
एजेन्सी । भारतको गुजरातमा रहेको सर क्रीक क्षेत्रमा पाकिस्तानले कुनै किसिमको आक्रामकता देखाएमा भारतले कठोर प्रतिक्रिया जनाउने भारतका रक्षामन्त्री राजनाथ सिंहले चेतावनी दिएका छन् ।
भुजमा रहेको एक सैन्य अड्डामा पुगेर सिंहले यस्तो टिप्पणी गरेका हुन् ।
भारतको प्रतिक्रियाले इतिहास र भूगोलमा समेत परिवर्तन गर्न सक्ने सिंहको भनाइ छ ।
गुजरातको कच्छस्थित रन र पाकिस्तानको बीचमा रहेको सर क्रीक ९६ किलोमिटर लामो टाइडल एस्टुएरी (नदी र समुद्रको संगमस्थल) हो । त्यसमा सीमा निर्धारण गर्ने विषयमा भारत र पाकिस्तानबीच लामो समयदेखि विवाद चलिआएको छ ।
पाकिस्तानले सम्पूर्ण सर क्रीक क्षेत्रमाथि दाबी गरिरहेको छ भने भारतले यस क्षेत्रको बीचमा सीमा निर्धारण गरेको छ ।
अपरेशन सिन्दूरपछि पाकिस्तानले त्यस विवादित क्षेत्रमा बंकर, रेडार र फर्वार्ड बेसहरू बनाएको छ । त्यहाँबाट उसले ड्रोन आक्रमण र पैदल सेना कारवाही चलाउन सक्छ ।
पाकिस्तानले आफूविरुद्ध कुनै सैन्य गतिविधि नगरोस् भनी भारतले त्यहाँ भारी सैन्य उपस्थिति जनाएको छ ।
रणनीतिक महत्त्वका अलावा सर क्रीकको आर्थिक महत्त्व पनि छ । त्यसले गर्दा पनि सीमाविवाद हल हुन नसकेको हो ।
त्यस क्षेत्रमा तेल र ग्यासको भण्डार छ र त्यसको अहिलेसम्म दोहन गर्न सकिएको छैन । दुवै देशले त्यसमा आँखा लगाइरहेका छन् । भारतले रुसको विकल्पमा सस्तो तेलको खोजी गरिरहेको अवस्थामा नयाँ स्रोत गुमाउन चाहेको छैन ।
क्रीकमा माछा पनि प्रशस्त पाइने भएकाले गुजरात र सिन्धका माझीहरूको जीवनयापन यसैबाट हुन्छ । स्पष्ट सीमारेखा नकोरिँदा झुक्केर अर्को क्षेत्रमा पुग्ने माझीहरू पक्राउ पर्ने गरेका छन् ।
पाकिस्तानले सर क्रीकमा सैन्य कारवाही गरेमा भारत उसको भूमिभित्रै पस्न सक्ने चेतावनी रक्षामन्त्री सिंहले दिएका छन् । सन् १९६५ को युद्धमा भारतीय सेना लाहोर पुगेको स्मरण गराउँदै सिंहले क्रीकको बाटो भएर कराँची पुग्न सकिने बताए ।
दुवै देश बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७८ वर्ष पुगिसकेको भए पनि सर क्रीकमा सीमाविवाद कायम छ । भारतले यसलाई संवादमार्फत हल गर्न निरन्तर प्रयास गरेको तर पाकिस्तानको उद्देश्य त्रुटिपूर्ण र अस्पष्ट रहेको सिंहको भनाइ छ । सर क्रीक क्षेत्र नजिक सैन्य पूर्वाधार बनाएर पाकिस्तानले आफ्नो सैन्य रणनीतिको खुलासा गरेको पनि सिंहले बताए ।







प्रतिक्रिया