यी हुन् मन्त्रीका लागि बालेनले अघि सारेका ५ अनुहार

53.2k
Shares

काठमाडौं । अन्तरिम सरकारको मन्त्रिमण्डलमा कुलमान घिसिङ, पारस खड्का, बालानन्द शर्मा, ओमप्रकाश अर्याल र रमेश खरेल सामेल हुने भएका छन् । जेनजी प्रदर्शन र त्यसपछिको घटनाक्रममा सामाजिक सञ्जालमार्फत् प्रभाव छरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सिफारिसमा यी व्यक्ति मन्त्री बन्न लागेका हुन् ।

स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिचाईं, नेपाली क्रिकेट टिकमा पूर्वकप्तान तथा क्रिकेट संघ नेपालका सचिव पारस खड्कालाई युवा तथा खेलकुद र नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई रक्षा मन्त्री बनाउन बालेनले सिफारिस गरेका हुन् । यसैगरी काठमाडौं महानगरका मेयरका सल्लाहकार ओमप्रकाश अर्याललाई गृह मन्त्री बनाउन बालेनले दबाब दिएका छन् । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेललाई अन्य कुनै मन्त्री बनाउन बालेनले नाम अघि सारेका छन् ।

तर, प्रधानमन्त्री सुशीला कार्कीकहाँ धरानका मेयर हर्क सामपाङदेखि पूर्वन्यायाधीशका छोराछोरी लगायत नागरिक समाजका व्यक्तिहरु मन्त्री बन्न तीब्र लबिङमा छन् । यस्तो अवस्थामा बालेनले पठाएका प्रतिनिधिले तोकिएकै मन्त्रालय पाउने नपाउने भन्ने प्रधानमन्त्रीको निर्णयमा भर पर्नेछ ।

उनीहरुलाई आजै नियुक्ति दिइ सपथ खुवाउने तयारी थियो । बालेनले रास्वपा उपसभापति स्वर्णीम वाग्लेलाई अर्थमन्त्री बनाउने कुरा निकटस्थ गरेका थिए । निकटस्थले रास्वपामै रहेका कारण स्वर्णीमलाई बनाउनु नहुने सुझाव दिएपछि राजिनामा गरेको अवस्थामा बनाउन सकिने चर्चा चलेपनि त्यसले मूर्तरुप पाएन । वाग्लेलाई अर्थमन्त्री नबनाउने भएपछि पूर्वअर्थसचिव रामेश्वर खनाललाई बनाउँदा आफ्नो आपत्ति नहुने प्रधानमन्त्री कार्कीलाई बालेनले सन्देश पर्याएका थिए ।

यसैबीच वाग्लेले खनाललाई नै अर्थमन्त्रीको रुपमा समर्थन गर्दै फेसबुकमा पोस्ट हालेका छन् ।