विद्युतीय गाडीका साथ चिनियाँ बजारमा नाफा कमाउने प्रयास गर्दै बीएमडब्ल्यू

49
Shares

एजेन्सी । जर्मनीको कार कम्पनी बीएमडब्ल्यूले पूर्णतया विद्युतीय गाडी नेवे क्लासे सिरिजलाई चिनियाँ बजारमा ल्याउन प्रयास गरेको छ ।

उक्त गाडीको पहिलो मोडल गत साता सार्वजनिक गरिएको थियो ।

यस गाडीका साथ आफूहरू प्रतिस्पर्धात्मक बनेको बीएमडब्ल्यूका प्रमुख आर्थिक अधिकृत वाल्टर मर्टलले रोयटर्स समाचार संस्थालाई बताए । यस गाडीका साथ आफूहरूले चिनियाँ बजारमा पुनः वृद्धिको अपेक्षा गरेको उनको भनाइ छ ।

चिनियाँ गाडीहरूसँग कडा प्रतिस्पर्धा गर्नुपरेकाले बीएमडब्ल्यू र अन्य युरोपेली कम्पनीहरूलाई कठिनाइ आइरहेको छ ।

त्यसमाथि चीनमा घरजग्गा कारोबारमा मन्दी आएकाले धनी चिनियाँहरू पनि नयाँ गाडी किन्न हिचकिचाइरहेका छन् ।

सन् २०२५ को पहिलो ६ महिनामा चीनमा बीएमडब्ल्यूको बिक्री १५.५ प्रतिशतले घटेको थियो ।

शुक्रवार कम्पनीले नेवे क्लासे आईएक्स३ विद्युतीय गाडी सार्वजनिक गरेको हो । सन् २०२६ को गर्मी महिनामा यो गाडी चिनियाँ बजारमा ल्याइनेछ ।

यस गाडीमा लाग्ने ब्याट्री अहिलेको मोडलको भन्दा ४० देखि ५० प्रतिशत सस्तो पर्ने बताइएको छ ।