
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वमन्त्री डा. आरजु राणा देउवा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन् ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आक्रमण गर्दा देउवा दम्पती घाइते भएका थिए । प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित देउवा निवासमा कुटपिट र आगजनीसमेत गरेका थिए । घटनामा सभापति देउवाको गर्धन र गर्धनमाथि धारिलो हतियारले प्रहार हुँदा टाउकोमा टाँका लगाइएको थियो ।
देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो भने डा. राणाको पनि गर्धनमा चोट लागेको थियो । उपचारपछि हाल दुबैजनाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको र टाँका समेत खोलिएको जनाइएको छ ।
देउवा दम्पती डिस्चार्जपछि अस्थायी रूपमा ललितपुरमा बस्ने तयारीमा छन् । स्वकीय सचिव भानु देउवाका अनुसार सानेपा वा जावलाखेलतिर बस्ने कुरा भएको छ ।
डा. राणाको माइतीघर झम्सिखेलमा छ भने उनका भाइ भूषण राणाको घर जावलाखेलमा छ ।
यसअघि देउवा बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका थिए । तर, सो घर प्रदर्शनकारीले आक्रमण गरी क्षतिग्रस्त बनाइएकाले पुनःनिर्माणमा समय लाग्ने भएकाले तत्काल त्यहाँ बस्न नसक्ने र ललितपुरतिरै बस्ने तयारी भएको बताइएको छ ।










प्रतिक्रिया