भन्सार कर्मचारीका कट्टु समेत लुटिँदा यसरी जोगियो ४ करोड रूपैयाँ भन्सार राजस्व


विराटनगर । जेनजीको आन्दोलन लगत्तै सर्वत्र लुटपाट मच्चियो । मोरङको सदरमुकाम कोशी प्रदेशको राजधानी विराटनगर पनि अछुतो रहने ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादव आफ्नै निवासमा लुटपाट र आगजनी हुँदा निरीह बने । उनलाई उत्तेजित भीडबाट आफू र परिवारलाई जोगाउन हम्मेहम्मे पर्‍यो । जिल्लाका सुरक्षा प्रमुखले यस्तो नियति भोग्दा अन्य सर्वसाधारणले राज्यबाट सुरक्षाको आशा गर्नु आफैंमा धिकार थियो ।

सुरक्षा निकायको शून्यतामा विराटनगरको भाटभटेनीमा चार घण्टासम्म लुटपाट मच्चिएर आगजनी गरियो । मंगलबार भएको त्यो आगजनी बिहीबार मध्याह्नसम्म निभेको छैन ।

तर विराटनगर भन्सारको ४ करोडभन्दा बढी राजस्व भने बैंकका कर्मचारीको चलाखीले लुटिनबाट जोगिएको छ । भन्सारले लिलामी प्रक्रियाका लागि आईसीपीको परिसरमा राखेको ३ सय वटा मोटरसाइकल, १२ वटा सीटी सफारी र टेम्पो लुटिएका छन्।

भन्सार प्रमुख उमेश श्रेष्ठसहित अन्य कर्मचारीको आवासबाट लत्ता कपडा, भाँडाकुडा, नगदसहित धोएर सुकाएका कट्टु र पेन्टीसमेत लुटिएको छ । त्यस्तो स्थिति­मा बैंकका कर्मचारीको चलाखीमा चार करोडभन्दा बढी भन्सार राजस्व जोगिनुलाई बैंक कर्मचारीको बहादुरी ठहर गर्दै विराटनगर भन्सार प्रशासनले धन्यवाद दिएको छ ।

लुटिनबाट यसरी जोगियो ४ करोड भन्सार राजस्व

विराटनगर भन्सार परिसरको आईसीपी हाताभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको संकलन काउन्टरको भल्टमा रहेको ४ करोड रुपैयाँ १० मिनेटको अन्तरमा बैंक कर्मचारीको चलाखीले जोगिन सफल भएको छ ।

जेनजीको आन्दोलनका नाममा उत्तेजित भीड भन्सार परिसरमा प्रवेश गरेर गेटमा आगजनी गरेर फर्कियो । त्यो भीड फर्कने वित्तिकै आन्दोलनको आडमा सीमा वारिपारिका केही व्यक्तिले आईसीपीको गेटमा ‘बैंकमा कति रकम होला ?’ भन्दै गरेको चर्चा बैंकका प्रबन्धक प्रवेश खड्गीको कानमा पर्‍यो ।

दिउँसो दुई बजेनै बैंकको काउन्टर बन्द गरेर निस्किएका उनीलगायतका अन्य दुई जना स्टाफ जेनजीको आन्दोलन हेर्दै थिए । तर आन्दोलनको आडमा केही उच्छृङ्खल समूहले बैंकलाई लक्ष्य गरेर लुटपाटको योजना बनाउलान् भन्ने हेक्का कसैले पनि गरेका थिएनन् ।

आईसीपीको मुख्य भवनभन्दा उत्तरतर्फको भवनको तल्लो तलामा रहेको बैंकको काउन्टरको भोल्टमा तीन–चार दिनदेखि जम्मा भएको भन्सार राजस्व झण्डै चार करोड रुपैयाँ रहेको थियो । गेटमा ‘बैंकमा कति पैसा होला?’ भनेको सुनेका प्रबन्धक खड्गीको मनमा चिसो पस्यो । उनी तत्कालै बैंकको काउन्टरतर्फ गए । क्यासियर हरि साह पनि साथमै थिए । आफूलाई सबैले चिनेको हुनाले वस्तुस्थिति बुझ्न साहलाई खड्गीले पठाए । अवस्था सामान्य भएको जानकारी पाएपछि बैंक काउन्टरमा पुगेपछि केही शंकास्पद व्यक्तिहरु बैंकको अगाडि आउने र जाने गर्न थाले ।

खड्गीले अवस्था आँकलन गरेर अब यो रकम यहाँबाट लगेन भने यीनीहरूले लुट्छन् भन्ने निचोडमा पुगे । तत्कालै राष्ट्रिय वाणिज्य बैंकको रानीशाखाबाट भ्यान बोलाएर भल्टमा भएको सबै रकम तीनवटा बोरामा हालेर भ्यानमा राखे अनि भ्यानको अगाडि दुईवटा र पछाडि दुईवटा मोटरसाइकलले स्कर्टिङ गर्दै तुफानले हुइक्याएर रानीशाखा पुर्‍याउने काम गरे । त्यसबेला भ्यानको पछाडि स्कुटीमा हिँडेका बैंकका एक कर्मचारीलाई भीडले रोकेर ७ हजार रुपैयाँ र स्कुटी खोसे ।

भन्सार परिसरबाट रकम रानीशाखामा पुर्‍याएको १० मिनेट नबित्दै १५–२० जनाको समूह आएर काउन्टरको पैसा राख्ने भल्ट भएको कोठाको ढोकाको सिसा फुटाएर भित्र प्रवेश गरे । भल्टलाई रडले हानेर फुटाए तर रकम नभेटेपछि भागेका थिए ।

विराटनगर भन्सार कार्यालयले दैनिक १० करोडको राजस्व संकलन गर्छ । सबै भुक्तानी अनलाइन नहुँदा कतिपय राजस्व र भन्सार नगद नै जम्मा गर्नु पर्ने अवस्था हुने भएकाले बैंकको काउन्टर सञ्चालन गरिएको हो । आईसीपीभन्दा आधा किलोमिटर दक्षिण र पश्चिममा भारतीय बोर्डर छ । जेनजीको आन्दोलनको फाइदा उठाउँदै सीमा वरपरका व्यक्तिले बैंकको काउन्टर लुट्ने योजना बनाएको भन्सार प्रशासनको बुझाइ छ ।

बैंकबाट रकम लुट्न नपाएपछि त्यो भीडले आईसीपीको परिसरमा लिलामी प्रक्रियाका लागि राखिएको ३ सय वटा मोटरसाइकल, १२ वटा सीटी सफारी र टेम्पो भने लुटेर लगेको भन्सार प्रमुख उमेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार भन्सार राजस्व लुटिनबाट जोगियो तर पुरानो भन्सार रानीभित्रको कर्मचारीको आवास क्षेत्रबाट कर्मचारीका लत्ताकपडा, भाँडाकुडा, नगद र जिन्सी उनीहरूले लुटेर लगेका छन् ।

चार दिनदेखि विराटनगर भन्सार कार्यालयको सबै काम ठप्प छन् । भन्सारको जाँचपास रोकिए पछि अहिले नेपालबाट भारत प्रवेश गर्ने तीन सयभन्दा बढी ट्रक बाटोमा अलपत्र परेका छन् । त्यस्तै औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान बोकेर नेपाल आएका मालवाहक ट्रक पनि जोगबनी आईसीपीमा रोकिएका छन् ।