
काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद ठेक्का फेरि रोकिएको छ । टेलिकमले प्राविधिक रूपमा योग्य ठहरिएको चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजिजले प्रस्ताव गरेको मूल्य खोल्ने मिति स्थगित गरेसँगै विलिङको ठेक्का फेरि रोकिएको हो ।
जेनजी आन्दोलनका कारण बुधबार प्रस्तावित मूल्य खोल्ने भनिएको मिति पहिले नै सारिएको थियो । तर, टेलिकमले अर्को सूचना जारी नभएसम्मका लागि मूल्य खोल्ने मिति पुनः स्थगित गरेको टेलिकमले एक सार्वजनिक सूचना जारी गरेर जानकारी दिएको छ ।
१५ भदौमा टेलिकमले ह्वावे मात्र प्राविधिक रूपमा योग्य ठहरिएको भन्दै ३० भदौमा मूल्य खोल्ने निर्णय गरेको थियो । सो मितिमा चर्किएको जेनजी आन्दोलनका कारण ठेक्का खोल्न सकेन् ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि आएको नयाँ सरकारले थप प्रक्रिया बुझ्न र आवश्यक जानकारी लिन केही समय पर्खन गरेको आग्रह अनुसार टेलिकमले बिलिङको ठेक्का दिने काम रोकेको उल्लेख छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नियुक्त भएसँगै टेलिकमले विवादित बिलिङ ठेक्का अघि बढाउने इच्छा तत्कालै नदेखाएका कारण ठेक्का खोल्ने मिति अर्को सूचना जारी नभएसम्मको लागि सार्नुपरेको टेलिकमले जानकारी दिएको छ ।
टेलिकमले १८ मार्च २०२५ मा आह्वान गरेको ठेक्कामा ह्वावे र ह्लेल क्लाउडले मात्र प्रस्ताव पेस गरेका थिए । यसमध्ये ह्वावेलाई मात्रै प्राविधिक रूपमा योग्य ठहर्याइएको छ ।
हाल टेलिकमको बिलिङ प्रणाली एसिया इन्फोले सञ्चालन गर्दै आएको छ । प्रणाली पुरानो भएकाले पटक–पटक सेवा अवरुद्ध हुने गरेको भन्दै टेलिकमले नयाँ ठेक्का गर्न चाहेको हो ।
गत २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद (मर्मतसम्भारसम्बन्धी टेन्डर)मा अनियमितता भएको भन्दै विशेष अदालमा मुद्दा दायर गरेसँगै यो विषय थप पेचिलो बनेको हो । यो मुद्दामा टेलिकमकै प्रवन्ध निर्देशकसङ्गीता पहाडी अर्यालसहितका कर्मचारीलाई भ्रष्टासार मुद्दा लागेको छ ।







प्रतिक्रिया