ब्याजदर घट्दा डिबेन्चरको मूल्य बढ्दै, मुद्दती निक्षेपको भन्दा बढी प्रतिफलले ऋणपत्रमा आकर्षण

588
Shares

काठमाडौं । लगानीकर्ताले लगानी गर्दा जहिले पति प्रतिफल र जोखिम हेर्न गर्छ । नेपालमा निजी क्षेत्रका कम्पनीले वित्तीय स्रोत जुटाउन ऋणपत्र जस्ता औजार निष्कासन गर्ने अवस्था बनिसकेको छैन ।

बैंक तथा वित्तीय संस्थाले दीर्घकालीन लगानीको स्रोत र पुरक पूँजीको रुपमा ऋणपत्र मार्फत स्रोत जुटाउँदै आएका छन् । बैंक तथा वित्तीय संस्थाले धेरै ऋणपत्र जारी गरे पनि ऋणपत्रको कारोबार बजार भने अपेक्षित रुपमा विस्तार हुन सकेको छैन ।

पछिल्लो समय निक्षेपको ब्याजदर घट्टै जाँदा पनि ऋणपत्रप्रति लगानीकर्ताको आकर्षण केही बढेको देखिन्छ । लगानीकर्ताले प्रतिफल हेर्न भएकोले मुद्दती निक्षेपमा लगानी गर्दा न्यून ब्याजदर पाइने भएपछि प्रतिफलका हिसाबले राम्रो देखिँदा ऋणपत्रको कारोबार पनि बढ्न लागेको छ।

तीन वर्ष अघि अर्थात् २०८० साउनमा वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको भारित औसत ब्याजदर ९.९८ प्रतिशत थियो । त्यसबाट घटेर २०८१ साउनमा आईपुग्दा बैंकहरुको औसत ब्याजदर ७.९३ प्रतिशत कायम भयो । यसपछि पनि ब्याजदर घट्नेक्रम रोकिएन ।

२०८२ असारसम्म आईपुग्दा वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको भारित औसत ब्याजदर ५.७९ प्रतिशतमा सीमित भइसकेको छ । बैंकहरुको मुद्दती निक्षेपतर्फको ब्याजदर घट्दै जाँदा पुँजी बजारमा ऋणपत्र (डिबेन्चर)को मूल्य भने बढ्दै गएको छ ।

बैंकमा निक्षेप राख्नेभन्दा डिबेन्चरमा लगानी गर्दा बढी प्रतिफल प्राप्त हुने भएपछि लगानीकर्ताले आफ्नो लगानीलाई ऋणपत्रको दोस्रो बजारमा केन्द्रित गरेका छन् ।

सेयर बजार र मुद्दती निक्षेपको लगानीमा भन्दा ऋणपत्रबाट प्रात हुने प्रतिफल उच्च भएपछि ऋणपत्र पनि लगानीकर्ताको रोजाईमा पर्न लागेको हो । ब्याजदर जतिजति घट्दोक्रममा गएको छ, डिबेन्चरको मूल्य भने सोही अनुसार बढ्दै गइरहेको छ ।

मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याजभन्दा डिबेन्चरमा पाइने ब्याज बढी भएपछि लगानीकर्ताले डिबेन्चरतर्फ लगानी बढाउने गरेका छन् । सोही कारण डिबेन्चरतर्फको आकर्षण बढ्दा मूल्य पनि बढ्दै गइरहेको हो । पछिल्लो केही वर्ष यताको तथ्यांक हेर्ने हो भने पनि बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिने ब्याजदर घट्दै जाँदा डिबेन्चरको मूल्य भने बढ्दो मात्रामा रहेको देखाउँछ ।

तीन वर्ष अगाडि अर्थात् २०८० भदौ ३१ मा अधिकांश डिबेन्चरको प्रतिइकाई मूल्य दोस्रो बजारमा १ हजार रुपैयाँ भन्दा तल थियो । ०८० भदौमा सबैभन्दा बढी मूल्य ११ प्रतिशत ब्याजदरको एनआईसी एसिया डिबेन्चर ०८२/८३ को मूल्य ११४६ रुपैयाँ थियो । यस्तै, १०.२५ प्रतिशत ब्याजदरको ग्लोबल आईएमई बैंक लिमिटेड डिबेन्चर २०८०/८१ को मूल्य १०१४ रुपैयाँ र १० प्रतिशत ब्याजदरको नबिल डिबेन्चर २०८२ को मूल्य ९९४ रुपैयाँ थियो ।

२०८० भदौमा सबैभन्दा बढी मूल्य एनआईसी एसिया डिबेन्चर ०८२/८३ प्रतिइकाई ११४६ रुपैयाँमा कारोबार हुँदा ८.५ ब्याजदर भएको बैंक अफ काठमाण्डु डिबेन्चरको ७८० रुपैयाँमै किनबेच भएको थियो । २०८१ भदौमा नेप्सेमा सूचीकृत भएको अधिकांश ऋणपत्रको दोस्रो बजारको कारोबार मूल्य ७०० देखि ९०० रुपैयाँको बिमा हुँदा १००० रुपैयाँभन्दा मनथिमो मूल्यमा ४ वटा ऋणपत्र मात्रै कारोबार भएको देखिन्छ ।

१२ प्रतिशत ब्याजदर भएको गुडविल फाइनान्स डिवेञ्चर २०८३ पनि १०३६ रुपैयाँ र १२ प्रशित ब्याजदरकै आईसीएफसी फाइनान्स डिवेञ्चर २०८३ प्रतिइकाई १ हजार २१७ रुपैयाँमा दोस्रो बजारमा कारोबार भएको देखिन्छ ।

२०८१ साउनमा आउँदा १३ वटा सूचीकृत भएके ऋणपत्रको दोस्रो बजारमा कारोबार मूल्य १ हजाभन्दा तल हुँदा धेरैजसो ऋणपत्रको कारोबार मूल्य बढेर १ हजार रुपैयाँभन्दा माथि पुगेको छ । जसमध्ये केही ऋणपत्र दोस्रो बजारमा १ हजार २०० रुपैयाँभन्दा माथिको मूल्यमा कारोबार भएको देखिन्छ ।

यसर ब्याजदर घट्दै जाँदा दोस्रो बजारमा ऋणपत्रको कारोबार मूल्य भने बढ्दै गएको छ । हाल दोस्रो बजार डिबेन्चर मूल्य १ हजार ४०० रुपैयाँ भन्दा बढीसम्म पुगेको छ । २०८१ साउन र २०८२ साउन अन्तिमको डिबेन्चर मूल्यलाई तुलना गर्ने हो भने पनि पछिल्लो एक वर्षमा डिबेन्चरको मूल्य उल्लेख्य बढेको तथ्यांकले देखाउँछ ।

०८१ साउन अन्तिमको तुलनामा ०८२ साउनमा आईपुग्दा अधिकांश डिबेन्चरको मूल्य बढेको छ । ०८१ साउनबाट ०८२ साउनमा आईपुग्दा ४ वटा सूचीकृत ऋणपत्र बाहेक सबैको कारोबार मूल्य बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांकले देखाउँछ ।

गत वर्ष साउन महिनामा १०२८ रुपैयाँ मूल्य रहेको १० प्रतिशत ब्याजदरको कुमारी बैंक डिबेन्चर २०९० को मूल्य गत साउनमा ३७.१९ प्रतिशतले बढेर १४१० रुपैयाँ कायम भएको छ ।

१२ प्रतिशत ब्याजदर भएको आईसीएफसी फाइनान्स–२०८३ को मूल्य ११९६ रुपैयाँबाट ११.८५ प्रतिशतले बढेर १३३८ रुपैयाँ, ११ प्रतिशत ब्याजदर भएको एलबीबीएल डिबेन्चर–२०८९ को मूल्य ११.०९ प्रतिशतले बढेर १२२२ रुपैयाँ पुगेको छ । त्यस्तै १०.७५ प्रतिशत ब्याजदरको सिद्धार्थ बैंक–२०८९ को मूल्य १३.१८ प्रतिशतले बढेर १२४५ रुपैयाँ पुगेको छ ।

१० प्रतिशत ब्याजदरको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक डिबेन्चर–२०९० को मूल्य १३ प्रतिशतले बढेर ११६५ रुपैयाँ, १०.२५ प्रतिशत ब्याजदर भएको सिटिजन्स बैंक डिबेन्चर २०८६ को मूल्य पछिल्लो एक वर्षमा १२.८७ प्रतिशतले बढेर ११७५ रुपैयाँ र १०.२५ प्रतिशत सानिमा डिबेन्चर–२०८९ को मूल्य १३.५५ प्रतिशतले बढेर ११८१ रुपैयाँ कायम भएको छ ।

पछिल्लो एक वर्षमा १० वटा ऋणपत्रको कारोबार मूल्य १० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । साउन महिनाको औषत मूल्य हेर्दा २९ कम्पनीको मूल्य ११०० रुपैयाँ भन्दा बढी देखिन्छ भने १००० रुपैयाँ भन्दा कम मूल्य भएका २९ वटा मात्रै छन् ।

अधिकांशको कारोबार मूल्य १००० र ११०० रुपैयाँ हाराहारी रहेको छ । साउन मसान्तको तथ्यांकमा नेप्सेको कारोबार मूल्य हेर्दा सूचीकृत ७१ ऋणपत्रमध्ये ३ वटाको मात्रै कारोबार मूल्य १ हजार रुपैयाँभन्दा कम रहेको छ ।

ब्याजदर र डिबेन्चरलाई एकअर्काको विपरीत मानिन्छ । अर्थात्, ब्याजदर घट्यो भने डिबेन्चरको मूल्य बढ्छ र ब्याजदर बढ्यो भने डिबेन्चरतर्फको मूल्य घट्छ ।

यदि, कुनै डिबेन्चरले १२ प्रतिशत ब्याज दिइरहेको समयमा बैंकले १५ प्रतिशत ब्याज दियो भने मानिसले डिबेन्चर छोडेर निक्षेपमा लगानी गर्ने अवस्था आउँछ । तर, बैंकले ७ प्रतिशत मात्रै ब्याज दिइरहेको छ र डिबेन्चरबाट १२ प्रतिशत प्राप्त हुन्छ भने मानीसहरूले बैंकको पैसा डिबेन्चरमा लगानी गर्छन् । ऋणपत्र धितोपत्र बजारमा कारोबार हुने औजार पनि भएकोले मुद्दती निक्षेप भन्दा ऋणपत्रको लगानी अझै प्रभावकारी पनि मानिन्छ ।

हाल बैंकले दिने ब्याजभन्दा डिबेन्चरले दिने ब्याज बढी भएकाले डिबेन्चरको मूल्य बजारमा उच्च भएको हो । यद्यपि, मुख्यतया ब्याजदरले डिबेन्चरको मूल्य प्रभावित हुने भएपनि क्रेडिट रेटिङ (शाख मूल्यांकन) र परिपक्वता मिति, मूद्रास्फीतिजस्ता विषयले पनि डिबेन्चर मूल्यलाई असर गर्दछ ।

सेयर विश्लेषक मुक्ति अर्याल हाल ब्याजदर घटेर न्यून बिन्दुमा आएकाले डिबेन्चरतर्फको आकर्षण बढ्दै जाँदा मूल्य बढेको बताउँछन् ।

‘यदि, कुनै डिबेन्चरले १२ प्रतिशत ब्याज दिइरहेको समयमा बैंकले १५ प्रतिशत ब्याज दियो भने मानिसले डिबेन्चर बिक्री गरेर बैंकमा पैसा जम्मा गर्छन् । तर, बैंकले ७ प्रतिशत मात्रै ब्याज दिइरहेको छ र डिबेन्चरबाट १२ प्रतिशत प्राप्त हुन्छ भने उनीहरूले बैंकको पैसा डिबेन्चरमा लगानी गर्छन्,’ विश्लेषक अर्याल भन्छन् ।

उनले हाल बैंकले दिने ब्याजभन्दा डिबेन्चरले दिने ब्याज बढी भएकाले डिबेन्चरमा मानिसको आकर्षण बढेको र सोही कारण यसको मूल्य उच्च रहेको बताए । यसरी, बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपको ब्याजदर निरन्तर घट्दा त्यसको प्रभाव डिबेन्चर कम्पनीको सेयर मूल्यमा पनि देखिएको हो ।

मूलय बढ्दापनि बास्तविक प्रतिफल दोहोरो अंकमा

अहिलेको बजार मूल्य हेर्दा पनि ऋणपत्रमा गरेको लगानीबाट वार्षिक १० प्रतिशतसम्मको प्रतिफल पाइने अवस्था छ । जबीक मुद्दती निक्षेपमा राख्दा ५ वर्ष भन्दा माथि अवधिको दिर्घकालिन मुद्दती निक्षेपमा मुश्किलले ६ प्रतिशत ब्याजदर पाइने अवस्था छ।

जस्तै, १२ प्रतिशत ब्याजदर भएको आईसीएफसी फाइनान्स डिबेन्चर–२०८३ को नेप्सेको पछिल्लो कारोबार मूल्य मूल्य १३३८ रुपैयाँ छ । १३३८ रुपैयाँ लगानी गरेर खरिद गर्दा पनि उक्त डिबेन्चरमा लगानी गरेमा ८.९७ प्रतिशत प्रतिफल पाउन सकिन्छ जुन निक्षेपको तुलनामा बढी हो ।

सूचीकृत डिबेन्चर मध्येमा सबैभन्दा बढी प्रतिफल ११% एनआईसी एसिया डिबेन्चर–०८२/८३ को छ । १०८० रुपैयाँ लगानी गरेर खरिद गर्दा पनि उक्त डिबेन्चरबाट १०.१९ प्रतिशत प्रतिफल पाउन सकिन्छ जुन मुद्दती निक्षेपबाट प्राप्त गर्ने प्रतिफलको तुलनामा झन्डै दोब्बर हो ।

तथ्यांक हेर्दा अहिलेको मूल्यमै खरिद गर्दा पनि ११ वटा ऋणपत्र बाहेक सबैको प्रतिफल दर ८ प्रतिशत भन्दा बढी छ । सूचीकृत मध्ये सबैभन्दा कम प्रतिफल ६ प्रतिशत ब्याजदरको निफ्रा ग्रीन इनर्जी डिबेन्चर–२०८८/८९ मा लगानी गर्दा पाइन्छ । जसको लगानीमा पनि ६.१७ प्रतिशत प्रतिफल पाउने सक्ने देखिन्छ । यसरी, हाल बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदरको तुलनामा सबै डिबेन्चरमा गर्ने लगानीबाट प्रँप्त हुने ब्याजमा नै बढी लाभच देखिन्छ । जसका कारण, यसतर्फ लगानीकर्ता आकर्षित भएका हुन्।

बैंकको मुद्दतीमा भन्दा करिब दोब्बर बढी प्रतिफल डिबेन्चरबाट प्राप्त हुने भएकाले लगानीकर्ताको रोजाईमा डिबेन्चर पर्ने गरेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड दिर्नेशिकामा ‘ऋणपत्र भन्नाले तोकिएको ब्याज प्रदान गर्ने गरी सङ्गठित संस्था वा अन्तर्राष्ट्रिय वित्तीय संस्थाद्वारा निष्काशन गरिने डिबेञ्चर वा बण्ड सम्झनु पर्छ,’ भनिएको छ ।

निर्देशिकामा संगठित संस्थाले ऋणपत्र निष्काशन गर्दा विवरणपत्रमा जारी गरिने ऋणपत्रबाट प्राप्त हुने रकम उपयोग गरिने कार्य, ऋणपत्रको अवधि, ब्याजदर, व्याज भुक्तानी गर्ने समय, अवधि, स्थान र तरीका बुझाउनुपर्ने व्यवस्था छ । संगठित संस्थाको सम्पत्तिमा ऋणपत्रवालाको प्रथम वा द्वितीय हक हुने हो भन्ने स्पष्ट गरिएको र द्वितीय हक हुने भएमा अघिल्लो हकवाला वा समूहको नाम तथा रकम समेत स्पष्ट खुलाउनुपर्ने हुन्छ ।

परिवर्तनशील ऋणपत्रको हकमा परिवर्तन अनुपात, मूल्य, प्रिमियम, परिवर्तन मिति तथा मताधिकार सम्बन्धी विषय, विगतमा ऋणपत्र निष्काशन गरेको भए सो सम्बन्धी विवरण पनि आवश्यक हुन्छ । संगठित संस्थाको सम्पत्तिको सुरक्षणमा ऋणपत्र जारी गरिने भएमा त्यस्तो सम्पत्ति सम्बन्धित विशेषज्ञबाट मूल्यांकन गराएको हुनु पर्ने समेन व्यवस्था छ ।

रकम फिर्ता हुने ऋणपत्र (रिडिमेवल डिबेन्चर) जारी गरिने भएमा ऋणपत्रको रकम फिर्ता गर्न ऋणपत्र भुक्तानी जगेडा कोष (रिडिमेवल डिभेन्चर रिजर्व फण्ड) को व्यवस्था गरेको हुनु पर्ने व्यवस्था निर्देशिकामा छ । तर, नियमनकारी निकायको यस्तो कोषको व्यवस्था गर्नु नपर्ने व्यवस्था गरेको भएमा यस्तो कोषको व्यवस्था गर्नुपर्ने नपर्ने भनिएको छ ।

संगठित संस्था र डिबेन्चर ट्रष्टिबीच भएको सम्झौतामा प्रचलित कानून बमोजिम लगानीकर्ताको हित अनुकूलका प्रावधान रहेको हुनु पर्नेछ ।

संगठित संस्थाको सम्पत्तिमा द्वितीय हक कायम हुने ऋणपत्र निष्काशन गर्दा संगठित संस्थाको सम्पत्तिमा द्वितीय हक कायम भई उठाइने ऋण खुद सम्पत्तिको पचास प्रतिशतभन्दा बढी नभएको हुनु पर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।

नियमन निकायले स्वीकृति दिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाले आफ्नो तत्काल कायम प्राथमिक पुँजी/खुद सम्पत्तिको शतप्रतिशतसम्म ऋणपत्र निष्काशन गर्न सक्ने व्यवस्था छ । सेयरमा परिणत हुने विशेषता भएको ऋणपत्र जारी गर्ने भएमा कम्पनी सम्बन्धी प्रचलित कानूनको व्यवस्था बमोजिम आवश्यक निर्णय गर्नु पर्नेछ ।

संगठित संस्थाले ऋणपत्र जारी गर्दा जारी रकमको कम्तीमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई बिक्री वितरण गर्नको लागि छुट्टयाउनु पर्नेछ । तर, यसरी छुट्याइएको ऋणपत्र तोकिएको अवधि भित्र प्राकृतिक व्यक्तिले खरिद नगरेमा अन्य खरिदकर्तालाई बिक्री गर्न सकिने व्यवस्था छ ।