
एजेन्सी । चिनियाँ वैज्ञानिकहरूले भाँचिएको हड्डी जम्मा तीन मिनेटमा जोडिने अद्वितीय ग्लु बनाएका छन् ।
भाँचिएको हाड जोडिन महिनौं लाग्ने भए पनि बोन–०२ नामक ग्लुले केही मिनेटमै जोडिदिने चिनियाँ वैज्ञानिकहरूले दाबी गरेको ग्लोबल टाइम्सले समाचार दिएको छ ।
हाङ्चाउमा रहेको सर रुन रुन श अस्पतालमा अर्थोपेडिक सर्जन लिन स्यानफङले यो ग्लु लगाउँदा जस्तो हाड पनि एकैछिनमा जोडिने बताए ।
एउटा इन्जेक्शनबाट ग्लु छिराएपछि भाँचिएको हाड तीन मिनेटमै जोडिन्छ ।
हातको हाड भाँचिएका एक बिरामीलाई जम्मा ३ सेन्टीमिटर प्वाल पारेर इन्जेक्शनबाट ग्लु लगाउँदा जम्मा तीन मिनेटमा जोडिएको चो सुन डेली पत्रिकाले लेखेको छ ।
सामान्यतया हाड भाँचिदा मेटलको प्लेट र स्क्रु लगाएर जोड्नुपर्छ र एक वर्षपछि अर्को सर्जरी गरेर हटाउनुपर्ने हुन्छ ।
तर, ग्लु लगाएका बिरामीले तीन महिनापछि फलोअपमा जाँदा हाड पूरै जोडिएको थियो र कुनै समस्या भएको थिएन ।
बोन–०२ ले हाड जोडेपछि त्यो ग्लु आफैं शरीरमा सोसिन्छ । त्यसो हुँदा अर्को सर्जरी गरिरहनै पर्दैन ।
हाड भाँचिएर मेटल प्लेट लगाउनुपर्दा संक्रमण फैलिने खतरा हुन्छ तर हाडको ग्लुले यसलाई रोक्छ ।








प्रतिक्रिया