
काठमाडौं । बिलिङ प्रणालीको समस्या कारण अवरुद्ध नेपाल टेलिकमको मोबाइल डाटा करिब ३ घण्टापछि चल्न थालेको छ । नेपाल टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रका अनुसार विहान करिब ८ बजेदेखि अवरुद्ध टेलिकमके मोबाइल डाटा रिस्टाेर भएर पुन सेवा सुचारु भएको जानकारी दिए ।
टेलिकमका अनुसार प्राविधिक समस्याका कारण विहान केहीसमय मोबाइल कलसमेत अवरुद्ध भएको भएपनि प्राविधिक रुपमा त्यसको समाधान तत्कालै भयो भने डाटाको समस्या समाधान गर्न भने करिब ३ घण्टा लाग्यो ।
टेलिकमको विलिङ प्रणालीमा पटक पटक देखिएको समस्याका कारण मोबाइल डाटा नचल्ने समय टेलिकमको लागि टाउको दुखाइको विषय बनेको छ ।
टेलिकमको बिलिङ प्रणाली खरिद ठेक्का भने पटक पटक रोकिदै आएको छ । टेलिकमले प्राविधिक रूपमा योग्य ठहरिएको चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजिजले प्रस्ताव गरेको मूल्य खोल्ने मिति स्थगित गरेसँगै विलिङको ठेक्का पछिल्लो पटक असोज ८ गते बुधबार मात्रै पनि स्थगन भएको सूचना सार्वजनिक भएको छ ।
टेलिकमले अर्को सूचना जारी नभएसम्मका लागि मूल्य खोल्ने मिति पुनः स्थगित गरेको टेलिकमले एक सार्वजनिक सूचना जारी गरेर जानकारी दिएको छ ।
१५ भदौमा टेलिकमले ह्वावे मात्र प्राविधिक रूपमा योग्य ठहरिएको भन्दै ३० भदौमा मूल्य खोल्ने निर्णय गरेको थियो । सो मितिमा चर्किएको जेनजी आन्दोलनका कारण ठेक्का खोल्न नसकेकाे भनेकाे छ ।
टेलिकमले १८ मार्च २०२५ मा आह्वान गरेको ठेक्कामा ह्वावे र ह्लेल क्लाउडले मात्र प्रस्ताव पेस गरेका थिए । यसमध्ये ह्वावेलाई मात्रै प्राविधिक रूपमा योग्य ठहर्याइएको थियो ।
हाल टेलिकमको बिलिङ प्रणाली एसिया इन्फोले सञ्चालन गर्दै आएको छ । प्रणाली पुरानो भएकाले पटक–पटक सेवा अवरुद्ध हुने गरेको भन्दै टेलिकमले नयाँ ठेक्का गर्न चाहेको हो ।







प्रतिक्रिया