इलाममा मृतकको संख्या २८ पुग्यो, ५ सय ३५ जनाको उद्धार


विराटनगर । इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । पहिरोले इलाममा मात्र तिन दर्जन बढीको मुत्यु भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।

प्रदेश प्रहरीका अनुसार इलाममा अझै डेढ दर्जन बढी बेपत्ता भएका छन । त्यहाँ मात्र तिन दर्जन भन्दा वढीले ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

त्यसैगरी उदयपुरमा २ र खोटाङमा १ एक जना खोलाले बगाएर मृत्यु भएको प्रदेश प्रहरीको तथ्याङक छ ।

प्रतिकुल मौसमका कारण प्रहरी इलामका सम्बन्धीत घटना स्थलमा पुग्न नसक्दा वास्तविक तथ्याङ संकलन हुन सकेको छैन । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार माङसेबुङका पहिरो पिडितको उद्धारका लागि हेलिकप्टर मगाएपनि बस्न नसक्दा समस्या भएको छ ।

उनकाअनुसार इलाममा ठुलो मानविय क्षति भाएको कुरा आएको छ । तर भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण प्रहरी घटना स्थल पुग्न नसक्दा क्षतिको वास्तविक विवरण आउन सकेको छैन ।

शनिबार राति गएको पहिरोमा परी इलाम नगरपालिका–६ घोसमा मात्रै एकै परिवारका ६ जनाको ज्यान गएको छ ।

त्यसैगरी देउमाई नगरपालिका–५ धुसेनीमा २, धारेमा १, सन्दकपुर गाउँपालिका–१ छाँगेमा १, माइजोगमाई गाउँपालिका–५ प्याङमा ८, माङसेबुङ गाउँपालिका–१ पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका–१ रातमाटेमा १ र सूर्योदय–१ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका बेपत्ता भएकी छन् । त्यसैगरी माङ्सेबुङ गाउँपालिकामा २ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर डेढ दर्जन भन्दाबढी मानिस बेपत्ता भएको प्रारम्भीक खवर आएको छ । इलामका दर्जनौ घर क्षतिग्रस्त वनेका छन । कोशी प्रदेशका सबै जिल्लाबाट गरी ५ सय ३५ जनाको उद्धार गरिएको छ ।