
एजेन्सी । थाइल्यान्डको संवैधानिक अदालतले पाएतोङतार्न शिनावात्रालाई पदमुक्त गर्ने फैसला सुनाएको छ ।
शुक्रवार गरेको फैसलामा अदालतले कम्बोडियाका सिनेट प्रमुख तथा पूर्वप्रधानमन्त्री हुन सेनसँग पाएतोङतार्नले फोनमा कुराकानी गरेर संवैधानिक नियमको उल्लंघन गरेको उल्लेख गरेको छ ।
अदालतको यो फैसलापछि पाएतोङतार्नले छोटो विज्ञप्ति जारी गरी पद छोडेको घोषणा गरिन् । आफ्नो उत्तराधिकारीको सरकारलाई समर्थन गर्ने उनले बताइन् ।
करिब १ वर्ष प्रधानमन्त्री रहेकी पाएतोङतार्नलाई गत जुलाई १ मा निलम्बन गरिएको थियो । उनले हुन सेनसँग फोनमा दुई देशबीचको सीमाविवादको कुरा गरेको अडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको थियो ।
पाएतोङतार्नले थाइल्यान्डको सार्वभौमसत्तालाई संरक्षण गर्न नसकेको भनी आलोचकहरूले आरोप लगाएका थिए । फोनमा पाएतोङतार्नले हुन सेनलाई अंकल भनी सम्बोधन गरेकी थिइन् । हुन सेनलाई केही चाहिएमा आफूले मिलाइदिने पनि उनले भनेकी थिइन् । त्यसमाथि उनले थाइल्यान्डका एक सैन्य कमान्डरको आलोचना पनि गरेकी थिइन् ।
अर्बपति पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी पाएतोङतार्नले पछि आफ्नो टिप्पणीप्रति माफी माग्दै त्यो सम्झौताको तरिका भएको बतमएकी थिइन् । तर, फोन संवाद बाहिरिएपछि पाएतोङतार्नको सरकार संकटमा परेको थियो ।
उनले नेतृत्व गरेको गठबन्धन सरकारको एक साझेदारले समर्थन फिर्ता लिएको थियो । त्यसले गर्दा उनीसँग झिनो बहुमत मात्र रहेको थियो ।
त्यससँगै हजारौं प्रदर्शनकारीहरूले सडकमा आएर उनको राजीनामा मागेका थिए ।
थाइल्यान्डमा कूको चर्चा: चिनियाँ रेलमार्ग सम्झौता प्रमुख कारण ?








प्रतिक्रिया