प्रिय जेनजी, मैले केही योगदान दिनुपर्ने भयो भने नख्खु कारागार आउनुहोला

म बिना पार्टी चल्छ भने रास्वपाका साथीहरूको कुनै पनि यात्राको बाधा बन्दिनँ

1.8k
Shares

नमस्कार । म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग सधैं संवादमा छु । जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन । आज म आफ्ना बारेमा सफाइ दिन भन्दा बढी मुलुकको अबको बाटोको बारेमा केही महत्त्वपूर्ण कुरा बताउन गइरहेको छु ।

संयोगले आज मेरो जन्मदिन परेछ । र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु । पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिन्दगी हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु ।

ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितको मुद्दा लगाइनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेकमा नै छोड्न चाहन्छु ।

यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन । बाँकी रह्यो मलाई केही दिन अघि कारागारबाट निकालिएको विषयको विवाद । त्यतिबेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालियो । अहिले चिठी नै वैधानिक छैन भनेको सुन्छु । जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनले मलाई जोगाएको होइन, जेल जोगाएको हो । आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्न ।

मैले कालकुट विष पिएको धेरै भइसक्यो । अर्को एक दुई थोपो विष पिएर म मर्दिनँ । मलाई यस्ता आरोप-प्रतिशोधहरूको बानी परिसक्यो । कत्रा कत्रा षड्यन्त्र झेलिसकेको मान्छे, मेरा कारण कुनै एउटा जेलर एउटा गृह सचिवलाई अप्ठ्यारोमा पार्नु पर्दैन, म जिम्मा लिन्छु ।

तर, मेरो चित्त दुखाइ यति हो कि जेल जोगाउन मलाई भिडमा धकेलेर उल्टो मेरा कारणले देशभरिका कैदी भागे भनेर बदनामी र मिडियाबाजी किन गर्नु परेको होला । त्यो पनि भइगो — मेरो चित्त दुख्न अब कहाँ पो बाँकी छ र ? यतिखेर पनि यस देशका एक–एक भ्रष्टाचारीहरू सुरक्षा निकायको घेरामा छन्, मेसमा मेजबानी खाइरहेका छन् । म जनताको भिडबाट निस्किएपछि एक्लै छु । एउटा पुलिस पनि मसँग छैन ।

मेरो बदनाम गराउन तल्लीन पुराना दलका केही टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा देखें । हे पुराना दलका सेनामेना साथी हो — तिमीहरू आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो विरुद्धको दुष्प्रचारको पार्टी गर्दै नाचिरहेका छौ ?

आफ्नै पार्टी परिवारभित्रका साथीहरूप्रति मेरो कुनै गुनासो छैन । म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु । तपाईंलाई राम्रो हुन्छ भने रवि लामिछाने, तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन । रास्वपा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु । तर पार्टी त बन्छ, बन्छ । बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले, र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी बन्छ ।

मेरो र पार्टीको हिजोको कुरा आजलाई यति नै । अब भोलिको कुरा गरौं । देशको कुरा गरौं ।

म लोकतन्त्र, विधिको शासन प्रति प्रतिबद्ध राजनीतिकर्मी हुँ । यसमा म कुनै हालतमा सम्झौता गर्दिन । अन्तरिम सरकार संविधानको पूर्ण पालनाबाट बनेन, बन्न सक्दैनथ्यो । अन्तरिम सरकारको संवैधानिक पृष्ठभूमि जेसुकै भएपनि यो अब देशको वास्तविकता हो । यो कदमलाई सरकारले अब परिणामबाट सार्थक बनाउनुपर्छ ।

एउटा कुरा नबिर्सौं । कलिला बच्चाहरुलाई ताकी-ताकी गोली हानेर मारिएको छ । त्यससँगै देशका सरकारी संरचनाहरू ताकी-ताकी ध्वस्त बनाइएको छ । त्यसैले पहिलो दिनको दमनको पनि छानबिन हुनुपर्छ, दोस्रो दिनको हिंसाको पनि छानबिन हुनुपर्छ । बच्चाका टाउकोमा ताकी-ताकी गोली हान्ने गृहमन्त्री प्रधानमन्त्रीहरु कारबाहीको दायरामा तत्काल आउनुपर्छ । देशका संरचनाहरूमा ताकी-ताकी आगो झोस्नेहरू पनि तत्काल कारबाहीको दायरामा आउनुपर्छ । सही बाटोमा हिँडेको खण्डमा सरकारको सफलताका लागि आफ्नो सबै शक्ति र सामर्थ्य प्रदान गर्ने वचनका साथ मेरा केही माग पनि छन्:

१) २०४६ सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरू र उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ ।
२) देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द गरिनुपर्छ ।
३) कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्तिको बाटो तत्काल खोल्नुपर्छ । सुब्बा देखि न्यायाधिसम्मले फेरि जाँच दिनुपर्छ ।
४) सम्पूर्ण विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेसी स्थापित हुनुपर्छ ।
५) सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत यही विधि लागू हुनुपर्छ ।

मैले भन्दै आएको थिएँ कि राज्यका सम्पूर्ण निकायहरू एउटै रावणका अलग-अलग टाउकाहरु हुन् । रावणका यी अलग-अलग टाउकाहरूमध्ये एउटा टाउको पनि बच्यो भने रावण बचेको ठहर्छ । यी चिजहरू हुन सकेन भने जनताको आन्दोलनमाथि विश्वासघात हुन्छ । मलाई विश्वास छ समयमै निर्वाचन हुनेछ । त्यसकालागि हामी जनस्तरबाट दबाव बढाएर सरकारलाई सहयोग गर्नेछौं ।

नयाँ सरकार र नयाँ जेनेरेसनलाई मेरो शुभकामना । म, यो आन्दोलनका क्रममा आफ्ना कलिला छोराछोरी गुमाएका बाआमाहरूसँगै छु । मैले केही योगदान दिनुपर्यो भने म यही नख्खु कारागारमै छु । भेट्न आउनुहोला । पार्टीका तल्लो तहसम्मका साथीहरूलाई यति भन्दछु कि पार्टी कब्जा गर्न होइन, पार्टी बनाउनतिर लाग्यो भने हामी सबै अटाउँछौं ।

पुराना राजनीतिक दलहरूप्रति हामीले प्रतिशोध साध्नुपर्ने केही पनि छैन । उनीहरूले जति जाने त्यति गरे । इतिहासका विभिन्न कालखण्डमा देशमा परिवर्तन ल्याउन उनीहरूले गरेको योगदानलाई सम्झेर पनि हामीले प्रतिशोधको भावना त्याग्नुपर्छ । स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने लायकत हामीले राख्नुपर्छ । सके एक्लै, नसके सबै नयाँहरू मिलेर । देशभरका सम्पूर्ण पार्टी पंक्तिलाई प्रशासनसँग समन्वय गरी पुनर्निर्माणमा श्रमदान गर्न म हार्दिक अपिल गर्दछु । नमस्कार ।