
काठमाडौं । जेनजीले भाद्र २३ गते गरेको प्रदर्शनमा भएको युवाहरुको मृत्यु अपराध थियो । त्यसमा म माफी माग्छु । समाजिक सञ्जाल बन्द भएपछि सभापतिका दौडेर पुगेको थिएँ र सामाजिक सञ्जाल बन्दले युवाहरु रिसाएको भनेको थिएँ । मैले त्यसको बिरोध गरेँ, लेखेँ तर भएन ।
साँझको बैठकमा मैले गृहमन्त्रीलाई तत्काल राजीनामा दिन र सभापति शेरबहादुर देउवालाई तत्काल सरकारबाट बाहिरिन भनेको थिएँ तर भनेको जस्तो गर्न सकिएन ।
भोलिपल्छ घरमा बस्दा बस्दै ठूलो हुल घरतिर आयो । ठुंगा हानियो घरमा आगो लगाइएला भन्ने लागेको थिएन । १०/१५ जना मास्क लगाएका मानिस थिए । पछाडी ठूलो समूह थियो । माथि गएर हेरेँ, सीसीटीभीमा पनि देखिएको थियो । कतिपय नयाँ पार्टीका र कतिपय पुरानाका थिए । चिनेका पनि थिए, नचिनेका पनि थिए ।
निजी सम्पत्ति ध्वस्त पार्ने काममा कसैले रोक्छ भन्ने सोचेको थिए । यसअघि त्यस्तै हुँदै महाराजगञ्जबाट कालिमाटी पुगेको थिएँ त्यसबेला पनि आगजनी भएका थिए तर हामीले त्यसलाई रोकेका थियौं । तर अवस्था यसपटक त्यस्तो बनेन । केही बेरपछि घरमा प्रवेश गरेको हुलले गाडी तोडफोड गर्यो, आगो लाग्न सुरु भयो । केही साथीहरुले मेरा बुबाआमा, श्रीमती, हिँड्न नसक्ने कान्छोबुवा सानासाना छोराछोरीलाई पछाडिको बाटोबाट हामीलाई सुरक्षित निकाल्नु भयो ।
मैले यसलाई दुर्भाग्यपूर्ण घटनाको रुपमा लिनुपर्छ र लिइरहेको छु । आमाले मलाई रुँदै भन्नुभयो त्यसपछि नरमाइलो लाग्यो । म पनि रोएँ । किनकि त्यो मेरो घर थिएन । २०४० सालमा बाआमाले अलिअलि गरेर एक तला बनाउनु भयो । पछि त्यसमा एकएक कोठा थप्दै बनाउनु भयो ।
बुबाआमाको सिर्जना थियो, त्यो ध्वस्त भयो । मेरो कारणले परिवारले दुख पायो भन्ने लाग्यो ।
तर हामीहरु त सुरक्षित छौं जसको ज्यान गयो उनीहरुको परिवारको के होला भनेर परिवारलाई सम्झाएँ ।
म के कुरामा कन्भिन्स छु भने जो रियल जेनजीको मुभमेन्टमा आउनु भएका साथीहरु हुनुहुन्थ्यो उहाँहरुको योजना निजी सम्पत्ति जलाउने होइन, त्यो उहाँहरुको सोचाइ हुँदै होइन । त्यसमा थुप्रै गलत नियत भएका मिसएका छन् त्यसलाई समयले बताउने नै छ ।
तपाईंहरुले ठूलो परिवर्तनको चाहनु भएको हो र मुभमेन्ट चलाउनु भएको हो । तपाईंहरु विवेकी हुनुहुन्छ । तपाईंहरुले भनिरहेको कुरा हामीले पनि भनिरहेको हो । तीनजना बुढा नेतालाई हटाउनु पर्छ भन्दै आएका हौं तर हामीले गरेको प्रयत्न सफल भएन ।
मेरो पार्टीका सभापतिसँग तपाईं देशको प्रधानमन्त्री हुन हुँदैन भनेर चुनाव लडेको हो म तर नम्बर पुगेन । ओली सरकार बनेपछि मन्त्री बन्न मलाई भनेका थिए तर म बन्दिन भनेर संयन्त्रमा बसेर काम गरेको हो । चेन्ज ल्याउन सुरुमा काम गरेको हो तर एकपछि अर्को नराम्रो काम भयो ।
कुलमान घिसिङ नहटाउँ कांग्रेस एमालेका भनेर गलत गर्नेलाई नजोगाउँ, विश्वविधद्यालयमा भागबण्डा नगरौं, अख्तियारको कानुन संसदमा नरोकौं भनेर बारम्बार भनेको हो तर हामीले सकेनौं । मैले संयन्त्र छाडिदिएँ, बाहिरबाट केही गर्न सकिन्छ कि भनेर तर पनि मानिएन ।
तपाईंहरुले भनेकै कुरामै हामी पार्टीभित्र लडेको हो, संसदमा पनि भनेको हो तर हाम्रो बल पुगेन ।हामीले सकेको भए परिवर्तन हुन्थ्यो । हामीले नसकेकै हो, हाम्रो कमजोरी भएकै हो । कांग्रेस सदस्यको रुपमा अब पार्टीलाई जरैबाट बदल्ने हो, तपाईंहरु जस्तो पुस्तालाई मन पर्ने पार्टी बनाउने हो ।
देश अहिले भ्याकुममा गएको छ । २३ गतेको आन्दोलनमा मास हत्या गर्नेमाथि नयाँ बन्ने सरकारले छानबिन गर्नुपर्छ, यसमा जो जो संलग्न छन् ति माथि कारबाही गर्नुपर्छ । सँगै जसले यस्तो विध्वंश मच्चायो अदालत, जेल केही बाँकी छैन । कसले गर्यो किन गर्यो ? यसको छानबिन गरेर दोषी माथि कारबाही हुनुपर्छ ।
२०४६ सालपछिको जति पनि पदमा बसेको छन् र जति पनि काण्ड छन् त्यसबारे छानबिन हुनुपर्छ भनिएको छ त्यो हुनै पर्छ । किनकी हामी पनि आजित छौं । नखाएको विष लागेका कतिपय छन् । सबैको बारेमा छानबिन हुनुपर्छ । ममाथि पनि छानबिन हुनुपर्छ किनकी म पनि पदमा बसेको छु, जिम्मेवारी लिएको छु त्यसैले म माथि मात्र होइन, मेरो परिवारमाथि पनि छानबिन हुनुपर्छ । दुधको दुध पानीको पानी छुट्याउनु पर्छ । जसले गल्ती गरेको छ त्यसले सजाय पाउनु पर्छ । कानुन बनाएर उसको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । सबै जेनरलाइज गरेर सबैलाई एउटै घानमा हाल्न हुँदैन ।
तपाईंहरुको भावना अनुसार सरकार बनाउने कुरा ठिक छ, त्यो सरकारले काम गरोस् ।
तर मेरो एउटा अनुरोध छ । २०६३/६३ मा आन्दोलनबाट एउटा संविधान बन्यो । सजिलो थिएन, यो बिचमा धेरै भोग्यौं गृहयुद्ध, जातिय युद्ध भोग्यौं, सबैको मागलाई मिलाएर सन्तुलन मिलाएर संविधान बनाइएको हो । अहिले कोही बोलेको छैन । तर अधिकार खोसियो भन्ने पर्यो भने सम्हाल्न नसक्ने अवस्था बन्छ त्यसैले संविधानको निरन्तरतामा तपाईंहरुले ख्याल गर्नै पर्छ ।
हामीले जे गर्ने हो संविधानमा कहीँ न कहीँ टेक्नै पर्छ ।
हामी कहाँ सुरुमा प्रजातन्त्र आयो हामीले डेलभर गर्न सकेनौं । लामो समय प्रजातन्त्र खोसियो । हामीले १ दिन सामाजिक सञ्जाल बन्द हुँदा एसेप्ट गर्न सकेनौं भनेपछि सिभिल राइट खोसिए कसले सहदैँन । फेरि मुभमेन्ट हुन्छ, यसले हाम्रो २०/३० वर्ष जान्छ । तपाईंको जेनेरेसन खेर जान हुँदैन ।
हामीले यो चक्रलाई खेर जान दिन हुँदैन । संविधान कायम राखेर बोल्ड रिफर्म गरौं । तपाईंहरुले चलाउने हो, नेतृत्व गर्ने हो । हामीहरु व्याक बेन्चमा बस्छौं । पार्टी सुधार गर्न र पार्टीको नेतृत्व सुधार गर्न लाग्छौं । केही सयमलाई यसरी नै गरौं । तर संविधानभन्दा पर गएर समाधान खोज्न खोज्यौं भने अहिले एकछिन त होला तर केही समय पछि सम्हाल्न नसक्ने अवस्था बन्छ ।
तपाईंहरुले यत्रो ठूलो चेन्ज गर्न खोज्नु भएको छ त्यसको दुखान्त नहोस् । यस्तो पनि नहोस्, एउटा पराजयपूर्ण विजय । विजय त भयो तर के भयो भयो भन्ने नहोस् । यत्रो ठूलो ध्वंश भएको छ, यसलाई सम्हाल्न र पुनर्निर्माण गर्नुपर्ने छ, सबैको साथ सहयोग चाहिन्छ ।
गल्ती गर्नेलाई सजाय पनि दिनुपर्ने छ सबैलाई मिलाएर लैजानु पर्ने छ ।
कसरी गर्ने ? तपाईंहरुको जेनेरेशनले नै गर्नसक्छ त्यसैले अघिको जेनेरेशनलाई बिदा गरेर चाँडोभन्दा चाँडो गर्नुपर्छ भनेर नै गरेको हो अहिले तपाईंहरु नै अघि आउनु भएको छ । ठिक छ तर यसलाई बिग्रन दिनु हुँदैन यसलाई सम्हालेर लैजानु पर्ने छ । शान्त भएर संयमित भएर सोच्नु होला ।
नेपाल भूराजनीतिक रुपमा संवेदनशील छ । जातजाती, जनताजिका रुपमा पनि संवेदनशील छ त्यसैले सबै कुराका बीचमा सन्तुलन खोजेर जानु छ ।
युवा साथीहरुलाई स्यालुट गर्छु, यत्रो लडाइ गर्नु भएको छ । यो बीचमा भएको गल्ती कमजोरी हामीबाट भएको छ, माफी माग्छु र सुध्रने बाँचा गर्छु । तर अहिलेको अवस्थालाई सम्हाल्न ठिक ढंगले विवेक प्रयोग गर्नुहुन्छ भन्नेमा विश्वास पनि लिन्छु र अनुरोध पनि गर्छु । धन्यवाद







प्रतिक्रिया