
काठमाडौं । सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
बिहीबार बजार खुलेको केही मिनेटमा नै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०२.४१ अंक अर्थात् ४ प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक लागेको हो ।
नेप्से १०२ अंकले बढेर २६६२ बिन्दुमा पुगेको छ । कारोबार खुलेको पहिलो एक घण्टाभित्र बजार परिसूचक नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा सर्किट लाग्ने व्यवस्था छ ।
बिहीबार कारोबार खुलेको चौथो मिनेटमा नै चार प्रतिशतले नेप्से बढेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ ।
कारोबार खुलेको दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटेमा वा बढेमा ४० मिनेटका लागि कारोबार रोकिने व्यवस्था छ । त्यस्तै, ६ प्रतिशतले बजार घटेमा वा बढेमा भने सो दिनका लागि बजार बन्द हुन्छ ।
बुधबार मात्रै नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा रहेको २५ करोडको सीमा खारेज गरेको थियो । राष्ट्र बैंकले सेयर धितो कर्जामा एक बैंकबाट ४ करोड र सबै बैंकबाट १२ करोडको कर्जा सीमा तोकेर पछि त्यसमा संशोधन गर्दै एकै बैंकबाट १२ करोड लिन सक्ने व्यवस्था पनि गरेको थियो ।
पछि संस्थागतको सीमा बढाउँदै खारेज गर्यो भने व्यक्तिगतर्फ २५ करोडको सीमा राखेकोमा बुधबार त्यसलाई पनि खारेज गरेको हो ।
यस्तै बैंक तथा वित्तिय संस्थाले पनि सेयर कारोबार गर्न सक्ने व्यवस्थामा केही लचकता अपनाएको छ । यसअघि १ वर्ष वा सोभन्दा बढी अवधिको लागि मात्रै सेयर वा ऋणपत्रमा लगानी गर्न पाइने व्यवस्थामा केही लचिलो बनेको हो ।
अब बैंकहरूले पनि ६ महिना वा सोभन्दा बढी अवधिको लागि सेयर र ऋणपत्रको दोस्रो बजारमा पनि लगानी गर्न सक्ने भएका छन् ।
यसरी गरेको लगानी ६ महिन भन्दा बढीको भएपछि एकसाथ जति पनि बिक्री गर्न पाउने भएका छन् । यसअघि १ वर्ष पुगेपछि पनि प्राथमिक पुँजीको २० प्रतिशत मात्रै बेच्न पाउने व्यवस्था थियो ।
जसले बैंकहरूसँग अधिक तरलता भएको अवस्थामा पनि सेयर कारोबार गर्न पाएका थिएनन् । तर, अब भने ६ महिना वा सो भन्दा बढी अवधि होल्ड गर्ने गरी बैंकहरूले पनि सेयर ट्रेडिङ गर्न पाउने व्यवस्था गरिएको छ ।








प्रतिक्रिया