देशभर बैंकको ४ वटा शाखा कार्यालय आगजनी, एटीएमहरुमा पनि क्षति


काठमाडौं । बुधबार देशभरका सबै बैंक पूर्ण रुपमा बन्द हुने भएका छन् । राष्ट्र बैंकसँग छलफल गरेर देशभरका बैंकिङ कार्यालय पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए ।

बैंकका महत्वपूर्ण कागजात पनि जलाउनुपर्छ भन्ने धम्कीपूर्ण सन्देशहरु पनि आएको बुधबार देशभरका बैंक बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए ।

सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै अब विस्तारै वातावरण शान्त हुँदै गएपछि भने बैंकहरु बिहीबारबाट क्रमश खुल्दै जाने अध्यक्ष कोइरालाले बताए ।

मंगलबार देशभर भएको प्रदर्शन तोडफोड र आगजनीमा केही बैंकका कार्यालयहरुमा पनि क्षति भएको र धेरै एटीएमहरु तोडफोड भए पनि बैंकको नगद सुरक्षित रहेको बैंकर्स संघका अध्यक्ष कोइरालाले जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा तोडफोड गरी बैंकको भल्टमा प्रवश गर्ने कोसिस भएको थियो । तर, मंगलबार राति बैंकमा तोडफोडमा संलग्नहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । बैंकको शाखामा भौतिक क्षति भएपछि भल्ट सुरक्षित रहेकोले नगदमा कुनै क्षति पुगेको छैन । त्यस्तै मारवाडी सेवा समितिको बत्तिसपुतलिमा रहेको भवन प्रदर्शनकारीले जलाउँदा उक्त भवनमा रहेको हिमालयन बैंकको शाखा कार्यालय पूर्ण रुपमा जलेको छ । तर, बैंकको उक्त शाखामा रहेको भल्ट सुरक्षित रहेकोले ‘क्यास लस’ नभए नभएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बताए ।

अन्य केही एटीएमहरुमा पनि तोडफोड भए पनि नगद भने सुरक्षित रहेको उनले बताए । भाटभटेनी सुपरमार्केट प्रर्शनकारीले जलाउँदा उक्त स्थानमा रहेका बैंकको एटीएमहरुमा भने क्षति पुगेको बैंकर्स संघका अध्यक्ष कोइराला बताउँछन् ।

भाटभटेनीको चितवनस्थित भरतपुर र मोरङको विराटनगर स्टोर भएको स्थानमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको पनि शाखा कार्यालय रहेकोमा यी २ वटा शाखा कार्यालय पूर्ण रुपमा क्षति भएको छ । यद्यपि, बैंकको भल्ट सुरक्षित रहेकोले नगद भने सुरक्षित नै रहेको बताइएको छ।

थापाथलीमा रहेको सेन्ट्रल विजेनस पार्क पुर्ण रुपमा जलेको छ । जसले गर्दा उक्त टावरमा रहेको ग्लोबल आईमई बैंकको शाखा कार्यलय पनि पुर्ण रुपमा क्षति पुगेको छ । बैंकको भल्ट आगलागीबाट सुरक्षित हुने भएकोले भल्टमा भएको नगद सुरक्षित हुन्छ । तर, भौतिक संरचनमा भने क्षति पुगेको छ ।

यसबाहेक सरकारी कार्यालयमा आगजनी हुँदा सरकारी कार्यालयमा रहेको बैंकहरुको सेवाकेन्द्रहरु भने पूर्ण रुपमा क्षतिग्रस्त भएको बैंकर्स संघका अध्यक्ष समेत रहेको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए ।

‘राष्ट्र बैंक समेतको समन्वयनमा देशभर बैंकका शाखा र एटीएममहरुमा के कति क्षति भएको छ भन्ने विवरण संकलन गर्दैछौं,’ अध्यक्ष कोइरालाले भने, ‘सरकारी अफिसमा भएका एक्सटेन्सन काउन्ट र एटीएमहरु बढी तोडफोट भएका छन् । अन्य केही शाखा र एटीएममा पनि ढुंगामुढा भएको छन् । तर नगद नै लुटपाट भयो भन्ने सूचना आएको छैन ।’