प्रदर्शनले लगानी र रोजगारीमा चुनौति थपियो, उद्योगलाई सुरक्षित राख्न प्रतिवद्ध छौंः नाडा

21
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जेनजी प्रदर्शनका कारण लगानी र रोजगारीमा चुनौति थपिएको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नाडाले यस्तो धारणा व्यक्त गरेको हो ।

‘नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला हो । तर, हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका छन्,’ नाडाले भनेको छ, ‘कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समेत चिन्ता बढेको छ । देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर र्पुयाएको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको छ ।’

नाडाले हालै देशभर भएको आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको भन्दै घटनाबाट प्रभावित परिवारप्रति गहिरो संवेदना व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै नाडाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नाडाले जारी गरेको विज्ञप्तिमा अटोमोबाइल क्षेत्र मुलुकको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएको उल्लेख गर्दै हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको जनाएको छ । कर्मचारी, ग्राहक र संरचनाको सुरक्षाप्रति चिन्ता बढेको भन्दै नाडाले उपभोक्ता विश्वासमा नकारात्मक असर परेको र लगानी तथा रोजगारीमा चुनौती थपिएको उल्लेख गरेको छ ।

‘शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट हरेक जटिल र कठीन समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने हाम्रो गहिरो विश्वास रहेको छ । साथै, सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गर्दछौं,’ नाडाले भनेको छ, ‘नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता व्यक्त गर्दछ ।’