आपूर्ति श्रृखला खल्बलिन नदिन नेपाल समुद्रपार निकासी पैठारी संघको आग्रह

35
Shares

काठमाडौं । नपाल समुद्रपार निकासी पैठारी संघले देशभित्र आपूर्ति श्रृखला अवरुद्ध हुुन नदिन आग्रह गरेको छ ।

संघले शनिबार बिज्ञप्ती जारी गर्दै सबै पक्षसँग यस्तो आग्रह गरेको हो ।

युवा पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र वाक् स्वन्त्रताको पक्षमा आह्वान गरेको प्रदर्शनका क्रममा भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले प्रदर्शनका क्रममा उद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, तिनका कार्यालय एवं निवासलाई तोडफोड एवं आगजनीको निशाना बनाइएबाट उद्यमी व्यवसायी भयभीत भएको उल्लेख गरेको छ ।

यस्ता घटनाबाट दीर्घकालसम्म व्यवसायमा हुने स्वदेशी र विदेशी लगानी प्रभावित हुने र समृद्धिको यात्रामा अवरोध आउने संघले ठहर छ ।

‘अहिलेको जटिल अवस्थामा व्यावसायिक कर्तव्यबोधका साथ अघि बढ्न र अत्यावश्यकीय वस्तुको आपूर्ति शृंखला खल्बलिन नदिन सम्पूर्ण सदस्य तथा गैरसदस्य व्यवसायीहरुमा हार्दिक अपिल गर्दछौं । यसमा समन्वय र सहजीकरण गरिदिन सरोकारवालालाई आग्रह गर्दछौं,’ बिज्ञप्तीमा भनिएको छ, ‘सम्पूर्ण सरकारी निकाय र कार्यालयहरु तत्कालै काममा फर्किंदा सहजीकरणको वातावरण बन्ने संघको अपेक्षा छ ।’

मुलुक इतिहासकै कहालीलाग्दो अवस्थाबाट विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको अवस्थामा भ्रष्टाचार, कुशासन र बेथितिमुक्त नव नेपाल निर्माणको दिशामा अगाडि बढ्नुको विकल्प नभएको संघले ठहर छ ।

अर्थतन्त्रको चालक शक्ति निजी क्षेत्रका व्यवसायिक गतिविधि भयरहित वातावरणमा निर्धक्कसँग चल्न नसके अर्थतन्त्रमा थप समस्या आउने निश्चित भएको औल्याउँदै संघले आम सर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्वाध रुपमा पेसा व्यवसाय गर्न सक्ने वातावरण निर्माणको लागि सुरक्षा व्यवस्था सुदृढ बनाउनु पर्ने सरकारसँग माग गरेको छ ।