
एजेन्सी । इक्वेडरका राष्ट्रपति डेनियल नोबोआको कारमा भीडले ढुंगा प्रहार गरिएको छ ।
राष्ट्रपतिको गाडीमा गोलीको निशाना पनि देखिएपछि शीर्ष मन्त्रीले त्यसलाई हत्याको प्रयासका रूपमा वर्णन गरेका छन् ।
वातावरण तथा ऊर्जामन्त्री इनेस मानजानोले राष्ट्रपतिको ज्यान मार्ने प्रयास गरिएको भन्दै जाहेरी दर्ता गरेका छन् । करिब ५०० प्रदर्शनकारीले नोबोआको गाडीमा ढुंगा हानेकोमा पाँचजनालाई पक्राउ गरिएको छ ।
पक्राउ परिएका व्यक्तिलाई आतंकवाद र ज्यान मार्ने उद्योगको अभियोग लगाइएको छ ।
नोबोआले इन्धनमा दिँदै आएको छुटलाई हटाउने निर्णय गरेपछि जनता आक्रोशित भएका हुन् ।
घटनास्थलबाट ७७ किलोमिटर दक्षिणमा रहेको कुएन्कामा पुगेर नोबोआले यस्ता कार्यलाई नसहने बताए ।
राष्ट्रपतिको गाडीमा गोली हान्ने, ढुंगा प्रहार गर्ने र सरकारी सम्पत्तिमा क्षति गर्ने काम फौजदारी अपराध हो र आफूहरूले त्यसको अनुमति नदिने उनको भनाइ छ ।
तर, राष्ट्रिय आदिवासी महासंघ कोनाईएले नोबोआको स्वागतको तयारी गर्ने मानिसहरूलाई तारो बनाएको र त्यसक्रममा प्रहरी तथा सेनाले वृद्धवृद्धालाई समेत नछोडिकन ज्यादती गरेको आरोप लगाएको छ ।
कोनाईएले १६ दिनअघि हडतालको घोषणा गरेको हो । उसले जुलुस निकाल्ने र सडकमा अवरोध गर्ने काम गर्दै आएको छ । सरकारले छुटमा दिँदै आएको इन्धन रोकिदिँदा साना किसान तथा आदिवासी समुदायलाई जीवनयापन गर्न गाह्रो भएको छ । आलोचकहरूले संवादमार्फत समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।
गत सेप्टेम्बर महिनामा नोबोआले छुट हटाउने निर्देशन जारी गरेका थिए । सरकारले कानूनव्यवस्था कायम गर्नका लागि कतिपय प्रान्तमा संकटकाल लगाएको छ ।
छुट हटाउने निर्णयलाई प्रतिरक्षा गर्दै सरकारले त्यसो गर्दा वर्षको १.१ अर्ब डलर जोगिने र त्यो रकम साना किसान तथा यातायातकर्मीलाई क्षतिपूर्तिका रूपमा बाँडिने जनाएको छ ।








प्रतिक्रिया