
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई तीन वर्गमा विभाजन गरेका छन् । आजबाट सुरु विधान महाधिवेशनमा उनले आय, जमिन स्वामित्व र सम्पत्तिका आधारमा निम्न, मध्यम र उच्च वर्ग छुट्याएका हुन् ।
वार्षिक डेढ लाख रुपैयाँभन्दा कम आय हुनेलाई निम्न वर्गमा राखेका ओलीले १ हेक्टरभन्दा कम जमिन वा भूमिहीन, बैंक तथा वित्तीय पहुँच नहुने र आधारभूत सुविधा अभाव हुनेहरूलाई यसमा समावेश गरेका छन् । पार्टीको ध्यान यही वर्गको पक्षपोषणमा केन्द्रित हुनुपर्ने उनले बताएका छन्।
१.५ देखि ५ लाख रुपैयाँसम्म वार्षिक आय हुनेलाई मध्यम वर्गमा राखेका ओलीले १–३ हेक्टर जमिन स्वामित्व हुने, भौतिक, वित्तीय तथा बौद्धिक सम्पत्ति भएका र आधुनिक प्रविधिमा पहुँच भएकालाई यो वर्गमा राखेका हुन् । यो वर्ग तुलनात्मक रूपमा सक्षम भए पनि अस्थिर रहेको उनको भनाइ छ।
पाँच लाखभन्दा बढी वार्षिक आय हुने, ३ हेक्टरभन्दा बढी जमिन वा शहरी जग्गा भएका, बैंक, बीमा, उद्योग वा ठूला व्यवसायमा लगानी गर्नेहरूउच्च वर्गमा पर्ने ओलीको भनाइ छ । रोजगारी सिर्जना र पुँजी निर्माणमा योगदान भए पनि यही वर्गले श्रम शोषण गर्ने र प्रायः अग्रगमनविरुद्ध उभिने गरेको उनको आरोप छ ।








प्रतिक्रिया