बुर्किना फासोमा आईएनजीओमाथि लगाम, गुप्तचरी गरेको आरोपमा ८ जना पक्राउ

280
Shares

एजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासोको सैन्य सरकारले युरोपेली आईएनजीओमा काम गर्ने आठजनालाई गुप्तचरी र देशद्रोहको आरोपमा पक्राउ गरेको छ ।

नेदरल्यान्डमा रहेको इन्टरनेशनल एनजीओ सेफ्टी अर्गनाइजेशन नामक संस्थाका लागि काम गर्ने आठजनालाई पक्राउ गरिएको बुर्किना फासोका सुरक्षामन्त्री माहामादु सानाले बताए । त्यो आईएनजीओ मानवीय सुरक्षाको क्षेत्रमा काम गर्छ ।

पक्राउ पर्नेमा एक फ्रान्सेली पुरुष, फ्रान्सेली–सेनेगली महिला, चेक पुरुष, मालीका पुरुष र बुर्कना फासोका चार नागरिक रहेका छन् । त्यस संस्थालाई तीन महिनाका लागि प्रतिबन्ध लगाइएको भए पनि कर्मचारीहरूले आधिकारिक स्वीकृति विना नै संवेदनशील डेटा संकलन गरिरहेको आरोप छ ।

आईएनएसओका कतिपय कर्मचारीले गोप्य रूपमा सूचना संकलन गरिरहेको र सशरीर तथा भर्चुअल बैठक पनि गरिरहेको बताइएको छ । संस्थाका कन्ट्री डाइरेक्टरलाई विगतमा पक्राउ गरिएको थियो । उनले पनि गोप्य सूचना संकलन गरिरहेका थिए ।

संस्थाका कर्मचारीहरूले बुर्किना फासोको राष्ट्रिय सुरक्षा र स्वार्थमा हानि गर्न सक्ने संवेदनशील सुरक्षा सूचना विदेशीहरूलाई दिएको आरोप छ ।

द हेगमा केन्द्रीय कार्यालयमा रहेको संस्थाले मंगलवार विज्ञप्ति जारी गर्दै बुर्किना फासोमा आफूहरूले गरेको गतिविधिका विषयमा लगाइएका सबै आरोपहरू खारेज गरेको छ ।

आफूहरूले मानवीय सहायता सम्बन्धी सूचना मात्र संकलन गरिरहेको र त्यो गोप्य नभई सार्वजनिक सूचना मात्र भएको आईएनएसओको भनाइ छ ।

सन् २०२२ मा कू गरेपति बुर्किना फासोको सैन्य सरकारले उपनिवेशवादी शासक फ्रान्ससँग दूरी बढाएको छ । उसका छिमेकी माली र नाइजर पनि क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनहरूबाट बाहिरिएका छन् । उनीहरूले अलायन्स अफ सेहल स्टेट्स नामक खेमा बनाएका छन् ।