
एजेन्सी । चीनले दुर्लभ खनिज पदार्थ अर्थात् रेयर अर्थको निर्यातमा कडाइ गरेको छ ।
उसले विदेशका सेमीकन्डक्टर प्रयोगकर्ताहरूलाई मात्र दुर्लभ पदार्थ बेच्ने भएको छ ।
दुर्लभ पदार्थको प्रशोधनमा बन्देज लगाउने र विदेशीसँगको अनधिकृत सहकार्य रोक्ने घोषणा पनि उसले गरेको छ ।
गत अप्रिल महिनामा चीनले दुर्लभ पदार्थ निर्यातमा व्यापक नियन्त्रण गरेपछि संसारभरि त्यसको अभाव भएको थियो । युरोप र अमेरिकाले चीनसँग सम्झौता गरेपछि बल्ल निर्यात खुकुलो बनाइएको थियो ।
संसारभरि उत्पादन हुने खनिज पदार्थमध्ये चीनले ६० प्रतिशत भाग ओगटेको छ । प्रशोधित र स्थायी चुम्बक उत्पादनको ९० प्रतिशत भाग चीनले ओगटेको छ । विद्युतीय गाडीदेखि विमानका इन्जिन र सैन्य रेडारसम्ममा रेयर अर्थ्सको उपयोग हुन्छ ।
दुर्लभ पदार्थ चुम्बक बनाउने प्रविधिको निर्यातमा बन्देजलाई थप अन्य प्रकारका चुम्बकको हकमा पनि लागू गरिएको छ । दुर्लभ पदार्थलाई रिसाइकल गर्नका लागि उपयोग हुने उपकरण निर्यातको लाइसेन्स लिनुपर्ने भएको छ ।
विदेशमा रहेका उत्पादकहरूले चिनियाँ अवयव वा यन्त्रहरू उपयोग गर्नका लागि पनि लाइसेन्स लिनुपर्ने चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।
चीनले विदेशी हतियार कम्पनीहरूलाई दुर्लभ पदार्थको अनुमतिपत्र दिने छैन । अत्याधुनिक सेमीकन्डक्टरसँग सम्बन्धित निवेदनहरूलाई पनि छानेर मात्र अनुमति दिइनेछ ।
विदेशमा रहेका चिनियाँ कम्पनीहरूलाई पनि मन्त्रालयको स्वीकृति नलिइकन विदेशी कम्पनीहरूसँग मिलेर दुर्लभ पदार्थमा काम गर्न रोक लगाइएको छ ।








प्रतिक्रिया