
एजेन्सी । पाकिस्तानी सेनाले अफगानिस्तानको राजधानी काबुलमा बिहीवार राति हवाई आक्रमण गरेको छ ।
काबुलको अब्दुलहक स्क्वेयरमा आक्रमण भएको स्थानीयहरूले बताएका छन् ।
तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का नेता नूर वली महसुदलाई मार्नका लागि उक्त आक्रमण गरेको बताइएको छ ।
तर, महसुद आक्रमणबाट बचेका छन् । उनले आफू जीवितै रहेको भनी बोलेको अडियो सार्वजनिक भएको छ ।
अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले आक्रमणको पुष्टि गर्दै अनुसन्धान सुरु गरेको बताएका छन् ।
पाकिस्तानको गुप्तचर निकाय आईएसआईले यस आक्रमणको गोप्य सूचना लडाकुहरूलाई चुहाएकाले महसुद बचेको बताइएको छ । यस मिसनलाई कसले असफल बनायो भनी पाकिस्तानी सेनामा प्रश्न उठेको छ । सेनाप्रमुख फिल्ड मार्शल आसिम मुनीर यस घटनाबाट निकै आक्रोशित भएको बताइएको छ ।
महसुद सन् १९७८ को जुन २६ मा पाकिस्तानको दक्षिण वजीरिस्तानमा जन्मेका हुन् । उनी पाकिस्तानमा सर्वाधिक खोजिएका लडाकु हुन् । सन् २०१८ मा आफ्ना पूर्ववर्ती मुल्ला फजलुल्लाहको मृत्युपछि महसुदले टीटीपीको नेतृत्व सम्हालिरहेका छन् ।
तालिबानका विदेशमन्त्री आमिर खान मुत्तकीले द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाका लागि भारत भ्रमण गरिरहेको समयमा महसुदलाई काबुलमा मार्नका लागि पाकिस्तानले कारवाही चलाएको हो ।
भारत र पाकिस्तान दुवैले अफगानिस्तानमा लडाकु गतिविधि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । टीटीपीका लडाकुले अफगानी भूमि उपयोग गरी पाकिस्तानमा आक्रमण गर्ने गरेको भन्दै इस्लामाबादले आरोप लगाउँदै आएको छ । तालिबानले यस आरोपको खण्डन गर्दै आएको छ ।








प्रतिक्रिया