
विराटनगर । भारतको वाणिज्य विभागको प्राविधिक टोलीले नेपालबाट प्रशोधित तेल निकासी गर्दै आएका उद्योगमा आकस्मिक निरीक्षण गरेर फर्किएको छ । नेपालबाट भारत निकासी हुने औद्योगिक उत्पादनमध्ये प्रशोधित तेल पहिलो नम्बरमा पर्छ ।
भारतले नेपाली प्लाइउड निकासीमा अवरोध गरिरहेको समयमा भएको यो निरीक्षणले नेपालबाट निकासी हुँदै आएको प्रशोधित तेलमा पनि भारतले अंकुश लगाउने हो कि भन्ने चिन्ताले यहाँका उद्योगीलाई सताएको छ ।
भारतीय प्राविधिक टोलीले रिफाइनरी तेल उद्योगले उत्पादन गर्ने तेलको गुणस्तर, प्रोसेसिङ र भ्यालु एडको निरीक्षण गरेको उद्योग संगठन मोरङका अध्यक्ष तथा बागमती आयल उद्योगका सञ्चालक नन्दकिशोर राठीले क्लिकमान्डुलाई जानकारी दिए । ‘उनले भने, ‘भारतमा नेपाली उत्पादनबारे केही नकारात्मक टिप्पणी गरिएको रहेछ । त्यसैका आधारमा भारतीय प्राविधिकहरू आएर स्थलगत निरीक्षण गरेर शंका निवारण गरेर फर्केका हुन्,’ उनले भने ।
यहाँका उद्योगबाट भारततर्फ निर्यात हुँदै आएको प्रशोधित तेल भारतीय ब्रान्डमै प्याकिङ गरिएको र गुणस्तर न्यून रहेको आशंका भारतीय पक्षलाई रहेको बुझिएको छ ।
सुनसरी–मोरङ कोरिडोरमा सञ्चालित पशुपति खाद्य आयल, क्वालिटी आयल, मारुती र बाबा आयल इन्डस्ट्रिज तथा वीरगञ्जका दुई उद्योगको निरीक्षण गरेर टोली गत बुधवार फर्केको बताइएको छ ।
भारतीय टोली नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत वस्तु उत्पत्तिको प्रमाणपत्र प्रमाणीकरण प्रयोजनका लागि आएको हो ।
यसअघि नेपालबाट भारत निकासी हुने प्लाइउडबारे पनि यस्तै सूचना पाएको भन्दै भारतीय अधिकारीहरूले अनुगमन गरेका थिए । त्यो अनुगमनपछि भारतले नेपालका प्लाइ उद्योगलाई बिआइएस (ब्युरो अफ इन्डियन स्टान्डर्ड) मान्यता लिन अनिवार्य गरेको थियो । नेपालका केही उद्योगले बिआइएस लिएर उत्पादन निकासी गरिरहेका छन् ।
पाँच वर्षअघि नेपालबाट पाम आयल निर्यात बढ्दै जाँदा भारतले नेपालबाट आयात गर्ने भारतीय उद्योगीको लाइसेन्स नै निलम्बन गरेको थियो । जसका कारण करिब डेढ वर्षसम्म पाम आयल निर्यात अवरुद्ध भएको थियो ।
‘भारतमा गलत हल्ला फैलाइएको रहेछ,’ राठीले भने, ‘अनुमति नलिई भारतका उद्योगको ब्रान्डमा तेल प्रशोधन गरेको आशंकामा टोलीले विराटनगरका चार र वीरगञ्जका दुई उद्योगको निरीक्षण गरेको हो ।’
उनका अनुसार ती उद्योगले भारतमा सोयाबिन तथा सनफ्लावर तेल निर्यात गर्दै आएका छन् ।
टोलीले उनीहरूको सर्टिफिकेट अफ ओरिजिन र साफ्टाको मापदण्डअनुसार तेल उत्पादन भए नभएको विषयमा विशेष ध्यान दिएको थियो । यहाँका उद्योगबाट निर्यात भइरहेको तेल भारतमा खपत बढिरहेको बेला उनीहरूले चासो राख्नु सामान्य रहेको राठीको भनाइ छ ।
तर यो राम्रो पक्ष नभएको राठीको भनाइ छ । भारतमा फैलाइएको अनावश्यक हल्लाले नेपालका प्लाइ उद्योगलाई जस्तै तेल उद्योग पनि प्रभावित हुन सक्ने खतरा बढेको उनी बताउँछन् । टोलीले प्रत्येक उद्योगको ल्याब, प्रोसेसिङ र उद्योग परिसरको निरीक्षण गरे पनि नमुना संकलन नगरी फर्किएको थियो ।
भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब ६ अर्ब ७९ करोड १२ लाख ३९ हजार रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ । आव २०८०/८१ मा भने ९० करोड २५ लाख १ हजार रुपैयाँको मात्रै निर्यात भएको थियो ।
यसैगरी आव २०८१/८२ मा १२ अर्ब ३२ करोड ६५ लाख ४४ हजार रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ । अघिल्लो आव २०८०/८१ मा भने १६ करोड ३५ लाख ७५ हजार रुपैयाँको मात्रै निर्यात भएको तथ्याङ्क छ ।
नेपाली प्रशोधित तेलको निर्यात उल्लेख्य बढेसँगै यसबारे भारतमा विभिन्न हल्ला फैलिनुले स्थानीय उद्योगीलाई चिन्ता बढाएको छ । यसअघि पाम आयल निर्यात बढ्दा भारतले भन्सार दर वृद्धि गरेर निकासी प्रभावित पारेको थियो ।
उता निकासी बढ्दै गएको नेपाली प्लाइको निर्यातमा भारतले पुनः अवरोध गर्दै आएको छ । साउनको दोस्रो साता नेपालका केही उद्योगले ‘मेड इन इन्डिया’ लेखेर प्लाइ निर्यात गरेको आशंका गर्दै भारतले नेपाली प्लाइ निकासी प्रभावित पारेको हो ।
भारतको पानीट्यांकी र जोगबनी नाकामा रोकिएका प्लाइ बोकेका आठवटा ट्रकलाई भारतको डाइरेक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डीआरआई) ले बुधवार जफत गरेको थियो । जफत गरिएका ट्रकमा ‘मेड इन इन्डिया’ लेखिएका र बिआइएस नपाएका उद्योगका उत्पादन भेटिएको भारतीय पक्षले दाबी गर्दै आएको छ ।
नेपाली उद्योगीले भने नेपालमा प्लाइ उद्योगको उत्पादन र निकासी बढेपछि भारतमा गलत हल्ला फैलाइएको बताउँदै आएका छन् । यस्तै अफवाह अहिले तेल उद्योगबारे पनि फैलाइएको हुन सक्ने अड्कल यहाँका उद्योगीको छ ।
नेपालबाट आव २०८१/८२ मा ३० उद्योगले ७ अर्ब १० करोड रुपैयाँको प्लाइ निर्यात गरेका थिए । गत जेठदेखि भारतले बिआइएस अनिवार्य गरेपछि अहिले ८ वटा उद्योगको उत्पादन निर्यात हुँदै आएकोमा पछिल्लो समय काँकडभिट्टा र जोगबनी नाकाबाट यसको निकासी प्रभावित भएको छ ।







प्रतिक्रिया