गाजा युद्धविराम तथा बन्दी रिहाइका विषयमा इजरायल र हमासबीच सहमति

245
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गाजामा युद्धविरामका लागि राखेको प्रस्तावमा इजरायल र हमासबीच सहमति बनेको बताएका छन् ।

शान्ति योजनाको पहिलो चरणमा इजरायल र हमासले सहमति जनाएका हुन् । हमासले बनाएका सबै बन्दीहरू छिटै रिहा गरिने र इजरायलले निश्चित सीमारेखामा सैनिकहरू राख्ने जानकारी पनि ट्रम्पले दिएका छन् ।

सहमतिको मध्यस्थता गरेको कतारले यसको विस्तृत विवरण पछि दिइने जनाएको छ ।

इजरायल र हमासबीचको सहमतिका कारण खुशी भएका ट्रम्पले केही दिनमै पश्चिम एसियाको भ्रमण गर्न सक्ने सम्भावना छ ।

ट्रम्पको शान्ति योजनाको पहिलो चरणमा युद्धविरामका साथै गाजामा बन्दी बनाइएका ४८ जनाको रिहाइको व्यवस्था छ ।

हमासले बन्दी बनाएका मानिसको रिहाइको बदलामा इजरायलको जेलमा कैद प्यालेस्टाइनीहरूलाई रिहा गरिनेछ ।

हमासले रिहा गर्नुपर्ने कैदीहरूको सूची सुम्पेको छ ।

इजिप्टमा चलेको सम्झौता वार्ताले युद्ध अन्त्य गर्न र बन्दी साटासाट गर्नका लागि सकारात्मक वातावरण निर्माण गरेको वार्ताकारहरूले बताएका छन् ।