चीनको सैन्य परेडमा के रहे प्रमुख आकर्षण ?

161
Shares

एजेन्सी । चीनले राजधानी बेइजिङमा आयोजना गरेको विशाल सैन्य परेड सकिएको छ ।

तर, दिउँसो विदेशी पाहुनालाई स्वागत र साँझमा संगीत समारोह भइरहेको छ ।

यो पहिले नै योजना बनाएर गरिएको शक्तिप्रदर्शन थियो । यसमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन जस्ता युद्ध गरिरहेका नेता समेत सहभागी भए ।

यस परेडले अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई सीधै सन्देश दिएको छ ।

चीनका राष्ट्रपति सी चिनपिङ, पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन एउटै ठाउँमा उभिएको यो पहिलोपटक हो । सीले दक्षिण, दक्षिणपूर्वी र मध्य एसियाका नेताहरूसँग एससीओ शिखर सम्मेलन आयोजना गरेलगत्तै सैन्य परेडमा पुटिन र किम सहभागी भएका हुन् ।

चीन विश्व शक्तिको सन्तुलन बदल्न तयार छ र आफ्नै सैन्यशक्तिले त्यो लक्ष्य हासिल गर्ने क्षमता बनाइसकेको छ भनी यी कार्यक्रम र सहभागीहरूको सूचीले स्पष्ट सन्देश दिएको छ । साथै, चीनको दृष्टिकोण साझा गर्ने साथीहरू पनि छन् भन्ने सन्देश प्रवाहित भएको छ । रुससँग निकट रहेका युरोपेली देशहरू सर्बिया, स्लोभाकिया र बेलारुसका नेता पनि चीनले आयोजना गरेको समारोहमा सहभागी भए ।

यस सैन्य परेडका प्रमुख विशेषता यस प्रकार छन् :

तीन शक्तिशाली नेता

बुधवारको सबैभन्दा उल्लेखनीय क्षण तब आयो जब चीनका राष्ट्रपति सी चिनपिङ केही छानिएका विश्व नेताहरूसँगै थ्याँआनमन मञ्चमा प्रवेश गरे । उनको दायाँ र बायाँ उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन थिए ।

यसले यी तीन नेताहरूबीच एक्यबद्धताको सन्देश दियो । अमेरिकासहित पश्चिमी मुलुकहरूले लामो समयदेखि कायम गरेको प्रभुत्वलाई चुनौती दिने वैकल्पिक विश्व व्यवस्था बन्न लागेको सन्देश प्रवाह भएको छ ।

“चीनलाई रोक्न सकिन्न”

सैन्य परेडअघि सम्बोधन गर्दै सीले चिनियाँ राष्ट्रियता र शक्तिमा जोड दिए । उनले आफ्नो सेनालाई चीनको उत्थान “कसैले रोक्न नसक्ने” भने । विश्वले “शान्ति र युद्धबीच एकलाई रोज्नुपर्ने” र चीनलाई “कुनै धम्कीले तर्साउन सक्दैन” भनी उनले चेतावनी पनि दिए ।

हतियारहरू

चीनको शक्तिशाली हातहतियार र सैन्य उपकरण सम्पूर्ण रूपमा देखाइयो । त्यसमा जमिन र समुद्रका लागि प्रयोग हुने हवाई प्रतिरक्षा लेजर, स्टेल्थ लडाकु विमान र आणविक हतियार बोक्ने बमवर्षक विमान, युद्धपोत डुबाउने क्षेप्यास्त्र, नयाँ अन्तर्महादेशीय बलिस्टिक क्षेप्यास्त्र र दुईवटा नयाँ विशाल समुद्री ड्रोन देखाइएका थिए ।

उपस्थिति
५० हजार दर्शकहरू बेइजिङमा परेड हेर्न जम्मा भएका थिए । ट्यांकहरू थ्याँआनमन स्क्वायरबाट गुज्रिरहँदा मानिसहरू खुशीले चिच्याएका, राष्ट्रिय गान गाएका, साना चिनियाँ झन्डा हल्लाएका भिडियोहरूमा देखिन्छ । । चिनियाँ सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले देशप्रति गर्व महसुस भएको बताए ।