
काठमाडौं । नेपालमा व्याप्त भ्रष्टाचार, भाइभतिजावाद र कुशासनविरुद्ध आन्दोलन गरिरहेका युवामाथि राज्यले दमन गर्दा १९ जना युवाको मृत्यु भएको छ भने सयौंजना घाइते छन् ।
युवाहरूले चलाएको यस्तो किसिमको आन्दोलन सफल भएका अनेकौं उदाहरण निकट इतिहासमा भेटिन्छन् । तीन वर्षअघि श्रीलंकामा भएको सफल आन्दोलन त्यसको उम्दा उदाहरण हो ।
त्यतिखेर श्रीलंकामा चरम आर्थिक संकट चलिरहेको थियो । दैनिक उपभोग हुने वस्तुको भाउ आकासिएर सर्वसाधारण पिल्सिएका थिए । पेट्रोलमा लामो लाइन लाग्नुपर्ने स्थिति थियो । बिजुलीको लाइन लामो समयसम्म काटिँदा मानिसलाई खान पकाउन र पंखा खोलेर शीतल लिन पनि गाह्रो पर्न थालेको थियो । रोजगारीको अभावका कारण युवाहरू निराश थिए ।
सर्वसाधारण पीडामा हुँदा सत्तामा रहेको राजपक्षे परिवार चाहिँ भोगविलासमा मस्त थियो । उसले जनताको पीडालाई सम्बोधन गर्ने कुनै पनि उपाय अपनाइरहेको थिएन ।
अति भएपछि विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी र युवाहरूले राष्ट्रपति गोटाबाया राजपक्षेको राजीनामाको माग गर्दै प्रदर्शन थालेका थिए । श्रीलंका सरकारमा राजपक्षे परिवारको हालीमुहाली रहेकोमा युवाहरूमा चरम आक्रोशको स्थिति थियो । उनका भाइ प्रधानमन्त्री महिन्दा राजपक्षे, अर्थमन्त्री बासिल राजपक्षे, खेलकुद मन्त्री नमल राजपक्षे र अर्का मन्त्री चमल राजपक्षे र भाइभतिजाहरू सबै मन्त्रिमण्डलमा थिए । नेपालमा पनि नेता र कर्मचारीका छोराछोरीले विलासी जीवन बिताइरहेको भनी नेपोबेबी डिजिटल आन्दोलन चल्न थालेपछि सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो ।
युवा सहित समाजका सबै क्षेत्रका मानिसले लगातार विरोध प्रदर्शन गरेका थिए । सन् २०२२ को मार्च महिनामा सुरु भएको विरोध प्रदर्शन जुन महिनासम्म आइपुग्दा जनआन्दोलनमा परिणत भइसकेको थियो । राजधानी कोलम्बोमा राष्ट्रपतिको कार्यालयअगाडि गल फेस क्षेत्रनजिक आन्दोलनकारीले अस्थायी शिविर बनाएर धर्ना दिएका थिए । उनीहरूले त्यहाँ एक पुस्तकालय र स्वास्थ्य शिविर समेत खडा गरेका थिए ।
उक्त विरोधस्थललाई गोटागोगामा अरगलाया नाम दिइएको थियो । राष्ट्रपति गोटायामालाई लक्षित गर्दै गोटा गो होम (राजिनामा दिएर घर जाऊ गोटा) भन्दै लगाइएको नाराका आधारमा त्यो नाम तय भएको थियो । सिंहला भाषामा अरगलाया भन्नाले संघर्ष बुझिन्छ ।
सडकमा पनि लगातार प्रदर्शन हुँदै आएका थिए । प्रदर्शन चर्किंदै गएपछि सरकारी कार्यालयमा पनि विरोधीहरूले कब्जा गर्न थालेका थिए । सरकारी भवन र नेताका घरमा आगजनी पनि हुन थालेका थिए । नेपालमा पनि शीर्ष नेताका घर र पार्टी कार्यालयमा यसरी नै आगजनी र तोडफोड भइरहेको छ ।
त्यसपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर भाग्न बाध्य भएका थिए । प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा प्रवेश गरी उनको स्विमिङ पुलमा पौडी खेलेको र महँगो ओछ्यानमा सुतेको दृश्यहरू संसारभरिका सञ्चारमाध्यममा देखिएका थिए । प्रधानमन्त्री महिन्दाको घरमा प्रदर्शनकारीहरूले आगो लगाएको दृश्य पनि देखिएको थियो ।
श्रीलंकाका विभिन्न विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरूले जनआन्दोलनमा सकारात्मक योगदान गरेका थिए । उनीहरूले विरोध प्रदर्शनलाई जारी राखिरहन भूमिका खेलेका थिए ।
यस आन्दोलनलाई राजनीतिक दल र अन्य स्वार्थ समूहले कब्जा गरिदेला भनी अरगलायाका आयोजकहरू सचेत रहेका थिए । यस आन्दोलनलाई परम्परागत राजनीतिक दलले नियन्त्रणमा लिएको भए छिन्नभिन्न हुने र तुहिने सम्भावना थियो । अझ कतिपय राजनीतिक दलका मानिसको उग्र प्रवृत्तिलाई देखेका युवाले तिनलाई स्वार्थ पूरा गर्न दिएनन् ।
उनीहरूले राजधानी कोलम्बोमा मात्र नभई अन्य शहरमा रहेका युवालाई पनि आन्दोलनमा जोडिन प्रेरित गरेका थिए । फेसबुक र अन्य सामाजिक सञ्जालमा अभियान चलाएर उनीहरूले अन्य शहरका युवा र सर्वसाधारणलाई कोलम्बो आउन प्रेरित गरेका थिए । दशौं हजार मानिस ट्रेन र बस चढेर कोलम्बो आएका थिए ।
युवाहरूले त्यतिखेर सर्वसाधारणमा सचेतना जगाउन सफलता पाएका थिए । उनीहरूले नयाँ नयाँ आइडिया निकालेर आन्दोलनलाई रचनात्मक बनाएका थिए ।
आन्दोलनको आरम्भदेखि नै युवाहरूले सर्वसाधारणलाई हिंसा नभड्काउन आग्रह गरिरहेका थिए । मानिसहरूलाई एउटा ढुंगा पनि नहान्न उनीहरूले आग्रह गरेका थिए । कसैलाई क्षति पु¥याउनु भन्दा पनि राष्ट्रपतिलाई राजिनामाका लागि बाध्य पार्नु उनीहरूको लक्ष्य थियो । नेपालमा भएको जेनजी आन्दोलनको आरम्भमा यस्तै शान्तिपूर्ण प्रदर्शन भएको थियो तर प्रहरीले दमनको नीति अपनाएपछि त्यो हिंसात्मक बन्न पुगेको थियो ।
श्रीलंकामा राजनीतिक र आर्थिक अव्यवस्थाका कारण शिक्षामा पनि असर परेको थियो । त्यतिखेर पेट्रोलियम पदार्थको अभावका कारण अधिकांश विश्वविद्यालयमा प्राध्यापक र विद्यार्थी जानै पाएका थिएनन् । आन्दोलन चर्किंदै गएपछि त्यहाँको शिक्षा मन्त्रालयले सबै विद्यालय बन्द गरेको थियो र चारवटा विश्वविद्यालयलाई पनि अस्थायी रूपमा बन्द गरेको थियो ।
त्यतिखेर सत्तापक्ष र विपक्ष सबैप्रति युवाहरूमा आक्रोशको स्थिति थियो । सरकार र विपक्षी दुवैले जनतालाई विश्वास दिलाउने आर्थिक राहतको योजना दिन नसकेकाले सबै राजनीतिक दलप्रति युवामा अविश्वासको अभाव थियो । ठ्याक्कै यस्तै स्थिति अहिले नेपालमा पनि देखिएको छ । अहिले उनीहरू सत्तापक्ष र विपक्ष दलमा विश्वास गर्न सकिरहेका छैनन् ।
श्रीलंकाली समाज जाति र धर्मका नाममा विभाजित भए पनि यस आन्दोलनमा सबैको एक्यबद्धता रहेको थियो । सिंहला र तमिलभाषीहरू समेत एकजुट भएर आन्दोलन गरेका थिए । मुसलमान र क्रिस्चियनहरू पनि आन्दोलनमा जोडिएका थिए । वास्तवमै त्यो राष्ट्रिय स्तरको आन्दोलन बनेको थियो ।
राष्ट्रपति राजपक्षे पलायन भएर राजिनामा दिएपछि उनका चेला रनिल विक्रमसिंघेले केही समय शासन चलाए । तर, सन् २०२४ मा भएको आमनिर्वाचनमा रनिल र अन्य पुराना दलका नेताहरू पराजित भए । लामो समयदेखि परम्परागत राजनीतिक र आर्थिक अभिजातवर्गको विरोध गर्दै आएका अनुरा कुमारा दिस्सानायकेले चुनाव जिते । उनी नेतृत्वको नेशनल पिपुल्स पावरको गठबन्धन विजयी भयो । श्रीलंकाली मतदाताले लामो समयदेखि सत्तामा पकड बनाएर बसेका पुराना राजनीतिक दलहरूलाई नकारिदिए ।








प्रतिक्रिया