बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको अभाव छैन : सरकार

56
Shares

काठमाडौं । जेन जी आन्दोलन पश्चात उत्पन्न भएको असहज परिस्थितिका कारण बजारमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुको अभाव नरहेको सरकारले बताएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आन्दोलन पश्चात बजारमा पर्याप्त परिमाणमा दैनिक उपभोग्य वस्तुको आपूर्ति भइरहेकाले त्यस्ता सामग्रीको अभाव नरहेको जानकारी दिएको छ ।

विभागका महानिर्देशक राजेश ज्ञवालीले आन्दोलन पश्चात वस्तुहरुको आपूर्ति प्रणालीसँगै उपभोग्य वस्तुहरुको उपलब्धता बिषयलाई नजिकबाट नियालिरहेको बताए । बजारमा दैनिक उपभोग्य लगायतका सामग्रीहरुको आपूर्तिको व्यवस्थापनलाई सहज पार्ने उद्देश्यले अहिले दैनिक रुपमा स्टेक होल्डरहरु संगठन नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघसँग पनि निरन्तर रुपमा छलफल भइरहेको उनले जानकारी दिए ।

वस्तुको उपलब्धताको स्थिति हेर्दा भन्सार नाकाबाट नेपालमा आउने सामानहरुको विगतको आयातको अवस्था र अहिलेको आयातको अवस्थाबारे विश्लेषण भइरहेको उनले जानकारी दिए ।

‘आयातको अवस्था हेर्दा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म खाद्यन्न लगायतका समग्रीहरु बढी नै आयात भएको छ’, उनले भने,‘यसले गर्दा वर्तमान अवस्थामा दैनिक उपभोग्य लगायतका अत्यावश्यक वस्तुहरुको अभावको अवस्था छैन ।’

बिभागका अनुसार अहिले दैनिक उपभोग्य वस्तुको स्टक पर्याप्त मात्रामा छ । निजी क्षेत्रको अलावा सरकार स्वयमले आफ्ना साल्ट ट्रेडिङ कर्पोरेशन, खाद्य संस्थान लगायतका निकायबाट केही खाद्यपदार्थहरु सरकारले स्टक राख्ने गरेको छ ।

अहिलेको स्टक हेर्दा चिनी, दाल, चामल, तेल, नुन लगायतको अत्यावश्यक खाद्य पदार्थ साल्ट ट्रेडिङसँग पर्याप्त मात्रमा छ । आयातको अवस्थाको विश्लेषण गर्दा धान, चामल, फलफूल, तरकारीजस्ता दैनिक अत्यावश्यक वस्तुहरु अघिल्लो वर्षको तुलनामा बढी परिणाम आयात भएको विभागले जनाएको छ ।