माओवादी केन्द्रका उम्मेदवार तय



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई पनि उम्मेदवार बनाएको छ । थापा पूर्वरक्षामन्त्री एवं माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत हुन् । नेता शर्मा भने पूर्वमन्त्री तथा उनले पार्टीको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार प्रदेश नं १ मा बिना पोखरेल (महिला) र  प्रदेश नं २ मा शशिकला दाहाल (महिला) छनोट गरिएको छ । सो प्रदेशमा एक उम्मेदवार छनोट गर्न बाँकी छ ।

यस्तै प्रदेश नं ३ मा  रामबहादुर थापा (खुला) र  गंगा पराजुली (महिला),  प्रदेश नं ४मा  शर्मा (खुला), खिमकुमार विक (दलित), प्रदेश नं ५ मा राजकुमार कुंवर (अल्पसंख्यक र अपांग) र चन्द्रबहादुर खड्का (खुला), प्रदेश नं ६ बाट जीवन बुढा (अपाङ्ग र अल्पसंख्यक), युटुल लामा (महिला) र कालीबहादुर मल्ल (खुला) बाट उम्मेदवार बन्नेछन ।  त्यस्तै प्रदेश नं ७ मा  लालीराम लोहार (दलित) र हरिराम चौधरी (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यमा संयुक्त रुपमा उम्मेदवार उठाउने निर्णय गरेका छन् । एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने निर्णय गरेका थिए । सोमबार बसेको माओवादी केन्द्रको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छनोट गर्न अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र थापालाई जिम्मा दिएको थियो ।


क्लिकमान्डु