वायुसेवा निगमसँग भएको साढे ७ अर्बको जग्गामध्ये चार ठाउँको भाडामा दिने तयारी

कति छ निगमको देशैभर जग्गा जमिन ?


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको देशैभर रहेको ७ अर्ब ५२ करोड रुपैयाँको जग्गामध्ये चार ठाउँको भाडामा दिने तयारी भएको छ । निगमले विभिन्न ४ ठाउँको जग्गा भाडामा लगाउने भएको छ । निगमले २ वर्षका लागि जग्गा भाडामा लगाउन सार्वजनिक सूचना जारी गरेको छ ।

निगमको नाममा दर्ता श्रेस्ता कायम भएको सुर्खेत, धनगढी, महेन्द्रनगर र विरगञ्जमा रहेको जग्गा २ वर्षको लागि भाडामा दिन सूचना निकालेको छ । निगमले जग्गा भाडामा लिन इच्छुक ब्यक्ति, फर्म वा संघ संस्थाहरुलाई निगमले तोकेको ढाँचामा सिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

यही भदौ २ गते सूचना प्रकाशन गरेर ७ दिनभित्र निगमको केन्द्रीय कार्यालयस्थित नयाँसडकमा एक हजार रुपैंया तिरेर बोलपत्र फारम खरिद गर्न दिने भएको छ । निगमले सूचना प्रकाशन गरेको ८ औँ दिन (१० भदौ मंगलबार)को दिनको १२ बजे भित्र निगमको दर्ता चलानी शाखामा बुझाउने गरी बोलपत्र आह्वान गरेको छ ।

निगमको वेभसाइटबाट बोलपत्र फारम डाउनलोड गरेर तोकेको बैङ्कमा एक हजार जम्मा गरेर सक्कल भौचर सहित हुलाक मार्फत तोकिएको समय र मितिमा प्रस्ताव पेश गर्न सकिने सुविधा पनि निगमले दिएको छ ।

बोलपत्र १० गते दिनको १३ बजे निगमको केन्द्रीय कार्यालमा खोलिने भएको छ । बोलपत्र खरिद गर्ने अन्तिम दिन र खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा उक्त दिनहरु क्रमशः त्यसको भोलिपल्ट कार्यालय खुल्ला रहने दिनलाई मानिने पनि निगमले जानकारी दिएको छ ।

कति छ निगमको देशैभर जग्गाजमिन ?

वायुसेवा निगमसँग २३ ठाउँमा जग्गा र भवन रहेको छ । जसमध्ये बर्दिया निगमको जग्गा छ भनिएको छ । तर उक्त ठाँउको जग्गाको स्वामित्व निगमसँगै छैन् । वर्दियामा जग्गा छ भनिएपनि त्यसको कुनैपनि कागजात नभएको निगमको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

निगमकाे तराई करिब १३ विगाहा र पहाडमा साढे ५४ रोपनी जग्गा जमीन छ । उक्त जमिनमा बनेकाे नयाँसडकमा केन्द्रीय कार्यालयसहितका भवन पनि छन् ।

निगमको नेपालगन्ज (सोनपुर) को जग्गाको कागजातमा दोहोरो स्वामित्व (मोही) रहेको छ। यो बाहेक २१ ठाउँको जग्गा भने निगमकै स्वामित्वमा रहेको र कुनै विवाद नभएको पनि उल्लेख छ ।

निगमसँग भएको जग्गा जमिनमध्ये सबैभन्दा धेरै बाँकेमा छ । बाँकेमा तीन ठाउँमा निगमको नाममा ८ विघाभन्दा बढी जग्गा जमीन छ । बाँकेको मणिकापुरमा ५ विघा, सोनापुरमा तीन विघा र नेपालगन्जमा १० कठ्ठा जमीन छ ।

काठमाडौंको तीन ठाउँमा ४९ रोपनी छ । यसमध्ये निगमको मुख्यालय रहेको कान्तिपथ न्यूरोडमा १४ रोपनी ७ आना, सिनामंगलमा ३४ रोपनी १३ आना र कुलेश्वरमा २७१ वर्गमिटर जमीन छ ।

निगमका विभिन्न ठाउँमा रहेको जग्गा तथा भवनहरुको मूल्य बजारमा उच्च भएकोले त्यसलाई आय आर्जन स्रोतको रुपमा उपयोग गर्नुपर्ने सुझाव दीपेन्द्रबहादर क्षेत्री नेतृत्वको एक अध्ययन समितिले दिएको छ ।

काठमाडौं कान्तिपथस्थित जग्गामा भएको केन्द्रीय कार्यालयलाई काठमाडौं सिनामंगलमा स्थानान्तरण गरी कान्तिपथको जग्गालाई बुट मोडलमा उपयोग गर्ने कार्य योजना लागू हुनसके राम्रो आम्दानी गर्न सक्ने पनि उक्त सुझाव समितिको प्रतिवेदनले औल्याएको छ ।

संचालक समितिको निर्णय बेगर निगमको सिनामंगल काठमाडौंस्थित जग्गाको निःशुल्क प्रयोग गर्न दिइएकोले निगमको आय गुमिरहेको दाबी पनि अध्ययन समितिले गरेको छ ।

वायुसेवा निगमका प्रवक्ता मनोजकुमार साहले भने निगमको सिनामंगलको जग्गा कसैले पनि प्रयोग नगरेको, निःशुल्क खेल मैदान भइरहेको बताए । उनका अनुसार कसैलाई निःशुल्क प्रयोग गर्न दिने निर्णय भएको छैन ।

भाडामा प्रयोग गर्न नसक्दा बाहिरी ब्यक्तिहरु गएर फूटबल खेल्ने गरिएकोल त्यसैलाई निःशुल्क प्रयोग गर्न दिनेर अर्थाइएको हुनसक्ने पनि साहको बुझाइ छ ।

Skip This