बिलिङ प्रणालीको समस्याले टेलिकमको मोबाइल डाटा ठप्प

196
Shares

काठमाडौं । बिलिङ प्रणालीको समस्या कारण टेलिकमको मोबाइल डाटा पछिल्लो साढे २ घण्टादेखि ठप्प भएको छ । विहान करिब ८ बजेदेखि दिएको समस्या साढे १० बजेसम्मपनि समाधान भएको छैन ।

टेलिकमका अनुसार प्राविधिक समस्या साधान गर्ने प्रयास भइरहेको छ । विहान केहीसमय मोबाइल कलसमेत अवरुद्ध भएको भएपनि प्राविधिक रुपमा त्यसको समाधान तत्कालै भइहाले पनि डाटाको समस्या समाधान भनेभइसकेको छैन ।

टेलिकमको विलिङ प्रणालीमा पटक पटक देखिएको समस्याका कारण मोबाइल डाटा नचल्ने समय भएको हो । टेलिकमका अनुसार छिट्टै समस्याको समाधान गर्ने गरी प्राविधिक टिमले काम गरिरहेका छन् ।

टेलिकमको बिलिङ प्रणाली खरिद ठेक्का भने पटक पटक रोकिदै आएको छ । टेलिकमले प्राविधिक रूपमा योग्य ठहरिएको चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजिजले प्रस्ताव गरेको मूल्य खोल्ने मिति स्थगित गरेसँगै विलिङको ठेक्का पछिल्लो पटक असोज ८ गते बुधबार मात्रै पनि स्थगन भएको सूचना सार्वजनिक भएको छ ।

टेलिकमले अर्को सूचना जारी नभएसम्मका लागि मूल्य खोल्ने मिति पुनः स्थगित गरेको टेलिकमले एक सार्वजनिक सूचना जारी गरेर जानकारी दिएको छ ।

१५ भदौमा टेलिकमले ह्वावे मात्र प्राविधिक रूपमा योग्य ठहरिएको भन्दै ३० भदौमा मूल्य खोल्ने निर्णय गरेको थियो । सो मितिमा चर्किएको जेनजी आन्दोलनका कारण ठेक्का खोल्न नसकेकाे भनेकाे छ ।

टेलिकमले १८ मार्च २०२५ मा आह्वान गरेको ठेक्कामा ह्वावे र ह्लेल क्लाउडले मात्र प्रस्ताव पेस गरेका थिए । यसमध्ये ह्वावेलाई मात्रै प्राविधिक रूपमा योग्य ठहर्‍याइएको थियो ।

हाल टेलिकमको बिलिङ प्रणाली एसिया इन्फोले सञ्चालन गर्दै आएको छ । प्रणाली पुरानो भएकाले पटक–पटक सेवा अवरुद्ध हुने गरेको भन्दै टेलिकमले नयाँ ठेक्का गर्न चाहेको हो ।