
काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले साना प्रकृतिको बिमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरूत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले निजी क्षेत्रमा करिब ८० अर्बको क्षति भएको बताउँदै तीमध्ये दाबी माग आएका साना प्रकृतिको बिमा दाबी तिहारसम्म भुक्तानी गर्ने गरिसक्ने बताए ।
‘असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ कुल दाबी आएको छ । यो सरकारी सम्पत्ति बाहेक हो । निजी क्षेत्रले अनुमान गरेको ८० अर्ब क्षतिको हिसाबमा २०/२५ प्रतिशत मात्र बिमाको दायरामा आएको रहेछ,’ अध्यक्ष बैदवारले भने, ‘यसमा पनि दुई–तीन वटा ठूलो बिमा छन् । ठूलो बिमा हटाउने हो भने १२/१३ प्रतिशतमा मात्र बिमाको दायरामा आएको देखिन्छ ।’
जेन जी आन्दोलनका कारण क्षति पुगेका २४७८ वटा बिमा दाबी आवेदन परेको उनले बताए । यो दावी नेपालकै इतिहासमा सबैभन्दा ठूलो हो । यसभन्दा अघि भूकम्पको समयमा १७ अर्बको दाबी परेको थियो । गत सालको असोजमा काठमाडौं लगायत काभ्रेको रोशीको बाढीका कारण करिव १३ अर्बको दावी परेको उनले बताए ।
‘क्षति हेर्दा यो भन्दा ठूलो दाबी आउँछ भन्ने लागेको थियो । बिमा कम्पनीले भूकम्प तथा बाढीपहिरोका बिमा दाबी भुक्तानी गरेको अवस्था छ,’ अध्यक्ष वैदवारले भने, ‘धेरै बिमा भइदिएको भए हामीले उहाँहरूलाई चाँडैनै दाबी भुक्तानी गरेर रिकभरिका लागि सहयोग गर्थ्यौं ।’
अहिले बिमा माग दाबी आएकामध्ये १ हजार ७ सय दाबी साना प्रकृतिको रहेको उनले बताए । जुन बिमा माग दाबी अनुमानित ४०–५० लाख देखि २ करोड सम्मको रहेको उनले बताए । अन्य बिमा दाबी भने ठूलो प्रकृतिका रहेको उनले बताए ।
‘साना दाबी हामी दिपावलीसम्ममा भुक्तानी गर्छौैं । सरल ढंगले दाबी भुक्तानी गर्छौ,’ उनले भने, ‘हामीले यसको ड्राफ्ट प्राधिकरणमा पठाइसकेका छौं । दाबी भुक्तानी गर्न गाडी जलेको हकमा ड्राइभिङ लाइसेन्स, ब्लुबुक र प्रहरीले जलेको लेटर दिएको हुनुपर्छ । ठूला प्रकृतिका भुक्तानीलाई अग्रिम भुक्तानी दिएर पुनरुत्थानमा सहयोग गछौं ।’
बिमा कम्पनीको रिजर्भ बलियो अवस्थामा रहेकोले दाबी भुक्तानी गर्न सक्ने अध्यक्ष बैदवारले बताए । बिमा कम्पनीले २२ अर्बको दाबी भुक्तानी ‘स्पेसल रिजर्भ’ मार्फत गर्ने उनको भनाई छ । ‘बिमा कम्पनीहरुको स्पेसल रिजर्भ २७/२८ अर्ब रुपैयाँ छ । त्यसैले दाबी भुक्तानी गर्न सक्दैनन् कि भनेर आत्तिनुपर्ने अवस्था छैन । हाम्रो पछाडि पुनर्बिमा कम्पनीहरुको पनि साथ छ,’ बैदवारले भने ।







प्रतिक्रिया