फेसबुकसहितका सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन सार्वजनिक सूचना, नआए बन्द

161
Shares

काठमाडौं । सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन समय दिन सूचना जारी गरेको छ ।

भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न कडाइ गर्ने निर्णय बुधबार सार्वजनिक भएसँगै बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गरेको हो ।

‘नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले यस सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनिवार्य रूपमा सूचीकरण गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ ।

सूचनाबमोजिम तोकिएको समयसिमाभित्र सूचीकरण नगर्ने वा सूचीकरणको प्रयोजनका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको व्यहोरासमेत सूचनामा जनाइएको छ ।

यस्तो छ सूचना

अदालतको अवहेलनासम्बन्धी मुद्दा ( मुद्दा नं. ०८०-CF-००१२) मा सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासले स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनपूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायमा सूचीकरण गर्न गराउन नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको हुँदा, सो आदेशको पालना स्वरूप नेपाल सरकार (मन्त्रिपरिषद्) ले मिति २०८२/०५/०९ गते गरेको निर्णय देहाय अनुसार सार्वजनिक जानकारी गराइन्छ ।

नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले यस सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनिवार्य रूपमा सूचीकरण गर्नुपर्नेछ । साथै, नेपालभित्र सम्पर्क बिन्दु, आवासिय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्न समेत सरोकारवाला सबैमा सूचित गरिन्छ ।

यस सूचनाबमोजिम तोकिएको समयसिमाभित्र सूचीकरण नगर्ने वा सूचीकरणको प्रयोजनका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको व्यहोरासमेत यसैमार्फत् सार्वजनिक गरिन्छ । यसैगरी, नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफर्मको सूचीकरणका लागि सोही निर्देशिकाको अनुसूची-१ अनुसारको ढाँचा प्रयोग गरी तोकिएका कागजातहरू संलग्नसहित निवेदन दिनुपर्नेछ । साथै, सूचीकरणका लागि इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क बिन्दु, आवासिय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्नुपर्नेछ भन्ने करा समेत यसैमार्फत स्पष्ट पारिन्छ ।