अरब सागरमा बन्दरगाह बनाउन अमेरिकालाई पाकिस्तानको प्रस्ताव

504
Shares

एजेन्सी । पाकिस्तानका सेनाप्रमुख असिम मुनीरका निकट सल्लाहकारहरूले अमेरिकासमक्ष एउटा प्रस्ताव अघि सारेका छन् ।

त्यस प्रस्तावअनुसार अमेरिकाले अरब सागर किनारमा एउटा बन्दरगाह निर्माण र सञ्चालन गर्न सक्छ । यस बन्दरगाहले अमेरिकालाई विश्वका सबैभन्दा संवेदनशील क्षेत्रमध्ये एकका रूपमा रहेको हिन्द प्रशान्तमा सशक्त उपस्थितिको अवसर दिनेछ ।

फाइनान्सियल टाइम्सले प्राप्त गरेको योजनाको पाठअनुसार, अमेरिकी लगानीकर्ताहरूले माछा मार्नका लागि बनाइएको पाकिस्तानको सानो शहर पस्नीलाई विकास गरेर त्यहाँबाट महत्त्वपूर्ण खनिज पदार्थ निर्यात गर्ने योजना बनाएका छन् । पस्नी इरानबाट मात्र १०० माइल र चीनले बन्दरगाह बनाइरहेको पाकिस्तानी शहर ग्वादरबाट ७० माइल टाढा छ ।

यो पहल आधिकारिक सरकारी नीति भने होइन । तर पछिल्ला महिनाहरूमा दक्षिण एसियामा भइरहेको ठूलो भूराजनीतिक परिवर्तनबीच पाकिस्तानले नयाँ अवसर खोज्ने प्रयासका रूपमा यो देखिएको हो ।

यो प्रस्ताव केही अमेरिकी अधिकारीहरूसँग साझा गरिएको थियो र गत महिना वाशिङटनस्थित ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटअघि मुनीरलाई देखाइएको थियो । तर, ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले भने ट्रम्प र उनका सल्लाहकारहरूले यस्तो प्रस्तावमा कुनै छलफल नगरेको बताएका छन् ।

यो प्रस्ताव पाकिस्तानले ट्रम्प प्रशासनसँग सम्बन्ध बलियो बनाउने विभिन्न उपायहरूमध्ये एक हो । अन्य प्रस्तावहरूमा ट्रम्पद्वारा समर्थित क्रिप्टो परियोजनामा सहकार्य, अफगानिस्तानमा रहेको इस्लामिक स्टेट (आइसिस–के) विरुद्धको सहकार्य, गाजाको शान्ति योजनाको समर्थन र पाकिस्तानका खनिज स्रोतहरूप्रति पहुँच समावेश छन् ।

मुनीर र ट्रम्पबीच पछिल्ला महिनामा निकै घनिष्ठ सम्बन्ध बनेको बताइन्छ । अमेरिकी र पाकिस्तानी कूटनीतिज्ञहरूले यसलाई ‘ब्रोम्यान्स’ (घनिष्ठ मित्रता) भनेर व्याख्या गरेका छन् । मे महिनामा पाकिस्तान र भारतबीचको भीषण लडाइँ अन्त्य भएको युद्धविरामको श्रेय ट्रम्पले लिएका थिए । त्यसपछि ट्रम्प र मुनीरको सम्बन्ध अझ नजिकिएको हो ।

गत दुई दशकदेखि भारतसँग न्यानो सम्बन्ध राख्दै आएको अमेरिका हालैको समयमा भारतसँग सार्वजनिक विवादमा होमिएको छ । भारतले ट्रम्पको युद्धविराममा भूमिका अस्वीकार गरे पनि मुनीर र प्रधानमन्त्री शहबाज शरिफले उनलाई धन्यवाद दिएका छन् र नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गरेका छन् ।

त्यसको पैंचो तिर्दै ट्रम्पले पाकिस्तानी सेनाप्रमुखको निकै प्रशंसा गरेका छन् । पछिल्लो भेटपछि ह्वाइट हाउसले अमेरिकी राष्ट्रपतिलाई मुनीर र शरिफले पाकिस्तानका खनिज नमूनाहरूको बाकस उपहार दिएका तस्बिरहरू सार्वजनिक गरेको थियो ।

सल्लाहकारहरूका अनुसार, प्रस्तावित पस्नी बन्दरगाहलाई पाकिस्तानभित्रका खनिज क्षेत्रहरूसँग रेलमार्फत जोडिनेछ । त्यहाँ विशेष गरी तामा र एन्टिमोनी जस्ता महत्त्वपूर्ण खनिज निर्यात गरिने योजना छ । तिनलाई ब्याट्री, आगो निभाउने पदार्थ र मिसाइलमा प्रयोग गरिन्छ ।

यो बन्दरगाह बनाउन करिब १.२ अर्ब डलर लागत लाग्ने अनुमान गरिएको छ । लगानीको मोडलमा पाकिस्तान सरकार र अमेरिकी विकास बैंकहरूको संयुक्त सहभागिता रहनेछ ।

यस योजनाका समर्थकहरूका अनुसार, यो पाकिस्तानले चीन, अमेरिका, इरान र साउदी अरबसँगको सम्बन्ध सन्तुलन गर्न सक्ने उपाय हो । गत महिना पाकिस्तानले साउदी अरबसँग सुरक्षा सम्झौता पनि गरेको थियो । योजनामा भनिएको छ, “पस्नी नजिकको स्थानले अमेरिकालाई इरान र मध्य एसियासँग व्यापार तथा सुरक्षामा नयाँ विकल्प दिन्छ । पस्नीमा संलग्नताले ग्वादरको सन्तुलन कायम गर्दै अमेरिकाको प्रभाव अरब सागर र मध्य एसियासम्म विस्तार गर्न सहयोग पु‍र्याउनेछ ।”

योजनामा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत ग्वादरमा गरिएको लगानीलाई ‘दुई उद्देश्य’ (सामरिक–सैनिक र आर्थिक) को रूपमा चिनाइएको छ । अमेरिकाले ग्वादर चीनको जलसैन्य आधार बन्न सक्ने भनी चिन्ता व्यक्त गर्दै आएको छ, यद्यपि पाकिस्तान र चीन दुवैले यस्तो दाबी अस्वीकार गरेका छन् ।

तर, शनिवार पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले सेनाप्रमुखका कुनै आधिकारिक सल्लाहकार छैनन् भन्दै यो प्रस्ताव निजी व्यावसायिक छलफलमा आएको र औपचारिक रूपमा सरकारमा पेश नभएको बताएका छन् ।

चीन पाकिस्तानको परम्परागत साझेदार हो । उसले पाकिस्तानलाई हतियार, ऋण र लगानीका माध्यमबाट समर्थन गर्दै आएको छ । पाकिस्तानले चीनबाट आपूर्ति भएका विमान र हतियार प्रयोग गरेर गत मे महिनामा भारतका ६ विमान खसालेको दाबी गरेको थियो ।

पस्नी योजनामा ‘सिधा सैनिक प्रयोग’ नगर्ने उल्लेख गरिएको छ, जसको अर्थ हुन्छ – उक्त बन्दरगाह अमेरिकी सैन्य अड्डाका रूपमा प्रयोग हुने छैन ।

अमेरिका शीतयुद्ध र सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानको निकट सहयोगी थियो । तर, अफगानिस्तानमा तालिबानलाई पाकिस्तानले समर्थन गरेकाले सम्बन्ध बिग्रिएको थियो । अहिले दुवै देशले लगानी र व्यापारमा केन्द्रित नयाँ सम्बन्ध निर्माण गर्न खोजिरहेका छन् ।

एक पाकिस्तानी सल्लाहकार भन्छन्, “हामीले नेताहरूलाई चीनमा मात्र निर्भर नरहनका लागि सन्देश दिइरहेका छौं । चीनसँग पुरानो सम्बन्ध त रहन्छ, तर यस परियोजनाको लागि उनीहरूसँग सल्लाह गर्न आवश्यक छैन किनभने यो ग्वादर सम्झौताभन्दा बाहिर पर्छ ।”

अमेरिकी कम्पनी यूएस स्ट्राटेजिक मेटल्सले गत सेप्टेम्बर महिनामा पाकिस्तानको सेनासँग सम्बन्धित इन्जिनियरिङ निकायसँग सम्झौता गरेको थियो । कम्पनीले पाकिस्तानमा रिफाइनरी स्थापना गर्ने योजना बनाएको र कराचीका दुई ठूला बन्दरगाहका निर्देशक र ग्वादरका प्रतिनिधिसँग भेट गरेको बताइएको छ ।

कम्पनीका निर्देशक माइक होलोमनका अनुसार, उनीहरूले पस्नी नजिक सम्भावित बन्दरगाहबारे पनि कुरा सुनेका छन् । पस्नी प्राकृतिक रूपमा गहिरो पानी भएको बन्दरगाह हो र रेलमार्फत रेको डिक खानी क्षेत्रसँग जोडिन सक्छ, जसलाई क्यानडाको ब्यारिक माइनिङले विकास गर्दैछ । “त्यस क्षेत्रमा परियोजना सुरु गर्नु निकै व्यावहारिक देखिन्छ,” उनले भने ।

“हामीसँगको भेटमा सेनाप्रमुखले पाकिस्तान र अमेरिका पुराना मित्र भएको र खनिज सहकार्यले यस मित्रतालाई पुनः न्यानो बनाउन सक्ने भनेका थिए,” होलोमनले भने ।

अघिल्लो महिना पाकिस्तानले अमेरिकालाई करिब दुई टनभन्दा कम तामा, एन्टिमोनी र नियोडिमियम जस्ता दुर्लभ खनिजहरूको पहिलो खेप पठाएको थियो । चीनले गत वर्ष अमेरिकातर्फ एन्टिमोनी निर्यातमा रोक लगाएपछि यसको मूल्य तीव्र रूपमा बढेको छ ।

हाल पाकिस्तानको खनिज क्षेत्रको आम्दानी देशको कुल गार्हस्थ्य उत्पादनको करिब ३ प्रतिशत मात्र हो । पश्चिमी प्रान्तहरूमा रहेका धेरै खानी क्षेत्रहरू विद्रोह र हिंसाका कारण प्रयोगमा आउन सकेका छैनन् । त्यस हिंसाले गत वर्ष मात्र २ हजारभन्दा बढी मृत्यु निम्त्यायो ।

तर, पाकिस्तान वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद्का अध्यक्ष हुसैन आबिदीका अनुसार देशमा विशाल मात्रामा अव्यवस्थित खनिज स्रोत छन् । उनले भने, “यो अमेरिकासँगको सम्बन्ध पुनः सुरु गर्ने अवसर हो । यसपटक सुरक्षा नभई आर्थिक सहकार्यका माध्यमबाट समबन्ध नवीकरण हुनेछ ।”