२६ सय रुपैयाँ तोलाले बढ्यो सुनको मूल्य, अहिलेसम्मकै सबैभन्दा महँगो बन्दा कति पुग्यो ?

483
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले बुधबार पनि नयाँ रेकर्ड राखेको छ ।

दशैंपछि खुलेको ३ दिन लगातार रेकर्ड तोडेको सुनले बुधबार अर्को रेकर्ड राखेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २ हजार ६ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार २ लाख ३८ हजार रुपैयाँ तोला तोकिएको महासंघले जनाएको छ ।

यसअघि सोमबार सुन प्रतितोला २५ सयले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ थियो । आइतबार पनि सुनको मूल्य ७ हजार ४ सय रुपैयाँले बढेर रेकर्ड राखेको थियो ।

सुनको मूल्य बढ्दा बुधबार चाँदीको मूल्य भने केही घटेको छ । मंगलबार २९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ सस्तो बन्दै २९५५ रुपैयाँमा कारोबार भइरहेको छ।