एन आई सी एशिया बैंकको सञ्चालन मुनाफा २५ प्रतिशतले बढ्यो
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७४/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानीअघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको छ । बैंकले गत वर्षको सोही अवधिको ८९ करोड रुपैयाँ मुनाफाको तुलनामा चालु वर्ष १.१२ अर्ब रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोवारमार्फत आर्जन गरेको मुनाफा तथा उक्त मुनाफाको स्वस्थ वृद्धिले संस्थाको दीर्घकालीनात्मक सञ्चालनको प्रत्याभूति प्रतिबिम्बित गर्दछ ।
साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्दछ । गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य फिर्ता ३२.८३ करोड रुपैयाँ भएको हुनाले ७२.१४ करोड रुपैयाँ खुद मुनाफा भएकोमा चालु आ.व. को दोस्रो त्रैमासिकमा बैंकले ५७.१७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्ने सफल भएको छ । चालु आ.व. मा बैंकको सञ्चालन मुनाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा ३६ करोड रुपैयाँको वृद्धिका वावजुद पनि बैंकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक रहेको छ । बैंकको १४० अर्ब रुपैयाँ बराबरको वासलात आकार तथा खुद व्याजदर अन्तर ९ल्क्ष्ः० मा निरन्तर सुधारका कारण बैंकले आगामी त्रैमासिकहरुमा मुनाफामा उत्साहजनक वृद्धि हासिल गर्ने अपेक्षा गरेको छ ।
वार्षिक विन्दुका आधारमा बैंकले आफ्नो कर्जामा ३५ अर्ब रुपैयाँबाट १०२.२० अर्ब रुपैयाँ तथा निक्षेपतर्फ ४१.४० अर्ब रुपैयाँबाट १२०.४६ अर्ब रुपैयाँको वृद्धि हासिल गरेको छ, जुन नेपाली बैंकिङ्ग ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुका आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो ।
बैंकको चुस्त कर्जा असुली प्रणाली तथा अभ्यासका कारण गत वर्ष ०.७२ प्रतिशत रहेको खराब कर्जामा उल्लेख्य सुधार आई यस वर्ष ०.२६ प्रतिशत कायम राख्न सफल भएको छ । साथै, बैंककोे पूँजी पर्याप्तता अनुपात १३.५९ प्रतिशत रहेको छ । पूँजी पर्याप्तता अनुपात बढी हुनाले निक्षेपकर्ताको निक्षेप सुरक्षित छ भन्ने सकारात्मक सन्देश जानुका साथै आर्थिक रुपमा आउन सक्ने अकल्पनीय तथा अनुपक्षेपित समस्या तथा परिस्थितिहरु सामना गर्न समेत बैंक सबल रहेको मान्न सकिन्छ तथा बैंक थप व्यवसाय वृद्धि गर्न सक्ने क्षमतालाई दर्शाउँछ ।
बैंकको कर्जा तथा निक्षेप अनुपात ७८.१९ प्रतिशत रहेको छ, जुन नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको ८० प्रतिशत सिमा भित्र रहेको छ ।