माछापुच्छ्रे बैंकको लाभांश पारित, दशैंअघि नै लगानीकर्ताको खातामा पठाउने

70
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले सञ्चालक समितिले प्रस्ताव गरेको ८ प्रतिशत लाभांश प्रताव पारित गर्दै २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  २०८२ असोज १० गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न साधारणसभाबाट बैंकले लाभांश प्रस्तावका साथै  बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको हो।

 बैंकले आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो  । जसमध्ये, चुक्तापुँजीको ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

माछापुच्छ्रे बैंकले सबैभन्दा पहिले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरी वार्षिक साधारण सभाले पारित गरी लाभांश वितरण गर्न सफल भएको छ ।  बैंकको साधारणसभाबाट पारित भएको उक्त नगद लाभांश दशै अगाडि नै सम्बन्धित सेयरधनीको खातामा पठाइसक्ने जनाएको छ । बोनस सेयर वितरण पश्चात बैंकको कुल चुक्ता पुँजी १२ अर्व ८ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८८ करोड रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १६ रुपैया २१ पैसा कायम गरेको थियो ।