
एजेन्सी । थाइल्यान्डका नयाँ पर्यटनमन्त्री अर्थाकोर्न सिरिलत्तायाकोर्नले पर्यटकहरूबाट करका रूपमा ३०० भाट उठाउने योजना सार्वजनिक गरेका छन् ।
सन् २०२० मा पहिलोपटक प्रस्ताव गरिएको यो योजनालाई कार्यान्वयन गरिएको थिएन । थाइल्यान्ड पुग्ने सबै पर्यटकबाट यो कर उठाइनेछ र यसबाट जम्मा भएको रकम पर्यटक बीमा तथा पर्यटन पूर्वाधारमा खर्च गरिनेछ ।
विमानबाट आएका पर्यटकसँग प्रतिव्यक्ति ३०० भाट र जमिन वा समुद्रबाट आउने पर्यटकसँग १५० भाट उठाइनेछ ।
बैंकक पोस्टका अनुसार, उठाइएको करबाट पर्यटकलाई नै फाइदा पुग्ने पर्यटनमन्त्री सिरिलत्तायाकोर्नले बताएका छन् ।
पर्यटकहरूले थाइल्यान्डमा खर्च गरून् भनी नयाँ अभियानहरूको योजना पनि बनाइएको छ । आन्तरिक पर्यटन प्रवर्धनका लागि १.७६ अर्ब भाटको बजेट छुट्याइएको छ ।
थाइल्यान्डले सन् २०२५ मा करिब ३ करोड ३४ पर्यटक आउने अपेक्षा गरेको छ । प्रवर्धनात्मक अभियान र सुरक्षा उपायका कारण थाइल्यान्डमा वर्षको ४ करोड पर्यटक भित्रिने अपेक्षा सरकारले गरेको छ ।







प्रतिक्रिया