सुमना श्रेष्ठले छोडिन् रास्वपा

483
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी त्यागेको घोषणा गरेकी छन् ।

उनी लामो समयदेखि पार्टीभित्र असन्तुष्ट रहँदै आएकी थिइन् । उनले रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा सन्देश लेखेर पार्टी छोडेको जानकारी दिएकी हुन् ।

श्रेष्ठले ग्रुपमा लेखेकी छन्, ‘गल्ती कहिल्यै नस्वीकार्ने, गल्तीमाथि गल्ती गर्ने र त्यसको बोझ सबैलाई बोकाइने काम भइरहेकाले असन्तुष्ट थिएँ। आलोचना गर्नेहरूलाई मिडिया ट्रायलमा पार्ने प्रवृत्ति बढेको छ। जबदेखि पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यसैदेखि निरन्तर विरोध गर्दै आएको हुँ। तर यसको कुनै असर देखिएन, बरु उल्टै मिडिया ट्रायल गरियो। यस्तो अवस्था स्वीकार्य छैन। अब खुलेआम आक्रमण गर्ने भए पनि सजिलो बनाइदिएको छु। आई क्विट . मैले पार्टी छोडेँ ।’

यसअघि नै उनी मन्त्री बन्न लागेको चर्चा थियो । तर शनिबार उनले भिडियो सन्देशमार्फत आफू मन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेकी छन् ।

श्रेष्ठले केही महिनाअघि नै रास्वपाको सहमहामन्त्री पद त्यागेकी थिइन्।