनमा उनीहरुकै प्रतिनिधित्व हुनु जरुरी छ ।








प्रतिक्रिया