युरोपमा टेस्ला कारको बिक्री घट्यो, बीवाईडीको बढ्यो

133
Shares

एजेन्सी । युरोपमा गत जुलाई महिनामा टेस्ला कारको बिक्री घटेको र उसको चिनियाँ प्रतिस्पर्धी बीवाईडीको बिक्री बढेको बिहीवार प्रकाशित तथ्यांकले देखाएको छ ।

युरोपियन अटोमोबाइल म्यानुफ्याक्चर्स एसोसिएसनका अनुसार, जुलाईमा टेस्लाको जम्मा ८ हजार ८ सय ३७ वटा कार बिक्री भएको थियो । अघिल्लो वर्षको यही समयको तुलनामा यो ४० प्रतिशतको कमी हो ।

उता बीवाईडीले चाहिँ जुलाईमा १३ हजार ५ सय ३ वटा कार बेचेको थियो जुन अघिल्लो वर्षको तुलनामा २२५ प्रतिशत बढी हो ।
युरोपमा विद्युतीय गाडीहरूको बिक्री समग्रतामा बढेको भए पनि टेस्लाको बिक्री घटेको छ ।

टेस्ला प्रमुख इलोन मस्कले विवादास्पद बयान दिने गरेको र ट्रम्प प्रशासनसँग उनको सम्बन्धका साथै अन्य कम्पनीसँगको कडा प्रतिस्पर्धाले गर्दा टेस्ला गाडीको बिक्री घटेको हो ।

केही समययता टेस्लाका गाडीहरूले विश्वभरि नै समस्या बेहोरिरहेका छन् । सन् २०२५ को दोस्रो त्रैमासमा टेस्लाको कमाइमा कमी आएको छ । अबको केही समय कम्पनीले समस्या भोग्नुपर्ने भनी मस्कले चेतावनी दिएका छन् ।

टेस्लाले आफ्ना कारहरूमा खासै नयाँपन ल्याउन नसकेकाले पनि आकर्षण घटेको हो । सन् २०२५ को अन्तिम ६ महिनामा सस्तो विद्युतीय गाडीहरू विशाल संख्यामा उत्पादन गर्ने टेस्लाको योजना छ । त्यसले बिक्री बढाउन योगदान गर्ने लगानीकर्ताहरूले आशा गरेका छन् ।

टेस्लाको व्यवस्थापनले यो कार कम्पनी नभएको र यसले कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स तथा स्वायत्ततामा काम गरिरहेको भनी लगानीकर्ताहरूलाई विश्वस्त तुल्याउन खोजेको केप्लर शोभ्य्रु नामक अटोमोबाइल क्षेत्रको अनुसन्धान संस्थाका प्रमुख टमस बेसनले बताए ।

टेस्लाले चिनियाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपरेको छ । चिनियाँहरूले आक्रामक रूपमा नयाँ मोडलका कारहरू ल्याएर युरोपमा पठाएका छन् । बीवाईडीले त्यसको नेतृत्व गरिरहेको छ । उसले युरोपमा विभिन्न स्थानमा सस्तो दरमा कारहरू बिक्रीमा राखेको छ । टेस्लाका कारहरू चाहिँ तुलनात्मक रूपमा महँगा छन् ।

सन् २०२५ को पहिलो ५ महिनामा चिनियाँ कारहरूले कुल बजारको ५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको जेएटीओ डाइनामिक्सले जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।