गृहमन्त्रालयद्वारा सिडिओ र सुरक्षा प्रमुखलाई २४ सै घण्टा कार्यालयमा बस्न र उद्धार खटिन निर्देशन

0
Shares

काठमाडौं । गृह मन्त्रालयले प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै देशभरका सबै जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई २४ सैं घण्टा कार्यालयमा तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै विपद्को व्यवस्थापनमा जुट्न निर्देशन दिएको छ ।

राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था अनुसार गन्तव्यसम्म पुर्‍याउने सहजीकरण गर्ने र आवश्यकता अनुसार यात्रुहरुलाई स्थानीय तह तथा संघसंस्थाहरुसँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन समन्वय गर्न पनि निर्देशन दिएको छ ।

राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित रुपमा गन्त्व्यसम्म पुग्न सहयोग गर्न र बाटोमा अलपत्र परेका गर्भवती महिलाहरुको हकमा नजिकको बर्थिङ सेन्टरसम्म पुर्‍याउने व्यवस्था मिलाउन पनि गृहले निर्देशन दिएको छ ।

बाढी, पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन पनि भनिएको छ ।