बालेनका सल्लाहकारलाई गृह मन्त्रालयको जिम्मा

217
Shares

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन नयाँ अनुहार मन्त्री बेनका छन् ।

अर्थमन्त्रीमा पूर्वअर्थसचिव रामेश्वर खनाल, ऊर्जामन्त्मा कुलमान घिसिङ र गृहमन्मा ओमप्रकाश अर्यालले सपथ लिएर पदभार ग्रहण गरिसकेका छन् ।

नेपालमा लोडसेडिङ अन्त्य गरेपछि चर्चामा आएका घिसिङलाई केपी ओली सरकारले हटाएको थियो, उनलाई कार्कीले ऊर्जा मन्त्री नियुक्त गरेकी हुन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहका कानुनी सल्लाहकार रहिसकेका अर्यालले गृह मन्त्रालय सहित कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री कार्कीले कानुन मन्त्री बनाउने तयारी गरेको भए पनि बालेनको जोडबलमा अर्यालले गृह मन्त्रालयको कमाण्ड समाल्ने अवसर पाएका हुन् । अर्याल बालेनका प्रिय पात्र हुन् ।

बालेनले गृह मन्त्रालयले असहयोग गर्दा सुकुम्बासी लगायतका समस्या समाधान गर्न नसकेको भन्दै तत्कालीन गृहमन्त्री रवि लामेछानेमाथि आक्रोश समेत पोखेका थिए ।

सुकुम्बासी बस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौं महानगरपालिकालाई रवि नेतृत्वको गृह मन्त्रालयले घुमाउरो रुपमा प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएपछि बालेन रिसाएका थिए । अर्याललाई बालेनले रुपन्देही ३ को उपनिर्वाचनमा पनि अघि सार्ने तयारी गरेको स्रोतहरुको दाबी थियो । यद्दपि, राजनीतिक परिदृश्य फेरिएसँगै रुपन्देहीको उपनिर्वाचन नहुने भएको हो ।

अर्यालले राष्ट्रपति, जेनजी प्रदर्शनकारी युवा र प्रधानसेनापतिको बैठकमा बालेनको प्रतिनिधित्व गरेका थिए ।

गृहमन्त्री अर्यालले पदभार ग्रहण गरेलगत्तै जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरे । यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।