गार्मेन्ट व्यवसायी रवि गुप्ताको टर्निङ प्वाइन्ट कोभिड १९, उद्यमशीलतामा यसरी चढ्दैछन् शिखर

अर्काको सामान बेचेर महिनाको १५ हजार कमाउने गुप्ता अहिले दिन्छन् ३ दर्जनलाई जागिर


विराटनगर । विराटनगरका रवि गुप्ता कुनै समय अर्काको उत्पादन झोलामा बोकेर पूर्व क्षेत्रमा दैनिक लाग्ने हटिया (बजार) मा लगेर बिक्री गर्थे । त्यसवापत उनी मासिक बढीमा १५-२० हजार रुपैयाँ पारिश्रमिक थाप्थे ।

त्यसबेला उनी झोलामा सामान बोकेर साइकल र सार्वजनिक बसमा विराटनगरका विभिन्न हटिया मात्र नभई सुनसरीको दुहवी, इटहरी, झुम्का, इनरुवा, चतरा, चकरघट्टी, उदयपुरको फत्तेपुर, गाइघाट तथा सिराहा र सप्तरीका नाम चलेका दैनिक लाग्ने हटिया पुगेर सामान बिक्री गर्ने दैनिकी थियो ।

त्यसवापत हातपर्ने पारिश्रमिकले गुप्ताको पाँच जनाको परिवारको गुजारा जेनतेन चल्थ्यो । गुप्ताको यो क्रम दुई दशकसम्म चल्यो । तर अहिले गुप्ताको अवस्था र दैनिकीले कोल्टे फेरेको छ । उनी अहिले आफ्नै उद्योगी बनेका छन् । त्यति मात्र होइन, उनी यसबेला २५ जनालाई रोजगारी दिएर मासिक ४ लाखभन्दा बढी रुपैयाँ पारिश्रमिकका नाममा वितरण गर्दै आएका छन् ।

दुई दशकसम्म अर्काको उत्पादन झोलामा बोकेर हटियामा बिक्री गर्दा रविलाई दिक्क लागेको थियो । तर दिक्क लागे पनि आर्थिक अभावमा उनको अर्को विकल्प थिएन ।

अर्काको सामान हटियामा लगेर बिक्री गरेर रविको दैनिकी दुःखसुख चलिरहेकै समयमा विश्वभर कोभिड-१९ को लहर फैलियो । भिडभाड हुने स्थान, बजार, पसलहरू बन्द भए । दैनिक गुजारा गरेर परिवार चलाउँदै आएका धेरैजना समस्यामा परे । रवि पनि त्यो पीडाबाट टाढा रहेनन् ।

तर रविलाई त्यही कोभिड नै जीवन र व्यवसायका लागि नयाँ अध्याय र अवसर बनेर आयो । कोभिडकै समयमा उद्योग संगठन मोरङले ‘स्टार्टअप एन्ड इनोभेसन’ कार्यक्रम सञ्चालनको तयारी गरेको जानकारी रविले पाए ।

नयाँ व्यवसायको विकल्प खोजिरहेका उनी उक्त कार्यक्रममा सहभागी भए । व्यवसायिक बजारिकरण रणनीति बनाउनमा दखल राख्ने रविले व्यवसायिक दैनिकीको ज्ञान मात्र नभई व्यवसाय सञ्चालनका चुनौती बुझे र त्यसलाई सफल बनाउने जुक्ति त्यहीँबाट लिए ।

मेरो जीवन र व्यवसायिक यात्राको टर्निङ प्वाइन्ट उद्योग संगठन मोरङको स्टार्टअप एन्ड इनोभेसन क्याम्प बन्यो,’ रविले क्लिकमान्डुसँग भने, ‘त्यो क्याम्पले आज मलाई दैनिक लाग्ने हटियाको भीडबाट उद्योगको गल्लामा उभ्याएको छ । त्यो क्याम्पले मेरो लागि लगानीकर्ता मात्र जुटाएन, जनसम्पर्कमा पहुँच बढायो अनि लगानी जुटाउनका लागि अवसर पनि खोलिदियो,’ उनले भने ।

स्टार्टअप एन्ड इनोभेसन क्याम्पपछि रविलाई हिमालय बैंकले परियोजना धितो राखेर १० लाख रुपैयाँ ऋण दियो । त्यही पैसाले उनले विराटनगर-६ मा ‘आरोहण इन्टरप्राइजेज गार्मेन्ट’ स्थापना गरे । त्यो गार्मेन्ट उद्योगमा यसबेला डेढ करोड पुँजी पुगेको छ । ५ वटा सिलाइ मेसिन र ५ जना स्टाफबाट सुरु भएको उनको गार्मेन्टमा यसबेला २५ वटा सिलाइ मेसिन छन् र स्टाफ पनि २५ जना छन् ।

रविले भने, ‘स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमपछि मलाई आत्मविश्वास जागेको थियो । बैंकले मेरो इमान्दारिता र लगनशीलता हेरेर परियोजना धितोमा ऋण प्रवाह गरिदियो, जसले मलाई व्यवसाय सञ्चालनमा हौसला जुटायो ।’

उत्पादन सुरु गरेको पहिलो वर्षमै उनले २२ लाखको कारोबार गरे । पहिलो वर्षको कारोबारले उनलाई दोस्रो वर्षका लागि भरपर्दो आधार बनाइदियो । आफ्नै उत्पादन आफैं बजारिकरणमा खटिएका उनको कारोबार तेस्रो वर्षसम्म आउँदा करिब डेढ करोडको हाराहारी पुग्यो र राज्यलाई झण्डै दुई लाख कर पनि तिरे ।

रवि संघीय सरकारमार्फत ‘स्टार्टअप एन्ड इनोभेसन’ लाई वार्षिक तीन प्रतिशत ब्याजदरको सहुलियत ऋण पाउने विराटनगरका पहिलो उद्यमीसमेत हुन् ।

उनले चालु वर्ष संघीय सरकारको स्टार्टअप नीति अनुसार २५ लाख रुपैयाँ सहुलियत ऋण पनि पाएका छन् । त्यसका लागि विराटनगरका १२ जनाले आवेदन दिएका थिए । तीमध्ये रवि पहिलो नम्बरमा परे ।

रविको गार्मेन्ट उद्योगमा अहिले झण्डै डेढ करोडको लगानी पुगेको छ । यसबेला त्यो गार्मेन्टमा ३० जनाले रोजगारी पाएका छन् । उनीहरूलाई रविले मासिक ४ लाख रुपैयाँसम्म पारिश्रमिक वितरण गर्छन् ।

रोजगारी पाउनेले मासिक ५५ हजार रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गरेका छन् । यसमा उनले उत्पादन परिमाणका आधार (पिस) मा पारिश्रमिक दिने गरेका छन् ।

रविको गार्मेन्टले निम्न र निम्नमध्यम आय भएका उपभोक्तालाई लक्षित कपडा उत्पादन गर्दै आएको छ, जसको मूल्य प्रति पिस सयदेखि पाँच सय रुपैयाँसम्म छ । उनी भन्छन्, ‘मैले बजारबाट कपडा किनेर हटियामा बिक्री गर्दा ३ सय रुपैयाँ केजी कपडा थियो । त्यसबेला कुनै पनि कपडाको मूल्य अहिले आफ्नो उद्योगले उत्पादन गरेर बजारमा पठाएको भन्दा सस्तो थिएन । तर अहिले ८ सय रुपैयाँ केजी कच्चा कपडा हुँदा पनि मूल्य त्यति धेरै छैन ।’

रविको उत्पादन कोशी प्रदेशका मुख्य बजारसहित मधेश प्रदेशको सिरहा र सप्तरी, बागमतीको काठमाडौंसम्म पुग्ने गरेको छ । उनका अनुसार उत्पादनको माग उच्च छ ।

रवि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत स्टार्टअप कर्जा प्राप्त गर्ने छनोट सूचिमा परेका छन् । विराटनगरबाट उनीमात्रै स्टार्टअप कर्जा प्राप्त गर्ने सूचिमा परेका हुन् । संघीय सरकारअन्तर्गत औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले देशभरका ६६१ स्टार्टअपलाई अनुदानमा ऋण उपलब्ध गराएको छ । त्यसमध्ये रविसहित मोरङमा १२ जना र कोशी प्रदेशमा ६० जनाले यो अवसर प्राप्त गरेको प्रतिष्ठानको तथ्यांकमा उल्लेख छ ।

तीन वर्षअघि व्यवसायिक ज्ञान लिन दौडिने रवि अहिले अरुलाई सहायता गरेर उद्यमी बनाउन लागिरहेका छन् । पहिलो ब्याचमा उनले सिकेको ज्ञानले व्यवसायिक सफलता हासिल गरेको छ । अहिले तेस्रो ब्याचमा स्टार्टअपसँग मेन्टर बनेर उनी नयाँ स्टार्टअपलाई आफ्नो अनुभव सुनाउँदै उद्योग व्यवसायका लागि सहजीकरणको भूमिका निभाइरहेका छन् ।

उनी भन्छन्, ‘मेहनत र समाजले विश्वास गर्ने कार्य गरे रोजगारीका लागि विदेशिनु पर्दैन ।’

उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले संगठनले तेस्रो ब्याचका उद्यमीलाई तालिम सहजीकरण गरिसकेको बताए । त्यसमध्ये रवि स्टार्टअपमार्फत अहिले सफल उद्यमी बनिसकेका छन् । केही उद्यमी बन्ने चरणमा छन् ।

तेस्रो ब्याचसम्म एक सय बढीले तालिम लिएको भट्टराईले बताए । अहिले चौथो ब्याच चलिरहेको उनले बताए । उनका अनुसार पछिल्लो समय स्टार्टअप तालिमले उनीहरूलाई व्यवसायिक प्रणालीमा कसरी प्रवेश गर्ने, त्यसभित्रको सिस्टम कसरी बसाल्ने, स्रोतका लागि कसरी पहुँच स्थापित गर्ने जस्ता विषयमा धेरै जानकारी हुने गरेको छ ।

हामीले व्यवसायको आइडिया दिइरहेका छौं, त्यसमा टेकेर स्टार्टअपहरू उद्यममा रूपान्तरण भइरहेका छन्,’ भट्टराईले भने ।