
काठमाडौं । देशभर ९४ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ । कृषि मन्त्रालयका अनुसार अनुसार भदौ १ गतेसम्म देशभर ९४ प्रतिशतका दरले १२ लाख ९५ हजार ८८७ हेक्टरमा धान रोपाइ सम्पन्न भएको हो ।
यो वर्ष सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाइ भएको छ । सुदूरपश्चिममा ९९.७२ प्रतिशत धान रोपाइ भएको छ । सुदूरपश्चिम सँगै कर्णाली प्रदेशमा पनि ९९.३४ प्रतिशत रोपाइ सम्पन्न भएको छ । कर्णालीमा ९९.३४ प्रतिशतले ४० हजार ७७० हेक्टरमा रोपाइ सकिएको हो ।
मन्त्रालयका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा भने क्रमशः ९७.२७ प्रतिशतका दरले १ लाख १२ हजार हेक्टर, ९८.०७ प्रतिशतका दरले २ लाख ९७ हजार हेक्टर र ९४.८३ प्रतिशतका दरले ८९ हजार ३११ हेक्टरमा रोपाइ सम्पन्न भएको छ ।
सबैभन्दा कम धान रोपाइ भने अन्नको भण्डार मानिने मधेश प्रदेशमा भएको छ । उक्त प्रदेशमा ८६.३५ प्रतिशत मात्र धान रोपाइ सम्पन्न भएको छ । पर्याप्त मात्रामा पानी नपर्दा मधेशमा असार अन्त्यसम्म ब्याड समेत राखिएको थिएन । त्यसयता भने केहि मात्रमा अकासे पानि परेका कारण हालसम्म ८६.३५ प्रतिशतका दरले ३ लाख १९ हजार हेक्टरमा धान रोपाइ भएको मन्त्रालयले जनाएको छ ।
यस्तै कोशी प्रदेशमा पनि आकासे पानीको अभावले रोपाइ ढिलो भएको थियो । हालसम्म कोशी प्रदेशमा ९४.४२ प्रतिशतका दरले २ लाख ६० हजार हेक्टरमा रोपाइ भएको छ ।
कोशी प्रदेशमा आइतबार पनि पानी परेकाले रोपाइको विरण परिवर्तन हुन सक्ने मन्त्रालय अन्तर्गतको कृषि भागले जनाएको छ।
बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको भने यो अन्तिम विवरण रहेको छ ।







प्रतिक्रिया