
एजेन्सी । भारतका प्रधानन्यायाधीश बीआर गवईमाथि ७१ वर्षीय वकिलले सर्वोच्च अदालतमा जुत्ता प्रहार गरेका छन् ।
राकेश किशोर नाम गरेका ती वकिलले कोर्ट नम्बर १ मा सुनुवाइ चलिरहेकै बेलामा आफ्नो स्पोर्ट्स जुत्ता खोलेर प्रहार गरेका थिए ।
दिल्ली प्रहरीले अदालतमा पुगेर अनुसन्धान गरिरहेको छ ।
किशोरलाई प्रहरीले पक्राउ गरी अदालतको सुरक्षा इकाइलाई बुझाएको बताइएको छ । उनी मयूर विहार क्षेत्रमा बस्ने गरेको र सर्वोच्च अदालतको बार एसोसिएसनको सदस्य भएको बताइएको छ ।
मध्य प्रदेशको खजुराहो मन्दिर परिसरमा भगवान् विष्णुको प्रतिमा पुनः राख्नका लागि दायर गरिएको मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीशले गरेको टिप्पणीबाट ती वकिल असन्तुष्ट रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
दिल्ली प्रहरीले सर्वोच्च अदालतका रजिस्ट्रार जनरलसँगको समन्वयमा घटनाको अनुसन्धान गरिरहेको र कानूनी कारवाहीको तयारी गरेको दिल्ली प्रहरीका एक अधिकृतले बताए ।
प्रधानन्यायाधीश गवईलाई जेड प्लस सुरक्षा दिइएको छ । दिल्ली प्रहरीको सुरक्षा विभागले नै उक्त सुरक्षा उपलब्ध गराइरहेको छ ।
न्यायाधीश के विनोद चन्द्रनसँगको संयुक्त इजलासमा सुनुवाइ गर्ने क्रममा प्रधानन्यायाधीश गवईले गत सेप्टेम्बर १६ मा छुद्र टिप्पणी गरेका थिए । खजुराहो मन्दिर परिसरमा रहेको जावरी मन्दिरमा ७ फीट अग्लो भगवान् विष्णुको प्रतिमालाई पुनर्निर्माण गर्नका लागि दायर भएको मुद्दालाई खारेज गर्ने फैसलाका क्रममा प्रधानन्यायाधीशले टिप्पणी गरेका थिए ।
‘यो विशुद्ध रूपमा पब्लिसिटी पाउनका लागि गरिएको निवेदन हो । गएर देउतालाई सोध्नू, आफैं केही गर्छन् कि ? तपाईं भगवान् विष्णुको परम भक्त हो भने प्रार्थना गर्नुस् र ध्यान पनि गर्नुस्,’ प्रधानन्यायाधीश गवईले निवेदकलाई भनेका थिए ।
पछि गवईले आफू सबै धर्मलाई सम्मान गर्ने बताए । आर्कियोलोजिकल सर्भे अफ इन्डियाले मन्दिरमा क्षेत्राधिकार राख्ने सन्दर्भमा आफूले टिप्पणी गरेको उनको भनाइ छ ।








प्रतिक्रिया